माननीय ! तपाईले कुर्सी देख्नुहुनेछ
माननीय ! तपाईले कुर्सी देख्नुहुनेछ
एउटा मिस्त्रीले अलिकति सीप लगायो
उसले अलिकति पसीना बगायो
वनमुद्दाको दसी भएर फर्केका
केही लकडीका टुक्राहरु उभ्यायो
यस्तै-यस्तै गरेर
माननीय: एउटा मिस्त्रीले तपाई बसेको कुर्सी बनायो ।
आँखा खोलेर तपाईं देख्न सक्नुहुन्न
हेर्न सक्नुहुन्न
आँखा चिम्लेर तपाई सम्झनै सक्नुहुन्न
तपाईका हात विश्वासघाती भएका छन् !
तपाई केही पनि छाम्न सक्नुहुन्न
कठै ! माननीय ! तपाइँ अब केही पनि गर्न सक्नुहुन्न ।
कुर्सीबाट तपाई चिप्लनुहुन्छ कि ?
कृपया अलिक बलियो गरेर बस्नुहोस् !
समय थोरै छ
कति भयो त्यो सम्झनुहोस् !
कति चाहिन्छ त्यो सम्झनुहोस् !
तुरुन्तै अठोट गनर्ुहोस्
कुर्सी हो- त्यो हिँड्न पनि सक्छ
यसको विश्वास हुँदैन माननीय !
तपाईसँग यो भिड्न पनि सक्छ ।
माननीय तपाई
जहाँ बस्नुभएको छ- त्यो कुर्सी हो !
मिस्त्रीको सीप, पसीना र वनमुद्दाको दसी
त्यसको कथा पनि यति हो
तपाई आँखा देख्न सक्नुहुन्न
हेर्न सक्नुहुन्न
आँखा चिम्लेर तपाई संझनै सक्नुहुन्न
एउटा भीड- जो तपाईलाई भेट्न आउँछ
समय मिलेछ भने- कुनै दिन, कुनै छिन
त्यो हूलसँग तपाईको काम परेछ भने
भीडसँग कुरा गर्न तपाईलाई मन लागेछ भने
हूलसँगै भन्न तपार्इंलाई खाँचो परेछ भने
भीडलाई/हूललाई भेट्न आउनेलाई
तपाई बसेको कुर्सी वरिपरि राख्नुहोस्
उनीहरुका चम्किला-चम्किला
तर बाटुला आँखामा
तपाई आफू बसेको कुर्सीको छाँया देख्नुहुनेछ
मिस्त्रीको पसीना देख्नुहुनेछ
भीडका बाटुला-बाटुला आँखामा
कुर्सीको छाँयामा
कुर्सीभित्र शहीदहरुको रगत देख्नुहुनेछ
साँच्चै मान्छेको आँखामा
माननीय ! तपाईले आफ्नो कुर्सी देख्नुहुनेछ !
(यथार्थ कुरा पाक्षिक वर्ष-१, अंक-३, २०५२ फागुन-५,मा प्रकाशित)