पहिचान विर्सनेहरु
पहिचान विर्सनेहरु
१. मेरो देशका थुप्रै मान्छेहरू
कुर्नेस भएर/ हातमा माला बोकेर
परदेशलाई स्वागत गर्न उभिएका छन्
उनका आँखामा, मनमा र मस्तिषकमा
परदेशहरू रोपिएका छन् / धोकाहरु हुर्किएका छन्
कुन्नि उनलाई – आजकल कस्तो लाग्छ ? थाहा छैन
मलाई त
ती मेरा देशका मान्छे हुन् भन्दा ग्लानी हुन्छ ।
ती मेरा देशका मान्छे भएकामा मलाई दु:ख लाग्छ, लाज लाग्छ ।
२. परदेश मेरो देश हुन् सक्तैन
मेरो देश परदेश हुन् सक्तैन
आँखाभरी, मुटुभरी र मस्तिषकभरी
जे भरिएको छ- त्यो पोखिन सक्तैन
मेरो देशसँग- परदेश जोखिन सक्तैन
धोकाको खेती गर्नेहरु गरुन्
हाम्रो त
मुटुभित्र, छातिभित्र र मस्तिषकभित्र
यस्तै-यस्तै प्रदेश, प्रदेशको स्वदेश छ
परदेश त मेरो देशका सक्कली मान्छेहरूको
मनभन्दा पर छ, मेरो प्यारो वनभन्दा पर छ ।
३. विर्सनेहरूले विर्सेका छन्
इतिहास विर्सेका छन्/ भूगोल विर्सेका छन्
अमरसिंह, बलभद्र र भक्ति थापा विर्सेका छन्
जङ्गवहादुरसँगै नयाँ राज्य विर्सेका छन्
उनका लागि यस्तो हिसाब पनि व्यर्थै हो
उनले त आफ्नो स्वभिमान विर्सेका छन्
हो, उनले आफ्नो पहिचान विर्सेका छन् ।
४. खेती त त्यस्तो गरेको थिएन
तर याममा
हामीसँग घाउहरू फलेका छन्
झलमल हुने गरी बत्ती पो बल्नु पर्थ्यो
तर हामीसँग त
पीडाका ज्वालाहरु बलेका छन्
घाम नझुल्कदै
मेचीको माटो चिथोरिएको छ
दिउँसै महाकालीको पानी धमिल्लिएर
देश विथोलिएको छ
टिंकर र कालापानीमा उभिएर
हरेक दिन घामले साँझ परेको ऐलान गर्नुपर्ने
तर टिंकर र कालापानी
धोका र बेइमानीमा डुबेको छ
अझ- मेरो माटो, मेरो हावा, मेरो पानी
खोस्न मन गर्ने परदेशीलाई
माला लगाउन- मेरै घरका मान्छेहरू
कुर्नेस भएका छन्
यसरी म त
मन भरी डाहदिने घाउहरू बोकेर पाकेको छु
आफ्नै पहिचान विर्सनेहरूलाई
मैले त परदेशकै खातामा राखेको छु ।