समय
१.
समयका बारेमा
अहिले एउटा प्रश्न उठेको छ
समयलाई पहिचान गर्न कठिन महसुस भएको छ
मैले सम्झन त सकेको छैन
मैले बाँचेको युग कस्तो हो ?
बर्बर हो कि सभ्य हो ?
युग आदिम हो कि, आधुनिक हो ?
यो प्रश्न गर्न, मलाइ रहर लागेको छ
प्रश्न जिम्मेवारहरुसँग छ
प्रश्न अगुवाहरुलाई छ
न्यायमूर्तिहरुसँग छ
संसारभरिका शासकहरूसँग छ
प्रश्न समय आफैसँग पनि छ
आफ्नै अपराधलाई सेतोले छोप्ने शासकहरूसँग छ
युग आदिम हो कि आधुनिक ?
समय बर्बर हो कि ? सहज ?
जान्ने, जोसुकैसँग यो प्रश्न छ।
२
बर्बरलाई सहज बताउने
आदिमलाई आधुनिक बताउने
विवेकलाई कैद गरेर
शक्तिलाई छाडा छोड्ने
त्यस्तैको स्तुति गरेर
सभ्यता भाँड्ने
आवरणभित्रका खुनी र बलात्कारीको पूजा गर्ने
वर्तमानले पाएको जिम्मा यस्तै हो ?
वर्तमान भनेको कठपुतलीको मन भएको समय हो ?
कि चेतना घोडा बनेर सवारी चलाउनुपर्ने समय हो ?
भन – जसले भने पनि हुन्छ
तर – पत्याउने गरी भन
यो कस्तो समय हो ?
जान्दछौ भने – तिमी यसको जवाफ भन ।
३
मैले हत्यारा र बलात्कारका अपराधी देखेको छु
भेटेको छु, उनको बयान सुनेको छु
मलाई बिचरा लाग्ने गरी –
मेरो सहानुभूति उनले तानेका छन्
हो, जस्तै लाग्ने गरी उनले ढाँटेका छन्
उनका खुनै – खुनका हातहरू देखाएका छन्
र कति सफा छन् ? भनेका छन्
तिम्रा हातमा रगत छ
– भन्न वकिल पनि हच्किएका छन्
थाहा छ, समयलाई मुठीमा कैद गर्न रहर गर्नेहरु
नदी त हिमालतिर बगेको छ –भन्न लगाउनेहरु
ती हत्यारा, बलात्कारीभन्दा कुशल छन्
सिप र साधनले
अस्त्र, शस्त्र र वस्त्रले पनि सुसज्जित छन्
थाहा छ –
डरले पनि भरले पनि र रहरले पनि
हो भन्नेहरुको जुलुस हुन्छ
तर जुलुसमै भएकाहरुको पनि त मन छ भने
कठपुतलीकै भए पनि
मनको कुनै कुनामा छुन्छ
सबै मेटियोस् – मरोस् !
तर सत्य त कसरी मेटिन्छ ? र मर्छ ?
४
बर्बरताले आजित भएपछि
मनहरूले प्रश्न उठाएका छन्
मनहरू, डामिएका छन्
घाइते छन् मनहरू
क्षत – विक्षत भएका छन्
रक्ताम्य भएका छन् –
तिमी, जो समय प्रदूषणको कारण छौं
र तिमी, जो समय प्रदूषकहरुको साथमा छौं
मान्छेहरूलाई – ढाँट्न सक्छौ
आँखालाई ढाँट्न सक्दैनौ
समय सधैँ आफ्नै हुन्छ कि ?–भन्ने भ्रममा परेर
आफैलाई ढाँटेका छौं
ढल्दै गरेको टाकुरामा पुगेका छौं
टाकुरो ढलिसकेपछि – तिमी कहाँ हुन्छौ ?
भन्न सक्छौ ?
सक्छौ भने – भन त
तिमी बर्बर हौ कि ? समय ?