साँच्चै बिसे नगर्ची बौलाएछ !

 

बिसे नगर्ची बौलाएछ !
एउटा कविले देखेछ
र राम्रो कविता लेखेछ
अढाइसय वर्षपछि पनि बौलाएछ !
पहिला–ओइलाएछ
अनि बिसे नगर्ची बौलाएछ !
धन्य ! बिसे मरेनछ– मात्र बौलाएछ
मर्नुभन्दा बौलाउनु राम्रो
अनि त बिसे फगत बौलाएछ
धन्य ! बिसे मात्र बौलाएछ
बिसे मरेनछ ।

बिसेकी स्वास्नी मारिदिएछन्
बिसेकी छोरीको बलात्कार गरेछन्
घर जलाइदिएछन्
बिसेकै पनि त हात – खुट्टा भाँचिदिएछन्
कठोर स्मृति बिसेलाई साँचिदिएछन्
सकेनछ बिसेले सम्झन/बुझ्न/मन थमाउन
अनि त बिसे बौलाएछ !
मालिक म बौलाएँ ।– भनेर कराएछ !
कविले सुनेछ
अनि, बिसे राम्रो कविता भएछ
तर, बिसे साँच्चै बौलाएछ !
बिसे को हो?
बिसे के गर्दथ्यो?
मान्छेहरु बौलाउँछन्
कति ओइलाउँछन्, कति लोलाउँछन्
त्यस्तै एउटा थपियो होला !
बिसे बौलायो त के भयो?
–यस्ता प्रश्न पनि छन्
बिसेको बौलट्ठीमा रङ्ग भर्दै छन्
तर, बिसे बौलायो !
ऊ आफैले भन्यो– हजुर म बौलाएँ ।

गोरखाको बिसे
झापामा स्वास्नी पाल्दै थियो
दार्चुलामा झुप्रो ध्वाँउदै थियो
कहिले दाङमा– कहिले ताप्लेजुङमा
छोरीलाई जनवनमा पठाउँथ्यो
बिसे धनकुटाका ब्याँसी र रोल्पाका लेकमा थियो
बिसे तराई, पहाड र हिमाली भेकमा थियो
जुनसुकै छेकमा बिसे टुँडिखेलको छेउमा थियो
आफन्त र परिचितहरुको भेउमा थियो
भोकै पेट पनि अलिकति हाँसो सिउरेर
बिसे हिँड्दै थियो
माया लाग्दै भए पनि बिसे सारसँउदो थियो
सकेन, बिसेले स्वास्नी मारेको घटनालाई थाम्न
अलिकति बरु आफै खुस्कियो
छोरीको बलात्कार भएपछि झन् भक्कानियो
घर पनि जलाइदिएपछि बिसेले नबौलाई धरै पाएन
बिसेको केही रहेन, बिसेको कोही रहेन
अनि त बिसे बौलायो !
हो ! बिसे नगर्ची बौलायो ।

बिसे बौलाउन त बौलायो
बिसेले डढेलो सल्कायो
बिसे जहाँ पनि पुगेको छ
गाउँमा, घर–घरमा बिसे बौलाएको छ
बजारमा, कोठा–कोठामा बिसे बौलाएको छ
तराईमा, पहाडमा सर्बत्र बिसे बौलाएको छ
मुलुकभरि बिसे नगर्ची बौलाएको छ
अनि त कविहरुका कवितामा पनि बिसे बौलाएको छ
अरुहरुका मस्तिष्कमा पनि बिसे बौलाएको छ
बिसे त सर्वत्र भएर बौलाएको छ
बहिरा हजुरहरूले
अझै सुन्ने गरी भन्नुपर्छ कि कविज्यू !
बिसे नगर्ची विक्षिप्त भएर बौलाएको छ,
साँच्चै बिसे नगर्ची बौलाएको छ।

(श्रवण मुकारुङको १९ असार २०६२ मा नेपालमा छापिएको बिसे नगर्चीको बयान नामक कविता पढेपछि)

विषय-सूची