सांसदहरु त्यहाँ बसेका छन्
सांसदहरु त्यहाँ बसेका छन्
कोही औंलाले अनुहार छोप्न लागेका छन्
कोही ठूलो प्रश्नको जवाफका लागि अन्तै औंलो देखाउँदैछन्
कहिले तनाव हुन्छ/ चर्को विवाद हुन्छ
ठट्टा र हाँसो पनि भरमार चल्छ
तर, त्यस घरको दलिनभरि सुविधा फलेको छ
यो त झा“गिएर त्यहाँ लटरम्म भएको छ
मुलूक उज्यालो पार्न दिउँसै त्यहाँ बत्ती बलेको छ
त्यो मेरो देशको संसद् हो
सांसदहरु त्यहाँ पसेका छन्
सांसदहरु त्यहाँ बसेका छन् ।
अहिले देशले त्यता हेरेको छ
आँखाभरि शंका भरेको छ
भोक पनि फक्रेको छ
लाज त आफैं लजाएको छ
संसद्भरि- सांसदको सुविधा सजाएको छ
त्यो मेरो देशको संसद् हो
ढोकाबाहिरै ईमान लजाएको छ
सुन्दैछु कसैले त त्याग र बलिदान पनि भँजाएको छ ।
उनको अनुहारमा आफ्नो प्रतिविम्व हेर्ने मान्छेहरु
उनको व्यवहारमा आफ्नो सोच खोज्ने मान्छेहरु
कोही दाङबाट उत्साहित भएका थिए
कोही ताप्लेजुङबाट शिर उचाल्न लालायित थिए
ठेलावाला कान्छो पनि बिर्तामोडमा पसीना काढेर जुलूसमा उफ्रेको थियो
धने रिक्सावालाले जनकपुरमा सित्तैं रिक्सा कुदाएको थियो ।
विजय-उत्सवमा
यी सबै माननीय भएका थिए
यी आफैं सांसद बनेका थिए
गाँस काटेर पोष्टर छापेका थिए
घाँस काटेर वत्ती बालेका थिए
त्यस दिन सबैले
ठूला-ठूला आशा भरेको आँखा चम्काएका थिए
गदगद भएका मनहरु- छल्काएका थिए ।
त्यो त विजय-जुलूसको कुरा हो
विजयको कुरा हो
सधैं विजय-जुलूस हुँदैन
सधैं कोही विजयी पनि हुँदैन
विजय त आएको थियो
नारामा गयो/उफ्राइमा गयो
विजय त जित्नेहरुका जोशमा गयो !
विजय, अव त इतिहासमा गयो ।
यस्तै धनेहरुको जोश टेकेर
कान्छाहरुको उत्साहको भर्याङ चढेर
निक्कै फस्र्याइलो अनुहार पारेर
त्याग, बलिदान र इमान्दारी मुल्तवी राखेर
गोलो-गोलो, बाटुलो, सुन्दर अनुहार भएका
क्षेत्रभरिकै होनहार काजीहरु
मुलूकभरि यस्तरी नै चुनिएर
उनीहरु सांसद बने
अहिले संसद्मा पसेका छन्
सांसदहरु त्यहाँ बसेका छन् ।
देश भोकाएको छ- अनिकाल व्याप्त छ ।
ईमान लोलाएको छ, आफैं अभिशप्त छ ।
अभावले किचेका झन् धेरै छन्
रोग छ शोक छ
यसमै मल र जल पर्याप्त छ
अन्धकार छ आतंक छ
भ्रष्टाचार झाँगिएको छ
मेरो देशमा संसद् छ-त्यो शान्त छ
सांसदहरु त्यहाँ पसेका छन्
सांसदहरु त्यहाँ पसेका छन् ।
०५३/श्रावण