झापाको माटो फेरिएको छ

झापाको माटो फेरिएको छ


कसैकी आस्था हो
कसैकी बहिनी हो
मैले पनि उनलाई
कहिले बाटामा, कहिले माटामा
निकैपल्ट देखेको थिएँ
नियालेर हेरेको थिएँ
चिटिक्क परेकी कति राम्री ! बान्की परेकी
चम्किला आँखा भएकी
राम्रा-राम्रा मुन्द्रा र माखा लाएकी
हेरीरहूँ जस्ती
मनभरि सजाएर राखौं जस्ती
म पनि उसका सामु झुकेको थिएँ
उनलाई देखेपछि अलिक फुकेको थिएँ
हो त ऊ,आस्था थिई/बहिनी थिई
आस्था र बहिनीभन्दा पनि धेरै थिई
उनकी आस्था,उनकी वहिनी ऊ मेरी पनि आफन्त थिई ।
हो-अचेल जमाना फेरिएको छ
हुरी पनि चलिरहेको छ
जीउ र बीउ त बलिरहेछ
ईमान गलिरहेछ-लिलाम गर्दा पनि कसैले सकार्दैन
बहिनी त भड्‍किएकी जस्ती छ
डा“डामा लडखडाउँदै छ
कसले जीउ जोगाउँछ ? कसले बीउ जोगाउँछ ?
आस्था र बहिनीका अनुहारभरि
अन्यौल पोतिएको छ
न माखा छन् न मुन्द्रा छन्
गति-न-मतिकी भइछ
शीतबिन्दु र नारायणलाई कति थाहा छ कुन्नि ?
उनकी आस्था र बहिनीलाई
कुरूप बनाएर म्युजियममा राख्न
घरभित्र आफन्तहरु साउती गर्दैछन्
कुटिल योजनाले दिमाग भर्दैछन् ।
पाटे बाघको घेरामा परेकी आस्थालाई उम्काउन
चन्डालहरुको चङ्‍गुलबाट बहिनीलाई छुटाउन
चिन्तित कविहरु
झापाको माटोको कुरा गर्दैछन्
रुकुम र रोल्पाको बाटोको कुरा गर्दैछन्
देवकोटा, बान्तवा र रमतेलको नासो खोज्दैछन्
तर
माघमा बाघ त्यति सजिलै मर्छ भन्ने मलाई त लाग्दैन
तपाईहरुले भन्नुभयो नि,
घाम त बादलले छेलेको हैन
महल र अटालिकाहरुले छेलेको छ
उनी दुश्मनको धुरीतिर फर्केपछि
हाम्रो त नियतिमा नै धराप खेलेको छ
संभावनाहरुलाई आफ्नैले पर-पर ठेलेको छ ।
कविजी,
रुकुम र रोल्पाको वाटो त मैले सुनेको मात्र हो
देखेको छैन
देवकोटा,बान्तवा र रम्तेलको नासोको
लिखत नै देखेको छैन
सुन्दैछु
रुकुम र रोल्पामा बाटो मेटिंदैछ रे !
बान्तवाहरुको नासो मेटतै गरेको
भेटिंदैछ रे !
माघमा झापाको माटो त लानुहुन्छ
तर कौतुहल जागेको छ झापामा
झापाबाट कुन माटो लानुहुन्छ ?
रुकुम र रोल्पामा कुन बाटो जानुहुन्छ ?
एकपल्ट
झापाका माटामा बल थियो
त्याग र बलिदानको मल थियो
नेत्र र रामनाथहरुको पाइताला थियो
तेसैमा धेरैलाई भर थियो
रहर थियो
पसीना र रगत माटामा मुछेको थियो
बीउ बन्यो
मुलूकभरि छरियो
महेशपुर पनि तातो थियो
सुस्ता जस्तै रातो थियो
त्यहाँ टेकेर मान्छे सगरमाथा बने
तर कति निषठूर रहेछन् !
उनैले अहिले विदेश भने
तर हो,
सुखानी आस्थाको बीउ बन्यो
महेशपुर बहिनीको जीउ बन्यो
पक्कै यही संझेर कविले झापाको माटो खोज्यो ।
तर कविजी,
अचेल झापा सेलाएको छ
सुखानी टोलाएको छ
झापाका मान्छेको मन फाटेको छ
आफ्नैले आफ्नैलाई ढाँटेको छ
झापाको माटो त अचेल कविजी ,
धमिराहरुले बिगारेको छ
घात, अन्तर्घात र प्रतिघातहरुले सिंगारेको छ ।
बाघको खोरबाट आस्थालाई छुटाउन
कमिलाहरुलाई एकजुट बनाउन
बेईमानहरुलाई ईमानको गोटी खुवाउन
आउँदो माघमा झापाको माटो
कुन्नि कति काम लाग्छ ?
कविजी,
अचेल जमाना बदलिएको छ
हुरी चलेको छ
झापाको माटो फेरिएको छ !

(यो कविता २०५४ को मंसिरको साप्ताहिक ‘बुधवार’मा छापिएको छ र यस्तै विषयको शितविन्दु र नारायण पौडेलको कविता पढे पछि लेखेको हो ।)