मन र मस्तिष्कमा नअटाएर आस्था
उसले दुवै मुठीमा कैद गरेर हिँडेको थियो
समाज बदल्न‚ मुलुक बदल्न
र निर्धाहरूलाई उठाउन
उ जुरमुराएको थियो ।
उस्लाइ सुन्नेहरू
आगो जस्तै रातो र तातो भएका थिए
उत्साहको सिडि चढ्दै थिए
उस्लाइ बुझ्दैथिए
शाशकहरूले खप्न सकेनन्
उसलाई थुने र थुनि रहे
सहकर्मीहरूको हत्या गरे ।
कहाँ थुनिन्छ र ? बिचार र आस्था
मारेर कहाँ मर्छ र विचार ?
विचार‚
आगो बनेर फैलिई रहयो
बाढी बनेर बगी रह्यो ।
एक दिन उ जेलबाट छुटेर आयो
हात्तिघिस्सामा झोक्राएर बस्यो
उस्लाइ नक्सलवादीको प्रतीक ठानेर मान्छेले हेरी रहे ।
एक दिन डढेलो जस्तै भएर एउटा समाचार आयो –
“उसले आत्महत्या गर्यो घरको दलिनमा झुण्डिएर”
आश्चर्य मान्दै सबैले भने –
“ओ कामरेड कानू !
तिमी त जगत पो बदल्न हिँडेका थियौ
किन आफ्नै जीवन मृत्युमा बदल्यौ ?”
मानिसहरूले आश्चर्य माने र निराश बने
कानूको आत्म दाहले नक्सलवाद अलिक मुर्झायो
अब इस्पात फगत नाम र अतीतमा रहयो ।
नक्सल पथका नेपाली संस्करणहरू पनि जिल्ल परे
मोहनचन्द्र‚ राधाकृष्ण र सि पि हरू त किनारामै थिए
बरु डिगेन राजवंशीले बल्खुमा झुन्डिएर
कानूको आत्म दाह अनुसरण गरे
तर कसैले डिगेनको आत्म दाहबारे सोधेनन्
कसैले केही भनेनन्
कोही रोएनन् पनि ।
त्यसो त‚ नेपाली कानूहरूले
पहिल्यै आत्म दाह गरे
कसैले थाहा सम्म पाएनन्
आत्म दाह भूमिगत थियो
आत्म दाह छलाङ्ग मार्ने कदम थियो
आत्म दाहमा उनको चरम सन्तुष्टि थियो ।
आत्म दाह पछि उनीहरू प्रेत बनेछन्
प्रेतहरू इतिहास च्यापेर
वर्तमानमा गर्व गरी रहेछन्
कठै ! उनले पटक्कै बुझेनन्
आत्म दाह त घटना हो
युग हैन ।
२०७९ वैशाख १८