यो झापा हो
यो झापा हो हजुर !
यसलाई झलक्क हेर्दा जस्तो देख्नुहुन्छ
यसको परिचय नै त्यति हो
तर यसको इतिहास भने अलिक भिन्न छ
त्यसै भएर त हजुर !
भद्रपुर र शनिश्चरेको मन आज सारै खिन्न छ ।
हजुर !
शनिश्चरेमा हप्तामा ३ दिन हाट लाग्थ्यो
सुर्ती र पटुवाको गाँठको चाङ लाग्थ्यो
ख्याल रमाइलो हुन्थ्यो र !
शनिश्चरेमा धान नाचेको रमिता हेर्न
लुगा मात्रै कहाँ हो र हजुर !
पहाडका मान्छे त साँच्चै शनिश्चरे आउँथे,
मुख पनि फेर्न
र जिलेबी किनेर खुपुखुपु खान्थे ।
शनिश्चरेमा होटेलहरूको भीडभाड थियो
पारस टाकिजमा सधैँ हाउस फुल
बडेमाका ट्वाँ गर्ने मिलहरू हेरेर
पहिलोपल्ट आउनेहरू आफै ट्वाँ पर्थे
पहाडमा पुगेर उनका गफ सुनेपछि –
अल्लारेहरू भागेर पनि झर्थे
त्यस वेला शनिश्चरेमा के थिएन र ?
कलेज थियो हजुर !
अदालत थियो
साहित्य र संस्कृतिको केन्द्र थियो
तराई र पहाडको सङ्गम मात्रै हैन
शनिश्चरे त झापाको राजधानीजस्तो पो थियो त !
घैलाडुब्बामा कुन्नि ! कहिले घैलाहरू डुबाएको थियो
त्यो त थाहा छैन हजुर !
यसलाई नयाँ हाट भन्थे मान्छेहरू !
वर्षामा त विरिङजस्तै पारेर पानीले डुबाउँथ्यो
हिउँदमा धानले घैलाडुब्बै डुबाउँथ्यो
धान बोकेका गाडाका ताँतीले छक्क पार्थ्यो
र कति धान फल्दै रहेछ त्यतातिर ? – भन्दै
जिभ्रो निकाल्थे – गारामनी, चन्द्रगढी र भद्रपुरकाहरू ।
आकर्षक थिए सम्पनी गाडाहरू
झलक्क हेर्दा कुनै गतिलै कम्पनीका जस्ता लाग्थे
रमाइलो थियो घैलाडुब्बा–
गोकुल जोशी बाटो खन्थे, कविता लेख्थे
देवीप्रसाद – स्कूलका स्कूल जस्ता थिए
गंगाप्रसाद, मदन र हरिध्वजहरू
हंसनारायण र मन्त्रीहरूलाई झकझक्याउँथे
दाताराम, कामेश्वरहरू पनि घैलाडुव्बा गोड्थे
कहाँ यति चाँडै बूढो होला जस्तो थियो र घैलाडुव्बा ?
अलिकपछि त रामनाथ , खड्ग ओली र
लव ओलीहरू पनि देखिन्थे
निःशुल्क हाइ स्कूल चलेको भनेर मुलुकभरिका
मान्छे कुरा गर्थे धैलाडुव्बाको ।
गौरादह, गौरीगञ्ज र दमकसँग
अहिलेजस्तो चमक नै थिएन
माईपश्चिम झापा भए पनि
उसको हिमखिम र प्रीती उतै थियो
चन्द्रगढीभन्दा विराटनगर धरान पो सरेक थियो
जिल्लाको हेलाँ क्षेत्र भन्ने फरेप थियो ।
सन्तवीर, नारायण ढकाल र धनबहादुरहरू
दमकका निर्माता हौं भन्थे
नरबहादुर र रेवन्तबहादुरहरू बहादुरै लाग्थे
बिचरा कृष्णबहादुर भट्टीमा पनि किताब पढ्थे
लेख्थे पनि र थन्क्याउथे
भद्रपुरतिर आउँदा नयाँ किताब किनेर मदाडी लैजान्थे
‘काजी साहेब’ रमाइलै थिए ।
भर्खर– भर्खर स्कूलको ब्याड राखिँदैथ्यो
धान साह्रै फल्थ्यो
तैपनि अनिकाल लागि रहन्थ्यो
अहिलेको राजमार्गका ठाउँमा त,
आटब्बेको जङ्गल थियो
कतिपल्ट त बाघले दनक दिन्थ्यो
अभाव थियो, शिक्षा र चेतना थिएन
तैपनि रामरउस र रमाइलो
कता – कताबाट छिरेर आउँथ्यो
त्यस बखतमा माईपश्चिम
कौमार्य भङ्ग नभएकी युवती नै थियो ।
आकर्षित थियो ।
हजुर ! मान्छे त झापामा पहिलेदेखि नै थिए
सिर्जनाको धागो कात्नेहरू थिए
समाज निर्माणको बाटो समात्नेहरू थिए
शासकहरू, शासितहरू – सबै थिए
क्रान्ति गर्नेहरू थिए / क्रान्ति दबाउनेहरू थिए
भैरवप्रसाद – धर्मप्रसाद जस्ता प्रसादै प्रसाद थिए
महानन्द / श्यामकृष्ण र वसन्तहरू पनि थिए
केटो थियो / युवक थियो
बूढा, बूढा पनि उनीसँगै हिँड्थे
कम्युनिस्टहरूको जन्मभूमिजस्तै थियो
खमारमै पनि भिड्थे
त्यसो त छुट्टै शासन थियो
छुट्टै सरकार थियो
गभर्नर, प्रहरी, अदालत आफ्नै थियो
आइ जी, न्यायाधीश र मन्त्रीहरू थिए
नरेन्द्रनाथ त अझै छन्
के – के भयो अहिले पनि भन्दैछन् !
महानन्दहरू / खालिङहरू / गङ्गाधरहरू
जाँगरै– जाँगरका घर थिए
खोतल्दै जाँदा अहिले पनि भेटिन्छ हजुर
खोतल्ने ?
झापा अनौठो र आफ्नै प्रकारको थियो
हो, झापाले धेरैलाई धेरै दियो
झापामा के भएन र ?
भद्रपुरको त के कुरा गर्नू हजुर !
मेचीको राजधानी मात्र हैन
क्रान्तिको सञ्चालन केन्द्र नै थियो
ठूला – वडाहरू भद्रपुरमै बस्थे
सिलिगुडी / विराटनगर / काठमाडौं जता पनि
भद्रपुरबाटै जानुपर्थ्यो –
गलगलियाबाट रेल चढेर ।
वर्षामा नाउ चल्थ्यो मेचीमा
हिउँदमा पानी हराँउथ्यो
चामल त यतिबिघ्न जान्थ्यो – भारततिर
नेपालभरिको धान चामल यतै आउँछ ?
– भनेर गलगलियामा मान्छे सोध्दथे ।
धूलो र हिलोले छोपिए पनि
गाडै – गाडाको जुलुसले
भद्रपुर रन्केको थियो / दन्केको थियो
त्यति बेला के थिएन र ?
भद्रपुरसँग
सहरभरि अग्ला – अग्ला चिम्नी भएका
मिलहरू थिए
ट्वाँ गरेर बिहान – बेलुकै कराउँथे
मुलुकभरिका साहित्यकार आउथे
गोष्ठी गर्थे
भद्रपुर घुमेर मक्ख पर्थे
हिउँद लाग्न पाउँदैनथ्यो
पहाडतिरका यतै झर्थे
गङगाधर, लोकराज , रामेश्वरहरू
बत्ती बाल्दै हुन्थे
मोरास, चूडामणि, हृषीकेशहरू तेल थप्थे ।
तुल्सीराम कुँवरहरू पनि उपन्यास
लेख्न झापा आउँथे
द्रोणाचार्यहरू, वासुदेवहरू “पञ्चामृत” बनाउँथे
सरस्वती, कुमारीहरू बन्द झापाको
खापा खोल्थे
चिन्नै पर्दैनथ्यो
कति आत्मीय थिए मान्छेहरू !
जो पनि जोसँग बोल्थे
भद्रपुर – रमाइलो थियो ।
अहिले त
दाँत फुक्लिएकी
चाउरी परेकी
अनुहार बिग्रिएकी
आइमाईजस्तै भएकी छे – भद्रपुर
कसैले पत्याउँदैन
अधिराज्यको नगरपालिकामा यहाँ सस्तो जमिन छ
घडेरी सस्तो छ
हजार बेहुली एकैचोटि अन्भाएको घर भएको छ –भद्रपुर
कति उजाड र उराठ छ !
तर पहिले –
साँच्चैकी कुमारी थिई – भद्रपुर
कति राम्री बान्की परेकी
हेरिरहूँजस्ती
मायालाग्दी
वैस छचल्केकी
तर भद्रपुरको यस्तो दिन धेरै रहेन
जब यहाँ मेची पुल भएन
बिचरी भद्रपुरसँग केही रहेन
कोही रहेन
दिन बितेपछि भद्रपुरमा केही भएन ।
झापामा मान्छेहरू आए
लेकबाट आए
बेसीबाट आए
कोसीबाट आए
रोसीबाट आए
झापामा मान्छे, अनेकतिरबाट आए
जो आए
धेरैले –झापा खाए
धेरै रमाए
उनै जमे, जमाए
धेरै आउनेले आफ्नो भविष्य बनाए
धेरैले झापाको माटोमा उभिएर –
आफ्नो भाग्य कन्याए
झापामा आफूलाई बनाए ।
मान्छे धेरै भएपछि
औलो पनि अल्पमतमा पर्दै गयो
हार्दै गयो
हरायो
अनि त मान्छे
छाती फुकाएर झापा आउन थाले
बस्न थाले
पहिलाकालाई सेप पार्न थाले
पुरानाहरू मुर्झाउँदै गए
नयाँहरू फक्रिँदै गए
कालु, चालु, पुवालुहरू
रित्तिदैं गए
बहादुर, नाथ, प्रसाद र कुमारहरू
चुलिँदै गए
झापाले आफूलाई फेर्न थाल्यो
फेर्दै गयो – फेर्दै गयो
अनि त झापा, यस्तो भयो ।
हजुर !
झापामा धेरै कथा छोपिएका छन्
प्रसाद, नाथहरू नउधिन्नू–भन्छन्
उधिन्यो भने – आँखा राता पार्छन्
हैन भन्छन्
केही छैनन् भन्छन्
केही हैन भन्छन्
यो कथाजस्तो मात्रै हो
कथा हैन भन्छन्
उनै अड्डा हुन्छन्, अदालत हुन्छन्
प्रशासन हुन्छन्, शासन हुन्छन्
सुनौं-सुनौ लाग्ने भाषण हुन्छन्
कासन हुन्छन्
अनि कसरी उधिन्नू ? – झापाको कथा
कसरी कहनू ? – निर्वासितहरूको व्यथा ?
तैपनि छोपिएको मात्रै हो
छ
उधिन्न सक्यो भने भेटिन्छ
नछोपिएको भए पो भेटिँदैनथ्यो !
पक्कै छोपिएको छ
त्यसैले भेटिन्छ
हिजोका मान्छेका
कथा भेटिन्छ
व्यथा भेटिन्छ
खोतल्यो भने
हिजोको झापा भेटिन्छ
हो, झापा पस्ने खापा भेटिन्छ ।
हजुर ! झापा अलिक विचित्रको छ
यहाँ भूगोल छ
इतिहास छ
भूगोल छोपिएको छ
थिचिएको छ
सिमाना छ, भारतसँग जोडिएको छ
भारत बढ्दै जान्छ
झापा खुम्चँदै जान्छ
महेशपुर, मेची, बाहुनडाँगी, काकरभिट्टा
रातभरि यता भए पनि बिहानै उता परिसक्छ
जङ्गे पिलर साँचो बोल्दा बोल्दै थाक्छ
सिमाना अतिक्रमणले झापाका मान्छेको मन पाक्छ
यहाँका मान्छेले बुझ्न सकेको छैन
किन झापाको माटो बेला – कुबेला भारततिर पर्छ ?
इतिहास त्यस्तै छ हजुर !
लेखिएकै छैन
वरू मेटिँदै छ
अहिले त
विश्वनाथ धिमिरे नचिन्ने क्राङ्ग्रेसी वग्रेल्ती छन् झापामा
सी के प्रसाई पहिल्यै बिर्सिएका हुन्
उनले बनाएका काङ्ग्रेसले नै
उनको काङ्ग्रेस टक्टक्याएका हुन्
नव काङ्ग्रेसले उनको
बाली पनि आली पनि पड्काएका हुन्
मदन खपाङ्गी चिन्दैनन्
वलबहादुर र पुहाँतु राजवंशी जान्दैनन्- कामरेडहरू
अहिलेका कम्युनिस्टहरू झापामा अलमल्ल पर्छन्
पुण्य शर्माहरू हराइ रहेछन्
अहिलेका कामरेडहरूले त
त्यो पनि सूचना हराएका छन्
आश्चर्य छ, झापामा
किन कामरेडहरूले यस्तो मन पराएका छन् ?
कामरेडहरू, इतिहास मेट्दै छन् मेटिरहेका छन् ।
थाहा छैन,
औलो त कसले भगायो झापामा ?
तर
अदिवासी पनि औलोपछि लागेर भागे
उनीहरू मुर्झाउँदै गए, हराउँदै गए
पछि आएकाहरू चम्किदै गए
बम्किदै गए
उनीहरू झापाका बाली थिए
अहिले बिउ सिलाखोज्नु पर्छ
अरूहरू – पहिला बिउ थिए
अहिले बाली नै बाली लटरम्म देख्नुपर्छ
यस्तै हो झापा
जो आए – जेसुकै पाए
पापा पाए
चाचा पाए
वरदान पाए
मान पाए
सम्मान पाए
हो
आउनेले नै झापा खाए !
सुन्नुहुन्छ ? एकपल्ट
एकाबिहानै सदरमुकामबाट
हाकिम र उनका मद्दतीहरू
दसैं खर्च खोज्न हिँडेछन्
देउनियाँको घारीमा पसेर बसेछन्
डुकीको दही र चिउरा तोडेछन्
र अन्तिम गाँसमा
दुइटा कौडा मिसाएछन्
र जेमदग्नि भएर मुचुल्का उठाएछन्
पुर्जी पनि ठिक्क पारे
देउनियाँलाई अझै छक्क पारे
दलाली चल्दै गयो
हाकिम झन् बल्दै गयो
देउनियाँ गल्दै गयो
दिउँसै रात भयो
उत्पात भयो
अन्तमा त्यस बर्ष उनको
दसैं मात्रै आएन, एकैचोटि
तिहार आयो
झापामै विहार आयो
माघे सङ्क्रान्ती, चैते दसैं पनि आयो
राम्रो हावा, पानी, मल र बिउ मिलेजस्तै भएर
उनको दसैं
त्यसवर्ष छताछुल्ल फल्यो
उनको बत्ती झलमलाएर बल्यो
त्यस वर्ष – यसरी
उनको दसैं खर्च फल्यो ।
त्यस्तै छ, अर्को कथा
सुन्नुहुन्छ ?
अलिक ठूलै देउनियाँलाई
पचास रुपैयाँ लुटेको भनेर
अदालतमा मुद्दा परेछ
देउनियाँ छक्क परे
तैपनि प्रतिउत्तर गरे
लुटेको देख्ने साक्षी बने
कारिन्दा पनि गए र भने
‘देउनियाँ ! पचास हजार जरिवाना हुने भो’ !
देउनियाँले जिब्रो लामो पारे
र गुहार मागे
जरिवाना माफ गर्न भने
कारिन्दाले भने –
जरिवाना त माफ हुन्छ, त्यति नै नजराना भए !
र त्यो लिएर कारिन्दा गए
अनि अर्को दिन
वादीले तारेख छोडेको
ढिसमिस फैसला भएको
नेपाली कागजको दुई पेज फैसला
करिन्दाले दिए,
देउनियाँले लिए
देउनियाँ, करिन्दा र बादी पनि
तिनै जना मख्ख परे
अझ देउनियाँ त
अड्डामा पनि आफ्नो हात पुगेको सम्झेर
ढुक्क, निदाए – त्यस रात ।
अनि एक दिन –
एकजना अर्द्ध बाजेले
साँझ–साँझ परेको बेलामा
देउनियाँलाई – उनकै घरछेउ
बाँसघारीनजिक बोलाएर –
अँध्यारो मुख पारेर
अनुहार सप्पै खुम्च्याएर
दिक्क मान्दै
साउती स्वरमा
खुसुक्क भने –
देउनियाँ ! खबर राम्रो छैन
अड्डाबाट फर्केपछि
कसै गरेर चैन भएन
एउटा डाका मुद्दा लागेछ
दुस्मनले गर्नु गरेछ !
देउनियाँको सातो हरायो !
उनको रक्त सञ्चार झन्डै बन्द भयो
अन्धकारमा पनि, आँधी पनि, व्याधि पनि
वज्र पनि – एकैचोटि
देउनियाँमा खनियो !
देउनियाँ बोल्न सकेनन्
सोच्न सकेनन्
देउनियाँ ढुङ्गो भए
उनको धरती भासियो !
आकाश खस्यो !
खुइय… गरे देउनियाँले र भने –
‘कस्तो राहु, मेरो टाउकोमा बस्यो ?’
अर्द्ध बाजेले सान्त्वना दिँदै भने –
‘म पनि छु
मलाई पनि त्यस्तै भएको छ
परेपछि नभोगी हुँदैन
जुक्तिले काम लिनुपर्छ
आज धर गएर सुत्नू
बिहान सबेरै, बाटो लाग्नुपर्छ
यता त बस्नै भएन
दुस्मनले पक्राउँछन्
पारि गएर केही दिन बसौं
र उतै मतो गरौं !’
भोलिपल्ट बिहानै –
भाले बास्नेबित्तिकै
एउटा पोको बोकेको देउनियाँलाई
पछि लाएर अर्द्ध बाजेले गाउँ छाडे
सिमाना नाघे,
गलगलियामा बसेर रेल पर्खे
सम्झाए बाजेले- ‘छोरालाई पर्छ त्यस्तो
हरेस खानुहुँदैन !
कसैलाई यो कुरा कहनै हुँदैन
मनमै राखौं !
गोप्य रूपमा सबै काम गरौं !’
वरा ! देउनियाँ
‘हुन्छ’ – भन्न मात्र सक्थे
त्यसै गरे
बिचराले रूनसम्म पनि पाएनन् ।
नक्सलबाडीमा एउटा सानो भाडामा लिएको कोठा
एउटा स्टोभ, अलिकति दाल, चामल, तेल नुन, चिनी
बाजेले देउनियाँलाई जोडिदिए
एउटा झल्ला र तन्ना ओछ्याएर
त्यही दिन काट्तै गर्न भनेर -बाजे बिदा भए
हप्ता – दश दिनमा आउँदै – जाँदै गरे
यसरी नै दिन बित्दै गए
देउनियाँले बाजेलाई गतिलै अवतार ठाने
र एक दिन भने
सधै यसरी भएन बाजे !
एउटा लिखत पनि बनाउनुपर्योत
हिसाब पनि गर्नुपर्योय
अलिक भुईं बेचेर
तपाईको ऋण तिर्छु – दशा लागेर यस्तो भयो !
तपाई नभैदिएको भए त
म बितिसक्थें
बाजेले भने
चिन्ता नगर्नू
खर्च अझै धेरे लाग्छ
म जुटाइदिन्छु
हिसाब पनि राखी दिन्छु
यहाँF पनि खर्च दिन्छु
यसरी देउनियाँको बसोबास नक्सलबाडीमा हुँदै गयो
बाजेले देउनियाँको स्याहार गर्दै गए
उता संम्झनाको लागि भनेर लेखिएको लेखोटमा
बाजेले लेखत पासमा नालेस गरे
देउनियाँको बाह| बिघा जमिन बाजेका नाममा सर्यो
अनि एक दिन बाजेले देउनियाँलाई नक्सलबाडीमा भेटे
महाभारत युद्ध जितिएको बताए
खर्च धेरै लागे पनि डाका मुद्दाको मिसिल सबै कागजात सहित
खोलामा बगाएको बताए
देउनियालाई नक्सलबाडीबाट गरामनीमा भित्र्याए
जमिन गए पनि पूर्ववत् भएकोमा ,देउनिया पनि रमाए
खुलेर बाजेको गुणगान गाए !
देउनियाँलाई के थाहा ?
न डाका मुद्दा थियो, न मिसिल थियो ,
न कुनै कागज खोलामा बग्यो !
उदार भए बाजे र अलिकति त्यही जमिन
देउनियाँलाई मोहीमा दिए
आजकाल पो फेरि देउनियाका छोराको बाजेसँग
त्यही जमिनका बारेमा मोही मुद्दा चल्दैछ
तैपनि अझै बाजेको बत्ती बल्दै
यस्ता बत्ती बाल्ने बाजे कति हो कति छन ?
झापामा –
खापाबाट हेर्दा झापामा यस्ता बाजे धेरै भेटिन्छन् ।
झापामा देउनियाँ र बाजेका अनेक रूप देखिन्छन् ।
झापामा एउटा कारागार छ
त्यसमा गतिलै पर्खालको बार छ,
त्यसभित्र अनेक कारोबार छ
एक दिन
कारागारको ढोका खुल्यो
छानिएका पाँच जना थुनिएकाहरू निकालिए
रसियन जिपमा राखेर हिँडाए
शनिश्चरे हुँदै इलाम लागेको जिप
सुखानीबाट फर्कियो
थुनिएकाहरू लास बनेका थिए
उनका शरीरभरि बन्दुकको गोलीका चोटहरू थिए
ती वीरहरूको रगतले सुखानी रातै भयो !
झापा रातै भयो !
नेपाल रातै भयो !
ती वीरहरूको सहादातले इतिहास तातो भयो
अनि त स्वाभिमान र स्वाधीनता हिमालजस्तै अग्लो भयो
दुस्मनहरू माटोमा मिले
शहीदहरू जनताको शिरको ताज बने
ती वीर पुरुषहरू
रामनाथ, नेत्र, विरेन, कृष्ण र नारायण त थिए ।
झापा किन रातो देखिन्छ ? – थाहा छ हजुर ?
झापामा रातो रङ लगाएको छ
मेटिँदैन
वरू, अझै चम्कन्छ
पहिला त अलि-अलि रङ छर्केको थियो
पछि त रङ पुरा दर्केको थियो
हुलका हुल कुची बोकेर रङ पोत्नेहरू दल्दै रहे
गल्नेहरू जाँदै गए
नयाँ जोसहरू आउँदै गए
एकपल्ट रङ दल्न को आएन र ?
रामवावुदेखि – वसन्तकुमारसम्म
गणेशवहादुरदेखि – सीतारामसम्म
राधाकृष्णदेखि – राधाकृष्णसम्म
थुप्रैले तालिम पाए
अहिले त अरू – अरू घर पनि चलाएका छन्
पुहातु, मदन खपाङ्गी, बलबहादुर, केर्कुहरूले
द्रोणाचार्यसँग थुप्रै – थुप्रै कुचीकारहरूले
झापा सजाएका छन्
इतिहास फलाएका छन्
अझै पनि छन्- गोपालकृष्ण, टीकाप्रसाद र भ्रमणसिंहहरू
अझै पनि छन्- सी.पी., के.पी. र नन्दकुमारहरू
केश पकाएका छन्
कहिले-कहिले त- मन पनि बहकाएका छन्
तपाईको कौतुहल अझै मेटिएन ?
प्रश्न छ– यतिविघ्न किन रातो छ त?
रातो भएको छ
अनि रातो छ
रगत पोखिएको छ
रगत पोखेर झापा सिंगार्नेहरूको जुलुस छ
अनि झापा रातो छ
रामनाथ, नेत्र, विरेन, कृष्ण र नारायणहरूले
झापा रङ्गाएर मुलुक हल्लाए
राम प्रधान, चन्द्ग डाँगीहरू
अमर, छविल र खोकाहरू
पछिल्लोपल्टका
डि.कौडिन्य, छवि र शङ्करहरू- उनका अरू साथीहरू
चतुरमान, मिश्री धिमाल र सुरेशहरू
घना र सम्झनाहरू
यी सबैको रगत पोखिएको छ झापामा
अनि झापा रातो छ !
राम थापा र लक्ष्मी पाण्डेहरू भनिरहेछन्
झापा अझै तातो छ !
सुरज विश्वास र राजन गिरीहरू भनिरहेछन् –
झापा रातो छ, झन् राम्रो छ !
झापासँग एउटा सुन्दर सपना छ
एउटा पोको छ
त्यहाँ- शुभ्र, शान्त, समृद्ध, स्निग्ध र समता मूलक नेपालको
तस्विर छ
त्यसैले हजुर ! झापा रातो छ !
यससँग मुलुक सजाउने सुन्दर सपना छ !