दुर्गति छेक्न सक्तैनन्
दुर्गति छेक्न सक्तैनन्
आलु रोप्ने कान्लो
डण्डीबियो खेल्ने चौर
गुराँस र चाँप फुल्ने पाखो
लेक र ब्याँसी गर्ने बाटो
फफराउँदो बास्ना आउने माटो
सबै मेरो मन हो, मुटु हो
कालापानी र पशुपतिनगर मेरो मषतिषक हो ।
मेरो मस्तिषक चिमोटेर छिमेकीले आगो बाल्दैछ
ईमान निचोरेर ऊ आफैलाई ढाल्दैछ
हामी त
थाप्लामा ईमान बोकेर आफ्नै बाटोमा हिंडदैछौं
नालापानी र खलङ्गा छरेर माटो गोड्दैछौं
हामी ढले पनि माटो छाड्दैनौं
हाम्रो मन र मुटु
पराईको अधीन पार्दैनौ
हामी आगोसँग खेल्छौ
तर हाम्रो चौर हामी छाड्दैनौ ।
चिटिक्क परेको हाम्रो सानो घर
घरभरिको रहर
अलिक ठूलो घर भएको छिमेकी
बेईमान, सैतान
उसका मस्तिषकभरिको लोभ
मनभरिको लालच,कपट
हो ठूलो घर भएको मेरो छिमेकी यस्तै-यस्तै छ
मेरो छिमेकीको मस्तिषक कुरूप-कुरूप छ ।
कहिले सुस्तामा पसेर
नाङ्गो नाच नाचेको छ
कहिले महेशपुरमा बसेर
समझदारीका मुना भाँचेको छ
मानेभज्यांङ र पशुपतिनगर
अझै क्षत-विक्षत भएको छ
कालापानीको वक्षमा असह्य पीडा भएको छ
हो, हाम्रो छिमेकी
साँच्चै नमूना बनेको छ
भद्रपुर र कांकरभिट्टामा ऊ नाङ्गै हिंडेको छ ।
घरभित्रै जन्मेका
केही भेदियाहरु पनि हुर्केका छन्
छिमेकी मालिक पाएर
उनीहरु फुर्केका छन्
थाहा छैन उनलाई
हामीले माटोको दाना गनेका छौं
इतिहासका पाना गनेका छौ
स-साना नानीलाई पनि
उनको बेइमानी भनेका छौं
देशद्रोही र मिचाहाहरु
राम्रो सपना देख्न सक्तैनन्
सत्य कुरा लेख्न सक्तैनन्,भन्न सक्तैनन्
उनले त आफनै भविष्यको दुर्गति छेक्न सक्तैनन् ।