यात्रा

भालेको डाक सँगै 
हामी उठ्यौ 
शायद भालेले बासेर
हामीलाई उठायो 
कचेरा पुछ्यौ
र मुख धोयौ
हेराहेरमै मतो मिलेर 
हामी हिँड्यौ
यसरी हाम्रो यात्रा शुरु भयो ।

यात्रा भनेको 
सुगम पनि 
र दुर्गम पनि 
यात्रा भनेको 
कोही अगाडी 
कोही पछाडी 
यात्रामा
 कोही अभ्यस्त 
कोही परास्त 
सक्ने र जान्नेहरू 
अगाडी नै हुन्छन्
र गन्तव्यमा सहजै पुग्छन् ।
यात्रा भन्दैमा 
कहाँ सबै गन्तव्यमा पुग्छन् र ?
यसरी नै 
हाम्रो यात्रा शुरु भएको थियो 
यसरी नै हाम्रो यात्रा चल्दै रहयो
 यस्तै भयो ।

एक दिन 
उनी आएछन् 
धाप मारे, र मलाइ सोधे —
“तिमी थाक्यौ”
“के गर्दै छौं”
मैले भने 
“तपाइले पटक — पटक टेक्नु पर्ने 
मेरो काँधमा —
तेल लाएर माड्दै छु 
थाकेको छैन 
तपाइका पाइतालामा बिझाउँछ की ? — भनेर 
मेरो काँध नरम बनाउदैछु”
—उनी मुसुक्क हाँसे
र ढुक्क हुँदै गए 
उनी यात्रामा लागी रहे ।

समय बित्दै गयो 
फेरि आएछन् उनी एक दिन 
यस पल्ट—
उनले केही सोधेनन्
धाप मारेनन्
मलाइ हेरे
काँध सुमसुम्याए
उनका पाइताला तिर हेरे
अलिक ढुक्क भए जस्तै देखिए
हतार गरेर गए ।
अहिले मलाइ लागेको छ
र मलाइ विश्वास छ
उनी फेरि आउने छन् 
त्यस दिन 
मलाइ चितामा भेटेर 
मेरो काँध हेर्नेछन् 
र उनको पाइताला हेर्नेछन् 
र त्यस क्षण
उनको पाइतालाको 
उनलाई 
साह्रै माया लाग्नेछ 
आफ्नै पाइताला उनलाई 
टुहुरो जस्तै लाग्ने छ 
र उनी शोक मग्न हुनेछन् । 

२०६९ वैशाख ।

● यात्रा

म टक्क उभिएको छु । मान्छेहरू भन्छन् – “उभिनु नै पनि ठूलो कुरा हो ।” मान्छेहरू नै भन्छन् – ”उभिनु नै त केही होइन ।” मलाइ लाग्छ, दुवैका कुरा हुन् पनि, हैनन् पनि । जे होस्, म उभिएर हेर्दै छु । म वरपरका कुरा हेर्दै छु । नजिकका कुरा पनि हेर्दै छु । अतीतका कुरा सम्झदैछु । भविष्यका कुरा अनुमान गर्दै छु । म उभिएको छु ।धेरैलाई भद्दा लाग्न सक्छ । टक्क उभिएको दृश्य मन नपर्न सक्छ । अरूको दृश्य हेरेर आनन्द लीनलाई यो दृश्य सकस लाग्न सक्छ । मलाइ उभिन मन परेको छ । म उभिएको छु । रमाइलै पनि छ । म उभिन पाएको छु । म उभिन सकेको छु । संसारमा मान्छेलाई आफू राम्रो लाग्छ । आफ्नै कर्म राम्रो लाग्छ । सत्कर्म त राम्रो लाग्ने नै भयो । मान्छेलाई आफ्नो कुकर्म पनि राम्रै लाग्छ । अनि त संसारमा कुकर्म पनि फस्टाएको छ त !त्यसो त उभिने मात्रै कार्यसँग म पनि सन्तुष्ट छैन । उभिए पछिको कार्य हिँड्नू हो । दौडनु हो । दौडनु र हिँड्नु अगाडीको कार्य उभिनु भएर नै उभिनू को महत्व रहेको होला । तर म हिँड्न सकेको छैन । दौडन सकेको छैन । दौडन, हिँड्न रहर नै नभएको त कहाँ हो र ॽ तर दौडने र हिडने कृयाले पुर्याउने स्थानको अनिश्चयले उभिन उचित लागेको छ । हिँडिरहेका र दौडिई रहेका लाइ मेरो कृया दिगमिग लाग्दो हो । मलाइ भने यसैमा आनन्द छ ।रहर त सबैको हुन्छ । रहर टिप्न टाकुरामा पुग्नु पर्छ । हिड्नै पर्छ । दौडनै पर्छ । अरनीमात्र टाकुरामा पुग्न सकिन्छ । टाकुरो झन् पहेली युक्त हुन्छ । टाकुरामा पुगेपछि फेदीमा खस्न पनि सकिन्छ । जसलाई फेदीसँग डर छ उनले टाकुरा सम्म नदौडे हुन्छ । नहिडे हुन्छ । अनि सधैँ दौडन रहर गर्नेहरु एक दिन टाकुरामा पुग्दा हुन् । त्यहाँ पनि उनलाई दौडन रहर लाग्दो हो । टाकुराबाट ती कता दौडदा हुन् ॽ मेरा मनभरि कौतूहल जागेको छ ।हिँड्नु यात्रा हो । यात्रा रमाइलो हुन्छ । यात्राले नयाँ अनुभव र अनुभूति दिन्छ । त्यसैले त यात्रा रोचक हुन्छ । दृश्यमा रोचक, भोग्नमा रोचक, खानपान लगायत हरेक क्षेत्रमा रोचक हुन्छ । मानिसहरू त्यो रोचकतामा रङ्ग पनि लाउँछन् । रङ्ग भरिएको रोचकता झनै उत्साहको हुन्छ । अनि त मान्छेहरू कलाकार बन्छन् । कूची लिएर चित्र सजाउँछन् । आफूलाई भन्दा चित्रलाई माया गर्छन् । सिर्जनशीलहरुको चरित्र र प्रवृत्ति नै यस्तै हुन्छ र नै सिर्जना मौलाउँछ । सर्जकहरू सिर्जनासँग कुरा गर्छन् । उन लाइ लाग्छ, उनले सिर्जनाको कुरा बुझ्छन् । सिर्जनाले उनको कुरा बुझ्छ । वास्तवमा बुझाबुझ नै त कुरा हो । यसरी सर्जक र सिर्जनाका बीचमा माया र प्रेम मौलाएको हुन्छ ।यात्रा रमाइलो यसै छँदैछ । यात्रामा दृश्यहरू प्राकृतिक पनि र कृत्रिम पनि हुन्छन् । प्राकृतिक सबल र सजीव हुन्छन् नै । कृत्रिम भने हेर्न र देख्न सक्नु पर्छ । दुवै रमाइला हुन्छन् । दुवैको आ – आफ्नै पन र प्रकृति हुन्छ । दुवैले आफ्नै प्रकारको आकर्षण र स्वाद सिर्जना गरेका हुन्छन् । यात्राका अनगिन्ती स्वाद, सन्तुष्टि र आनन्द नभए किन यात्रा गरिन्थ्यो ॽ किन मानिसहरू घुमी रहन्थे ॽ यस युगमा यात्रा सहज बन्दै गएको छ र यात्रा जीवनको अभिन्न अङ्ग बनेको छ । विश्वको कुनै पनि कुना अब मानिसलाई नयाँ र पहुँच बाहिरको रहेन । अनि त यात्रा सहज र जीवनको अभिन्न अङ्ग बन्यो ।प्रश्न त टक्क अडिएर गर्ने यात्राको पनि हो । त्यो पनि एक प्रकारको रमाइलो हुन्छ । अझ त्यहाँ श्वैर कल्पनाको प्रयोगले यस्तो यात्रालाई हराभरा बनाउन सकिन्छ । अनुभव र अनुभूति जुटाउन सके यस्तो यात्रा अझै रोमाञ्चक बन्छ । यस्तो यात्रामा राहदानी र प्रबेशाज्ञाको ‌औपचारिकता जरुरी पर्दैन । कुनै प्रकारको बन्धन रहँदैन र त यस्तो यात्रा औधी रमाइलो बन्छ ।यस्तो यात्रामा बन्द महलको भित्रि भाग हेर्न सकिन्छ । मान्छेका कर्म हेर्न सकिन्छ । सत्कर्म, दुष्कर्म सबै हेर्न सकिन्छ । रहरलाग्दा र घिन लाग्दा कर्महरू हेर्न र बुझ्न सकिन्छ । मान्छेको मन हेर्न , रहर हेर्न सकिन्छ । एउटै मान्छेलाई अनेक कोणबाट गन्न सकिन्छ । मान्छेलाई क्लिष्ट र शिष्ट पनि बनाउन सकिन्छ । मान्छेलाई सरल र जटिल जताबाट नाप्न सकिन्छ । त्यसैले यस्ता यात्रा अनुभूत गर्न सके रमाइला हुन्छन् तर फगत अनुभूत गर्न सकिन्छ । अनुभव गर्न भने सकिँदैन ।त्यसो त यात्राका अनेक उदेश्य हुन्छन् । दिशा र गन्तव्य अनेक हुन्छन् । आफ्नो उदेश्य र गन्तव्यका आधारमा प्राप्तिले सन्तुष्टि निर्धारण गर्दछ । सन्तुष्टि पनि भोग र अनुभूतिमा भर पर्दछ । त्यसैले यात्रा जसरी पनि हुन्छ र सन्तुष्टि जसरी पनि प्राप्त हुन्छ , फगत उपभोगको तरिकामा मात्र भर पर्दछ ।मैले हेरेको छु । दौडनेहरु हेरेको छु । दौडी रहेका पनि हेरेको छु । टाकुरामा चढेका हेरेको छु । टाकुराबाट खसेका पनि देखेको छु । नोक्सानको जोखिम छलेको टक्क उभिनु लाइ मैले ठीक पाएको छु । हो म टक्क उभिएको छु । हेर्दै छु ।यात्रामा मैले घोडाहरूको दौड हेरेको छु । धूलो उडेको देखेको छु । टापको टक – टक आवाज सुनेको छु । धूलो ब्यहोर्न अभ्यस्त भएको छु । टापलाई त संगीत नै ठानि दिएको छु । हो, घोडाहरू दौडिई रहेछन् । म हेर्दैछु । टापहरू बजिई रहेछन् म सुन्दै छु । यात्रामा घोडाहरू बग्रेल्ती देख्दा टापहरूको संगीत बेजोडको सुनिदो रहेछ । म हेर्दै छु र सुन्दै छु । यो यात्रा हो । म टक्क उभिएको छु ।