कागजका टुक्राहरू

एउटा सानो कोठा छ, म छु, कोठाभरि आवश्यक र अनावश्यक कागजहरू छरिएका छन्, कसिङ्गर भरिएर कोठा घुरेन बनेको छ, बढार्न पनि जाँगर चलेको छैन, त्यसै बस्दा पनि हेर्दा एक प्रकारको अप्ठ्‍यारो लागिरहेछ । झ्यालबाट बेला–बेला हुत्तिएको हावाले कसिङ्गर र कागज यता–उता पार्छ । म यसैलाई रमिता ठानेर हेर्दैछु, सम्पूर्ण जाँगरलाई एकमुस्ट लगाएर कोठा बढार्न उठ्‍छु । कुचो छैन, सम्पूर्ण जाँगर मुर्झाउँछ । हावा चल्दै हुन्छ र कोठामा कागज यता–उता पार्दै हुन्छ । म ओछ्‌यानमा बस्तै सोच्छु– म आफ्नो जीवन पनि यो कागज जस्तै गुजार्दै छु । कहिले यता कहिले उता विना लक्ष्य चलिरहेछ जीवन र विचित्र–विचित्र नियतिहरूले मलाई सञ्चालन गरिरहेछन् ।

होटल चलाएर ग्राहकको गाली खाएको छु, ट्‍यूशन पढाएर फेल भएका विद्यार्थीहरूको सराप पाएको छु । शिक्षक भएँ, जागिर खाएँ, पत्रकार भएँ तर म कहीँ अटाइनँ । केटा–केटीदेखिका कुरा सम्झँदा यसभन्दा अरू पनि धेरै गरेँ । गोठ बसेको छु, (गाई दुहुन चाहिँ जानेको छैन, अझै पनि कहिले–कहिले यो मेरो निर्धो पक्ष बन्छ) मोही पारेको छु । यस्तै भनूँन मैले गृहस्थीले गर्ने निक्कै कर्म गरेको छु र यी हरफहरू लेख्ताका घडीमा भने एक प्रकारको बेरोजगार छु । आफ्नै इमान्दारीले अभिशाप बनेर आफूले खाइरहेको जागिर खाइदिएपछि अव जागिर त नखाने निधै गरेको छु । यसको कारण अर्को पनि छ– घुस खान आँट गर्ने सामर्थ्य ममा
छैन । मेरा ठूला–बडा मान्छे कोही छैनन् र पनि मरिहत्ते गरेर जागिर पाएँ भने मैले चारसय असीको पाउँछु । घुस नखाने भएपछि अहिलेको महङ्गीमा त्यसले के पो हुन सक्छ र ? यसैले जागिर नखाने टुङ्गोमा म छु र कसैले के गर्छस् भनेर केरकार गर्दा साँचो कुरा बताएर पनि विश्वास पार्न नसकेपछि म उसलाई यो मेरो ‘वायो डाटा’ भनेर बताइदिन्छु ।

सानो छँदा खूब रुन्थें

अलि ठूलो हुँदा स्कूलबाट भाग्थें

अहिले–

दिनभरि जागिर खोजेर लड्‍खडाउँछु

र रातभर –––––– सम्झेर छटपटाउँछु ।

सोध्ने मान्छे अव आफ्नो प्रश्न बिर्सन्छ र यो भनाइमा चित्त बुझाएर हिँड्छ । सत्ताइस हिउँद र बर्षहरु बितिसके र अब अरू पनि त बित्न सक्छन् । यति बेला आएर व्यवसायका दृष्टिले जन्मँदै छु । म नहुर्किन पनि सक्छु– तर यी भावी दुर्घटनाबारे अहिले केही नसोचौं ।

चाकडी र चाप्लुसी अहिलेसम्म मैले जानिनँ र धेरै दुख पनि पाएको छु । यो पनि जानीराख्नुपर्छ, बेला-मौकामा काम दिन्छ, भनेर धेरैले मलाई अर्ती दिएका छन् र अर्ती भनेको सबैको मान्नु पनि भन्छन्, तर म यो अर्ती कसैको नमान्ने पक्षमा छु । एकताकाको सम्झना आउँछ– त्यसबेला म शिक्षक थिएँ– मैले शिक्षकहरूका हाकिमको चाकडी गर्नु पर्ने थियो, मैले गरिनँ । उनीसँग चाकडीका कुरा नगरेर मैले त्यसताका सबै कर्मचारीहरुको तलव बडेर– शिक्षकको मात्र तलव नबढेको न्याय सङ्गत नभएको कुरा गरेँ, तर बढेको तलव खाने ती हाकिमले मलाई शिक्षकको तलव वडाउनु देशको अर्थतन्त्रले नमिल्ने कुरा बताए । विचरा ती हाकिमले न त देश बुझेका थिए न अर्थतन्त्र । उनको शिक्षकहरूमाथि हैकम जमाइराख्‍ने एउटै मात्र प्रबल इच्छा थियो । ती हाकिम सम्झदा अहिले पनि मलाई कुरी–कुरी लाग्छ । त्यस्ता शिक्षाविद्‍ ठहरिने हाकिमका अधीनमा शिक्षक भैरहन मलाई त्यसै दिनदेखि मन लागेन र केहीपछि गएर मैले त्यो व्यवसाय छाडेँ ।

हुनत जीवनको हरेक मोडमा एक न एक अनुभव हुन्छन्, ती अनुभवहरू हरेकका भिन्न–भिन्नै पनि हुन्छन् । यसै प्रसङ्गमा म एउटा अर्को अनुभव सम्झदै छु । म त्यतिवेला जागिर खान्थें । सात महिने जागिरे जीवन पनि मेरो आफ्नै पनको रहयो । त्यतिवेला केही तथाकथित ठूला–बडाहरूले मलाई उनीहरूको कर्तुतको साँचो व्यहोरा बोल्यो भनेर झूटो दोष लगाए, मैले संझाइदिन खोजेँ, कुरै सुनिएन र मैले राजीनामा दिएँ । (ती गैर सरकारी कार्यालय) का ठालुहरु मेरो राजीनामा पाएर रमाए । म पनि सहज नभएको जागिरबाट मुक्त भएकोले रमाएँ ।

यी कुरा त सामान्य हुन्, तर हामी एउटा संत्रास निम्त्याइरहेछौं । हामीमा इमान्दारिता छैन, हामीमा लगनशीलता छैन, हामीमा साधना गर्ने धैर्य छैन । अब हाम्रो भविष्य के हुन सक्छ ? यस परिप्रेक्ष्यमा विचार गर्दा समूहको आधार व्यक्ति हो, व्यक्ति–व्यक्तिका प्रवृत्तिहरू सामूहिक बन्छन् । उपर्युक्त पृष्ठभूमिमा निर्मित मान्छे म । मैले पनि यस प्रसङ्गमा अलिकति चिन्तन–मनन गर्नुपर्छ । जबरजस्ती आफ्नो कर्तव्य अगाडि आउँछ । म सचेत हुन बल गर्छु ।

अब तरङ्ग छुट्‍छ । म पूर्ववत् हुन्छु । म छु । मेरो कोठा छ । कोठाभरि कागज छरिएका छन् । कसिङ्गर भरिएको छ । कागजका टुक्राहरू हावाले यत्र–तत्र सार्दैछ, सोच्छु मेरो जीवन यस्तै नियतिमा गुज्रिरहेछ ।