मृत्युले मलाई होचो बनायो
मृत्युले मलाई होचो बनायो
आज , म निकै होचो भएको छु
आफ्नै मन र मस्तिषक अपाहिज पाएको छु
सर्वत्र घात खपेको छु
एउटा मित्रसँगै मैले
जून पनि हराएको छु, त्यस्को प्रकाश पनि हराएको छु ।
बल्नै नसकेको बत्ती ढल्यो भने
अँध्यारोमा मान्छेको मन छुँदैन
फुल्दै नफुलेको फूलसँग
मान्छेको मोह नै हुँदैन
ऊ त अँध्यारोमा बलेको बत्ती थियो
निभ्यो, सबैको मन अँध्यारो भयो
ऊ देशको , जनताको मान्छे थियो
त्योभन्दा ठूलो ऊ इमान्दार थियो
होनहार थियो ।
कति निर्मम र कठोर हुँदोरहेछ मृत्यु
नौनी र हिउँ जस्तै
नरम र स्निग्ध मेरो मित्रलाई टपक्क टिपेर लग्यो
पत्याउनै गाहारो हुने
मेरो मित्रलाई टिपेर मृत्युले मलाई होचो बनायो
मेरो मन डामेर क्षत-विक्षत बनायो ।
(धनपति उपाध्यायको मृत्युको खबर सुनेर )
२०५३ साल ज्येष्ठ