इमान्दार अपराधी बिरप्पनलाई मेरो श्रद्धाञ्जली
बिरप्पन मारियो । यसले संसारभरि चर्चा पायो । संसारभरिकै अखबारहरूले बिरप्पन मरेको समाचार लेखे र बिरप्पनको जीवन गाथा बताए। टेलिभिजन पर्दाहरू बिरप्पनका तस्विरहरूले भरिए । रेडियो उद्घोषकहरू बिरप्पनको गाथा भन्न सुरिए । जीवनभरि पनि चर्चाको शिखरमा रहेको बिरप्पनले मृत्युपर्यन्त पनि ठुलै चर्चा पायो । अब भने बिरप्पनको इहलीला समाप्त भयो ।
बिरप्पन त मारियो तर बिरप्पनको मृत्युले अनेक प्रसङ्गहरू उठाएको छ । भारतीय सरकारले निकै सहजको सास फेर्यो । प्रहरी फोर्सले बहादुरीको गाथा सार्वजनिक गंर्यो । चालीस वर्षसम्म बिरप्पनलाई पक्रन नसकेकोमा लाज महसुस गरेन प्रहरीले, बरु बिरप्पनकै सहयोगीले धोका दिएर बिरप्पन घेराउमा परेर मारिएको घटनाको भने जस लिन प्रहरी
चुकेन ।
मलाई त धेरै दु:ख लागेको छ । बिरप्पन मारिनु हुँदैनथ्यो । बिरप्पन इमान्दार थियो । एउटा इमान्दार मान्छे मारिएकोमा मलाई निकै छोएको छ । लाग्नसक्छ– “बिरप्पन मारिँदा दु:ख लाग्ने मान्छे बिरप्पनको मतियार रहेछ ।” अनि अर्को प्रश्न उठ्न सक्छ– बिरप्पन कसरी इमान्दार भयो त ? जसले सयौं मान्छेहरू मार्यो, जसले जीवनभर चन्दन र हात्तीको दाँत तस्करी गर्यो, के त्यो मान्छे इमान्दार ? बिरप्पनलाई इमान्दार भन्नेहरूलाई यस्तै प्रश्नहरूले ओइरो लाग्नसक्छ । तर प्रश्नहरूका लागि उत्तरहरूको पनि ढेरी लागेको पाइन्छ ।
बिरप्पन क्याबिनेटमा बसेन, बिरप्पन सचिवालयमा बसेन, बिरप्पनले राज्य कोषको सुविधा र भत्ता खाएन, बिरप्पनले कहिल्यै ढाँट कुरा गरेन । उसले अपराध त गर्यो तर कहिले अपराधी हुँइन भनेन । उ जङ्गलमा बस्यो, अपराधी नै हुँ भन्यो । उ जे हो, त्यही हुँ भन्यो, अर्को हुँ भनेन । त्यसैले बिरप्पन इमान्दार हो, थियो ।
त्यती मात्र होइन, बिरप्पनले जति कमायो, त्यो निजी काममा मात्र प्रयोग गरेन । बिरप्पनले गरिब, दु:खीहरूको मद्दत गर्यो । अनि त बिरप्पन मर्दा गरिबहरू रोए, दु:खीहरू शोकमग्न भए । बिरप्पनको मृत्युले धेरैलाई छोयो । बिरप्पन जन्माउनेहरू मात्र खुसीले नाचे ।
क्याबिनेटमा बस्नेहरू पनि त्यही गर्छन्– जे बिरप्पनले गर्ने गरेको थियो । सचिवालयमा बस्नेहरू पनि त्यही गर्छन्, सबै बिरप्पनहरू हुन् फरक यति हो उनीहरू बिरप्पन जस्तो आफूलाई डाकु, हत्यारा र तस्कर भन्दैनन् । सधैँ उनीहरू बिरप्पनहरूको विरोध गर्छन् र तस्करी र डकैती गरिरहन्छन् । हो, उनीहरू तस्करी र डकैती गरि रहन्छन् र तस्करी र डकैतीको विरोध पनि गर्छन् । बिरप्पन र उनीहरूमा यही नै फरक छ । उनीहरू जे गर्छन्, त्यसको विरोध गर्छन् । बिरप्पन जे गर्थ्यो – उ त्यसको विरोध गर्दैनथ्यो । बिरप्पन हात्तीका दुवै दाँतको तस्करी गर्दथ्यो तर उसका दुइटा दाँत थिएनन् । मन्त्रीहरू, सचिवहरू, हाकिमहरू दुईभन्दा बढी दाँतको तस्करी गर्छन् तर आफैँसँग दुई दाँत छन् । मन्त्री, सचिव र हाकिमहरूको मुखमा, कानमा, नाकमा, बुद्धिमा, कोखामा जत्रतत्र दाँतै दाँत । साँच्चै भन्ने हो भने सचिव, मन्त्री र हाकिमहरू त बिरप्पनका हाकिम हुन् । बिरप्पनलाई गाली गर्ने बिरप्पनका हाकिमहरू जस्तो हैन बिरप्पन, त्यसैले बिरप्पन मन्त्रीहरूभन्दा इमान्दार हो, सचिवहरूभन्दा इमान्दार हो र उनीहरूभन्दा गरिब जनताप्रति पनि बिरप्पन नैं इमान्दार हो । त्यसैले बिरप्पन इमान्दार हो । अपराधी हो बिरप्पन, तर सफेद पोस अपराधी भने होइन । उ आफैँले घोषण गरेको अपराधी हो, आफूले गरेका कुकर्मलाई स्वीकार गर्ने अपराधी हो । नढाँट्ने अपराधी हो । मन्त्रीहरू जस्तो रातभरि अपराध गर्ने दिनभरि अपराधको विरोध गर्ने अपराधी होइन, बिरप्पन मात्रात्मक रूपमा हेर्दा पनि मन्त्री, सचिव र हाकिमभन्दा सानो अपराधी हो बिरप्पन । सफेदपोस बेइमानहरू जस्तो होइन बिरप्पन, त्यसैले एउटा अपराधी नैं सही इमान्दार अपराधी मार्दा मलाई दु:ख लागेको छ । बिरप्पन मारिँदा यसरी मैले दु:ख मानेको हुँ । बिरप्पन मारिएको कुरा सुनेर मलाई साँच्चै हैरानी भैरहेको छ ।
त्यसो त, बिरप्पनले पूर्व दिनचर्या त्यागेर राजनीतिमा आउने कुरा पनि चर्चामा आएको थियो । साँच्चै बिरप्पन राजनीतिमा आएको भए उसलाई पार्टीमा भित्र्याउने होडबाजी चल्ने थियो । उसले सांसदको टिकट पनि पाउने थियो र उ सांसद हुँदै मन्त्री बन्ने थियो । त्यसो हुन सकेन, समयले बिरप्पनलाई पर्खेन । त्यसो भइ दिएको भए बिरप्पन सफेदपोस अपराधीको रूपमा परिणत हुने थियो र मेरो सहानुभूति पनि उसले गुमाउने थियो । जेहोस् फुलनदेबीको साक्षात् उत्तराधिकारी हुन बिरप्पन सकेन ।
प्रजातन्त्रको मसिहा ठान्ने भारतले किन जन्माइरहेछ फुलनदेवी र बिरप्पनहरू ? उनका जन्मदाताहरू उनको विरुद्धमा भाषण गर्न व्यस्त
छन् । उनीहरू कहिल्यै फुलनदेवी र बिरप्पन बन्ने कारण सोच्न उत्सुक छैनन् तर बग्रेल्ती फुलनदेवी र बिरप्पनहरू जन्माइरहेछन् । फुलनदेवी र बिरप्पन त अपराध गर्थे र अपराधी हौ भन्थे तर उनका जन्मदाता वर उनबाट कमिसन खानेहरू अपराधको विरोध गर्ने अपराधी हुन् ।
नेपाल पनि भारतभन्दा अछुतो रहन सकेको छैन । नेपालमा पनि अनगिन्ती बिरप्पनहरू छन् । फुलनदेवीहरू छन् । अझ फुलनदेवी र बिरप्पनहरूका मालिकहरू बग्रेल्ती छन् । नेपाली बिरप्पन र उनका विभिन्न दरबारमा, सचिवालयमा, मन्त्रिमण्डलमा आसन जमाएका छन् । उनीहरू मारिएको भारतीय बिरप्पन भन्दा धेरै गुण बेइमान छन् । बेइमानहरूले मुलुक जर्जर बनाएका छन् ।
वास्तवमा जो अपराध गर्छ र अपराधी हुन्छ अपराध गरेर अपराधका विरुद्धमा भाषण गर्नेभन्दा धेरै इमान्दार हो । बेइमान अपराधीले इमान्दार अपराधीलाई बेइमान नै बनाउँछन् । अपराधीले मुख खोलिदिए भने सफेद पोसहरूको सेतो लुगा कालोमा बदलिन्छ । उनीहरू आफ्नो लुगा कालो बनाउन चाहँदैनन् । त्यसैले खास अपराधी पनि सफेद पोस अपराधीकै नियन्त्रणमा रहन्छन् । वास्तवमा सरकार, प्रहरी र राज्यको निकासका अगुवाहरू तथा शक्ति र सत्ता केन्द्रकाहरूले अपराध नगरिदिए त मुलुक अर्कै बन्ने कुरामा कुनै विवाद रहँदैन । तर तसबीर यस्तो छैन । हाम्रा निकायका उपल्लो तहमा बिरप्पनका वोसहरूको कब्जा छ र उनले बिरप्पनहरूको साङ्गठानिक नेटवर्क बनाएका छन् ।
यसरी नक्कली बिरप्पनहरूले मुलुक खग्रास बनाएका छन् । हो हाम्रा नक्कली बिरप्पन र नक्कली बिरप्पनहरूका बोस भन्दा त भारतमा मारिएको चन्दन तस्कर भारतीय बिरप्पन धेरै इमान्दार थियो । ऊ
मारियो । त्यसैले मलाई दु:ख लागेको छ, बिरप्पन मारिएकोमा । बिरप्पन तस्कर थियो, अपराधी थियो तर ऊ सफेदपोस थिएन । अपराधी भएर ऊ संसदमा बसेन, मन्त्री थिएन । उच्च पदस्थ अधिकारी अधिकारी थिएन । मन्त्री, सांसद, उच्च पदस्थ अधिकारी अपराधीभन्दा बिरप्पन इमान्दार हो । उसका निकटका निमुखाहरूको सहारा पनि थियो त्यसैले ऊ नमारिएको भए हुने थियो । अपराधी, तस्कर भएर बिरप्पन इमान्दार थियो । त्यसैले उसलाई मेरो श्रद्धाञ्जली । नेपाली बिरप्पनहरू र उनका बोसहरूले त उनको मृत्युमा श्रद्धाञ्जली दिने ठाउँसम्म छाडेका छैनन् ।