मेरो सहर
आँखामा, मुहारमा
बेफुर्सद र व्यस्तता टाँगेर हिँडेका
हार्दिकता समवेदना निर्यात गरिसकेका
सिर्जनात्मक सोच र चिन्तनबाट टाढा
कसैले किन्न खोज्यो भने –
आफैँ अगाडि बिक्री भैसकेको पनि हेक्का नराख्ने अनि,
बिहानै, मध्याह्नमा र अपराह्नमा
पटक – पटक आफैँले आफ्नो व्यापार थापिरहने
घर – घरै, द्वार –द्वारै
बेइमानीको खेती हुर्काइरहने
यस्ता मान्छे भएको ठाउँ कसले जान्दैन र ?
एक थरी बिहानै आउँछन्
र साँझ परेपछि जान्छन्
एक थरी साँझ परेपछि आउँछन्
र बिहानै जान्छन्
अर्का थरी बेला –कुबेला – आउँछन् जान्छन्
यसरी मान्छेहरू – यहाँ आउँछन् / यसरी यहाँबाट मान्छेहरू जान्छन्
यसलाई न माया दिन्छन् / न आफ्नो ठान्छन्
मान्छेहरू –यसलाई
केवल भोग गर्छन् / उपयोग गर्छन्
र संभोग गर्छन्
एउटाको घर पारि छ
त्यहाँ अझै उसको वारि छ
यता टेकेको
यो माटो देखेको – भर्खरै हो त के भो ?
ऊ यतैको नागरिक छ
चुनावमा जागरूक छ ।
अर्कालाई – माझी त भन्नु हुँदैन
तर, खोला र पानी खुप फाप्छ
माछा मार्दा, बाछा पनि पर्छन् उसका जालमा
भन्दैछ – ” जे पनि आउँदो रहेछ छालमा ”
हो – उसको त
खप्परभरि हुने गरी छप्परबाट पनि खसेको छ
एउटै काण्डमा ठूलो बम्पर परेको छ
ऊ यति चाँडै – मेरो सहरको होनाहार भएको छ ।
जमिनदारहरू पनि सुकुम्वासी भएका छन् यहाँ
सुकुम्वासीहरू करोडपति छन्
नाम भन्न असजिलो लाग्ने बाबुको घर
सार्वजनिक पैनीमाथि परेको
सम्मानित माउको थर
दुई अर्थमा परेको
सस्तो हिन्दी सिनेमाजस्तो साँच्चै भएको छ
जसले जति पकाए पनि
मेरो सहर काँचै रहेको छ ।