आँखाका प्रश्नहरू

आँखाका प्रश्नहरू

उनीहरुको एउटा सानो घर थियो
घरभरि रहर थियो
मनभरि शहर पनि थियो
अलिक दु:ख थियो, सुख पनि थियो
कामचलाउ जिन्दगी थियो
जिन्दगीभन्दा आस्था ठूलो थियो
त्यही प्रहार भयो ।
क्षत-विक्षत मन लिएर
देश हराएर
उनीहरु शरणार्थी भए
स्वाभिमान बचाएर उनीहरु
जिजीविषा हेर्दैरहे
भेटिन्छ कि भनेर देश खोज्दैरहे ।
झापाको शरणार्थी क्याम्पमाथि आकाश छ
आकाशमाथि आकाश छ
आकाश अनन्त छ
शरणार्थीहरु अनन्तमा हेरिरहेछन्
भेटिन्छ कि देश भनेर रोइरहेछन्
तर देश अझै टाढा हुँदैछ
देशको स्मृति गाढा हुदैछ ।
सानो घर
घरभरि रहर
मनभरि शहर
अलिकति दु:ख,अलिकति सुख
सङ्‍ग्लो आस्था
स्वाभिमान पुज्ने एकमुठी माटो
शरणार्थी क्याम्पका आँखाहरु, मनहरु
अभिलाषाहरु
फगत यति खोजिरहेछन्
तर देश अहिले त परदेश पनि हुन् सकेको छैन
आएको बाटो हराएको छ
क्याम्पभित्र
बोली फुटेका नानीहरु देश सोद्धैछन्
बाटो खोज्दैछन्
माटो बुझ्दैछन्
तर देश छेक्नेहरु
बाटो रोक्नेहरु
नानीहरुका आँखाका प्रश्नहरु मेट्‍न सक्छन् ?

२०५३।१२।०९