बाबू !

‘बाबू’ शब्दको व्युत्पत्तिका बारेमा भाषाविद्‍हरु घोरिऊन् म घोरिन लागेको विषय अर्कै छ । शब्दकोषमा पनि बाबूको अर्थ तपाई Father को नेपाली पाउनु हुनेछ, हुन पनि बाबू भन्ने बित्तिकै त्यही बुझिन्छ । धर्म–कर्ममा विश्वास गर्ने स्वास्नीहरू लोग्नेको नाम भन्दैनन् । छोरा छोरी भए   ‘फलानोका बाबू’ या त ‘घरका’ भन्छन् । उनीहरूले जेसुकै भने पनि मैले भन्न खोजेको कुरो के हो भने, समाजमा दुई थरी मान्छे छन् । एक सर्वसाधारण अर्का बाबू ।

त्यसो त औपचारिक रूपमा म पनि एकजनाको बाबू भए पनि अनौपचारिक रूपमा धेरै जनाको बाबू हुन पुगेको छु । ती सधैँका बाबूहरूले जब निचोरिएर, आन्दोलित आकृतिलाई जबरजस्ती सम्हाल्दै मलाई बाबू भन्छन् एक–तमासको हाँसो उठ्‍छ । ती लखपति बाबूहरू नाङ्गिन–नाङ्गिन आँटेपछि मलाई परैवाट ‘नमस्कार लीला बाबू’ भन्छन् । अव मैले यत्रो सम्मानको पैँचो तिर्नु पर्ने हुन्छ, कि उसको प्रशंसा लेखिदिएर, कि उसको कर्तुत नलेखिदिएर, भनौंन उसका दिनचर्यामा मसँग सम्बन्धित सबै कुराहरूमा उसलाई अनुकूल हुने काम  गरिदिएर । मैले यो पैँचो तिरिसकेपछि भने हाम्रो क्रम पूर्ववत् हुन्छ, ऊ र म दुवै सडकबाट गुज्रँदै हुन्छौं– मेरा अभ्यस्त हातहरू जोल्टिन्छन्, नमस्कार फलानू बाबू– प्याच्च भनिदिन्छु, ऊ नमस्कार भन्छ र टाउको हल्लाउँदै सटासट जान्छ, किनभने ऊ बाबू हो म सर्वसाधारण ।

यस्तो अवसर एकपल्ट मात्र परेको भन्ठान्नु होला, हैन बारम्बार पर्छ । मैले भोट खसाल्न पाउने हरेक चुनावमा म बाबू हुन्छु, हरेक कर्तुत उदाङ्गिने बेलामा म बाबू हुन्छु, यस्ता निकै अवसर आउँछन् मलाई र म पैँचो तिर्छु फेरि बाबूबाट सर्वसाधारणमा फेरिन्छु । मलाई कहिलेकाहीँ अलि तीतो पनि लाग्छ, म कुनै कार्यालयमा जान्छु मसँग एउटा मुनिमजी पनि जान्छन् । मेरो वास्ता हुँदैन र काम पनि हुँदैन तर त्यही कार्यालयमा फलानो बाबूले पठाउनु भएको भन्नासाथै मुनिमजीको स्वागत पनि हुन्छ र तुरुन्त काम पनि । मैले हेर्दा–हेर्दै मुन्निमजी फिस्स हाँसेर जौं है भन्दै हिँड्छन्  । एकपल्ट मैले यस्तै भएर रिस उठेको झोकका सुरमा एकजना हाकिमलाई अलल्याएको छु । धेरै बेरसम्म मेरो काम नभएपछि मैले भनेँ, ‘छिटो गरिदिनोस् न ! मलाई मेरा बाबुले पठाएको ।’ हाकिम छक्क परेर हेर्न थाले, म भन्दै गएँ– “अरूलाई त फलानो बाबूले पठाएको भन्ना साथै गरिदिनु हुन्थ्यो त, मलाई मेरा बाबाले पठाउनु भएको ।” मैले पुरै अर्थ्याएपछि हाकिमले मलाई उनको कार्यालयबाट निकाल्ने धम्की दिए । म सर्वसाधारण मान्छे, बाबूहरूका माझमा केही गर्न नसकी हिँडेँ ।