पञ्चामृत

झापाली साहित्यिक आकाशमा पञ्चामृत मासिकको स्थान विशिष्ट रूपमा रहेको छ । यसको सुरुवातका अनेक र मैलिक कथाहरू छन् । यसको सुरुवातलाई अनेकन् प्रवाह र प्रसङ्गहरुले उर्जा प्रदान गरेका थिए । जेसुकै भए पनि ‘पञ्चामृत’को अन्तर बल भनेको २०२५ सालमा सम्पन्न भएको शनिश्चरेको साहित्यिक सम्मेलन पनि हो । त्यो सम्मेलनको लगत्तै प्रकाशन शुरु भएको ‘पञ्चामृत’ मासिक शनिश्चरे सम्मेलनको निष्कर्षको परिधि भित्रै हिँडेको पाइन्छ ।

वासुदेव शर्मा सम्पादक र राधाकृष्ण मैनाली प्रकाशक रहेर शुरु भएको यसको प्रकाशनबाट पछि वासुदेव शर्माले छाड्नुभयो । त्यसपश्चात राधाकृष्ण मैनाली प्रकाशक, राधाकृष्ण मैनाली, रुद्र खरले र यो लेखक (लीला उदासी) सम्पादक रहेर सञ्चालन भइरहेको बेलामा स्थानीय प्रशासनबाट प्रकाशनमा प्रतिबन्ध लागेको थियो । सम्पादन समूहमा माथि उल्लेखित नामहरू औपचारिकतासँग मात्र सम्बद्ध हुन् र अनौपचारिक रूपमा यसमा अनेकन् झापाली युवाहरूको सहभागिता बिर्सन नसकिने गरी जोडिएको पाइन्छ । द्रोणाचार्य क्षेत्री, रामनाथ दाहाल, गणेश अधिकारी, अमृत बुढाथोकी लगायत धेरै युवाहरू ‘पञ्चामृत’को प्रकाशनका लागि अनेक रूपले लागिपरेको परिणाम नै ‘पञ्चामृत’ प्रकाशन हुन सकेको थियो ।

यसको प्रकाशनका लागि उत्सुक रहेको प्रयास झापामा मात्र सीमित थिएन,  विराटनगर, धरान, आठराई, काठमाण्डौ, प्रवास – जत्रतत्रबाट ‘पञ्चामृत’ले माया पाएको थियो । छोटो समयमा ऐतिहासिक सफलता प्राप्त गरेको यो प्रकाशनले साहित्य र राजनीतिका क्षेत्रमा महत्त्वपूर्ण कार्य गरेको थियो ।

यसै त पञ्चामृत प्रगतिशील साहित्यको अगुवा पत्रिका थियो यसलाई विपक्षीहरूले आरोप पनि लगाए– राजनीतिको मुखपत्र भनेर, तर यसका अङ्कहरू अगाडि राखेर कसैले पुनः अध्ययन गर्दछ भने उसको अन्तर्मनले यसलाई सङ्कीर्ण घोषण गर्न कदापि हिम्मत गर्दैन । हो यसका साहित्यका बारेका अवधारणाहरू यसको दोस्रो अङ्कको सम्पादकीयले स्पष्ट गरेकोछ, जीवन यात्रामा यो शहीद भएकोछ तर कहिल्यै विचलन स्वीकार गरेन ।

‘पञ्चामृत’ त्यस समयको साहित्यको मञ्च थियो । पञ्चामृतले अनेकन् नव प्रतिभाहरूलाई जनसमक्ष उभ्यायो र तीमध्ये कतिलाई त राष्ट्रिय स्तरमा उभ्यायो । आजको राष्ट्रिय स्तरका धेरै व्यक्तित्वहरू पञ्चामृत अभियानमा साहित्यिक आन्दोलनमा लागेका थिए । यसरी नेपाली साहित्यको इतिहासमा ‘पञ्चामृत’ मासिक विशिष्ट आकार दिने महत्त्वपूर्ण पत्रिका रहेकोछ ।

पञ्चामृत मासिकले आफ्नो जीवन कालमा तीनवटा महत्त्वपूर्ण विशेषाङ्कहरू प्रस्तुत गरेको छ । ती हुन् सुस्ता अङ्क, महेशपुर अङ्क र लेनिन शतवार्षिकी अङ्क । सुस्ता र महेशपुर अङ्क ‘पञ्चामृत’ आन्दोलनका यस्ता महत्त्वपूर्ण अङ्कहरू हुन्–जसले यसको जीवन कालको अवधारणलाई स्पष्ट रूपमा अभिव्यक्त गरेको छ । नेपाललाई सार्वभौम राष्ट्रका रूपमा स्वीकार नगर्ने भारतीय नीति नेपालका लागि सधैँ चुनौतीका रूपमा रहेको छ भने उसको नेपाली भूभाग माथिको आक्रमणबाट नेपाल आक्रान्त छ । त्यो पीडाका विरुद्धमा नेपाली जनमानसलाई सचेत पार्ने र जागरुक गराउने कार्यमा उल्लिखित प्रसङ्गले महत्त्वपूर्ण फड्को मारेको कुरामा विवाद हुन सक्दैन । लेनिन शतवार्षिकी अङ्क अर्को यस्तै महत्त्वपूर्ण अङ्क थियो । लेनिनका बारेमा सर्वसाधारणमा ज्ञात गराउने कुरामा मात्र उल्लिखित अङ्क सीमित थिएन –सर्वसाधारणमा राजनीतिक चेत भर्ने कार्यमा उल्लेखित अङ्क ज्यादै नै प्रभावशाली रहेको छ ।

साँच्चै भन्ने हो भने २०५१ सालमा बनेको एमाले सरकारको स्रोत मध्ये ‘पञ्चामृत’ मासिक पनि हो । नेपालको वामपन्थी आन्दोलनलाई हुर्काउन ‘पञ्चामृत’ मासिकले प्रशस्त योगदान प्रदान गरेको छ । यसमा प्रकाशित समग्र सामाग्री राजनीतिक चेत हुर्काउने, राष्ट्रियताको भावनालाई सम्बर्द्धन गर्ने बाढी चलाउने प्रकृतिका रहेका छन् । ‘पञ्चामृत’ मासिकका समग्र रचनामध्येबाट चयन गरेर एउटा चुनिएका रचनाहरुको सङ्कलन प्रकाशन हुन सके प्रगतिवादी साहित्यको क्षेत्रमा साँच्चै ठूलो काम हुने थियो।