त्यो बालक कहिले जन्मन्छ ?
म चौध वर्षको थिएँ । मेरो किशोर मस्तिष्कमा त्यस बेला पढेको ‘बादशाहको नयाँ लुगाले निकै छोएको थियो । फुर्सतको बेलामा म त्यो पाठ दोहोर्याउँथे । जति पढे पनि त्यो पाठ मलाई पुरानु लाग्दैनथ्यो । मैले त्यो पाठ निकै पढें।
आजकाल त्यो पाठ पढ्न मन लाग्दैन । रहर पनि छैन। रहर नभए पनि वर्तमानमा मेरो विवशता छ । म बादशाहहरूका नयाँ लुगा हेरी रहेछु । बादशाहहरू नयाँ लुगाहरू देखाउन छाड्दैनन् । म र म जस्ता बबुराहरु बाध्य छौं – बादशाहहरूका नयाँ लुगा हेर्नुपर्छ । हेर्नुको विकल्प आँखा चिम्लनु हो । धेरै बेर आँखा चिम्लेर बस्न सकस पर्छ । यसरी बादशाहहरूका नयाँ लुगा हेर्नु मेरो बाध्यता छ ।
आजकाल राजनीतिमा बामे सर्ने मान्छे आफूलाई बादशाह ठान्छन्। आफै मान्छन् । म र म जस्ताहरू निरीह बनेर उनलाई बादशाह मान्छौ । कुर्नेस गर्छौ । यति हुँदा पनि उनका नयाँ लुगा हेर्न नपरे सन्तोष हुन्थ्यो, तर उपाय छैन ।
मैले पढेको पाठमा त एकपटक एउटा बादशाहले नयाँ लुगा लाएका थिए । बादशाह एउटै थिए । अरू ठग थिए । बादशाहका पुजारी थिए । भाइ थिए । भारदार थिए । दर्शक धेरै थिए । एउटा बालक पनि थियो । उसले बादशाहलाई नाङ्गो पारिदियो ।
यस मुलुकमा त आजकाल धेरै बादशाह भएका छन् । नयाँ लुगा लगाइरहेछन् । नयाँ लुगा लगाउन होडबाजी चलिरहेछ । बादशाहलाई ठेगान लगाउने कुनै बालक जन्मेको छैन । त्यसैले म र म जस्ता अभ्यस्त भएका छौं नाङ्गा बादशाहहरू हेर्न ।
नाङ्गा बादशाहहरू जत्रतत्र छन् । मुलुकभरि भरिएका छन् । टेकुमा छन् । बल्खुमा छन् । बानेश्वरमा छन् । त्रिपुरेश्वरमा छन् । झापामा छन् । सर्वत्र छन् । आजकाल बादशाहहरू बग्रेल्ती भएका छन् ।
बादशाहहरू विभिन्न रूपमा रूपान्तर भएका छन् । आजकाल बादशाहहरू काँग्रेसमा छन् । एमालेमा छन् । रा प्र पा भएका छन् । माओवादी बनेका छन् । उनीहरू जे भए पनि आफूलाई नाङ्गा मान्दैनन् । काँग्रेसहरू सूर्यबहादुरलाई प्रधानमन्त्री बनाउन ज्यान फाल्छन् । एमालेहरु चन्दलाई बनाउन ….। सूर्यबहादुर र लोकेन्द्रबहादुर प्रजातन्त्र सिकाउँछन् । सबै बादशाह हुन् । त्यसैले उनीहरू आफूलाई नाङ्गा ठान्दैनन् ।
महाकाली, कालापानी बेचुन् – झापा आधा भारतको
भनून् । झापाकै कुरा गर्दा आन्तरिक दलीय द्वन्द्वमा कट्टु खोलुन् –उनीहरू कोही नाङ्गा हुँदैनन् । किनभने उनीहरू बादशाह हुन् । उनलाई नाङ्गो भन्ने त्यो बालक अहिलेसम्म जन्मेको छैन ।
म जस्ताका मस्तिष्कमा यो प्रश्न सल्बलाएको छ – यी बादशाहहरूलाई नाङ्गो घोषणा गर्ने ‘त्यो बालक कहिले जन्मन्छ ?’