श्रीमान्

उहाँ कहिलेदेखि श्रीमान् हुनुभयो त्यसको निश्चित तिथि मिति त उहाँसँग पनि छैन र अरूसँग पनि छैन । त्यो नभए पनि उहाँ श्रीमान् । उहाँकै श्रीमतीहरूको मात्र हैन– धेरैको श्रीमान् । सर्वसाधारणदेखि ठूला वडासम्म जोसुकैले आज उहाँलाई श्रीमान् भन्छन् । धेरैले भन्छन्, अनि त उहाँ श्रीमान् हो । पहिलोपल्ट कसले श्रीमान् भन्यो ? यस प्रश्नको जबाफ पनि सजिलो छैन । किनभने जबसम्म उहाँका दारी जुँघाका रेखी वसेकै थिएनन् त्यति बेलासम्म उहाँको नाममात्र भनेर मान्छे सन्तुष्ट हुँदैन थिए । उहाँको नाममा पछिल्लो अक्षरलाई एकलख सहित उच्चारण गरेर मात्र उहाँलाई सम्बोधन गरेको पुरा हुन्छ भन्ने भ्रम आम परिचितहरूको धारणा थियो ।

ठिक्क यस्तै बेलामा उहाँलाई बिहेका, व्रतबन्धका र यस्तै अरू प्रकारका निम्तोपत्रहरू, शुभकामनाहरू आउन थाले । ती निम्तोपत्र र शुभकामनाहरूमा नेपालमा बोलचालमा प्रयोग भएको एकलख त उड्यो उड्यो, त्यसपछि सधैँ कहलाउने गरी नामपछि पनि केही जोडियो भने नामभन्दा अगाडि नै श्रीमान् लेखिन थाल्यो । उहाँले सुरु-सुरुका त्यस्ता पत्रहरू हातैमा बोकेर गाउँभरि देखाउँदै हिँड्नुभएको पनि धेरै समय त बितेको छैन । स्कूलकै कक्षातिर फेल भएको सुनाउने गुरुबाबुले उहाँको नामपछि जोडिने एकलख उच्चारण गर्दा भने अब उहाँलाई  फेल भएको भन्दा त्यसरी नाम बोलाएको पीडा हुनथालेको थियो । कक्षामा केही केटीहरू पनि थिए । अरू कक्षाका केटीहरूमा पनि उहाँको उपयुक्त धाक र रवाफ थियो नैं । त्यो रवाफमा घुन लाग्यो कि भनेर उहाँको मन कोक्याए- कोक्याए जस्तो हुन्थ्यो ।

हाइस्कूल पूरा नगर्दै उहाँ कलेज दाखिला हुनुभयो । त्यसो त उहाँले बीचैमा विदेशमा पढेको हल्ला पनि मच्चाउनुभयो । विदेशको पढाइ त झनैं रमाइलो रहेछ । उहाँले पढाइका नाममा कुनै दिन गाम छाड्नु परेन। उता जाँच चल्दै थियो, उहाँ अधियाँमा धान बाली लगाएको जमिनमा धान काट्दै, बिटा लगाउँदै र दाइँ गर्दै हुनुहुन्थ्यो । मान्छेहरू भन्न थालेका थिए– ‘उहाँ जस्ता पढैयाका लागि केले रोक्छ र ?’ उहाँ आफू पनि खाने मुखलाई जुँघाले छेक्दैन भन्न थाल्नुभएको थियो र नेपालका शिक्षा प्रणालीका दोषहरू त उहाँलाई मुखाग्र भइसकेका थिए ।

जसै कलेज दाखिला हुनुभयो– उहाँलाई पुस्तकका पोथीहरू साह्रै सिकसिको लाग्न थाले । किताब बोकेका मान्छे देख्दै उहाँको आङ सिरिङ्ङ सिरिङ्ङ हुन थाल्यो । कलेजमा उहाँका लागि एउटा इलम भने राम्रै भयो । विद्यार्थी आन्दोलनहरू, जुलुसहरू, मुर्दावाद, जिन्दाबादका नाराहरूमा भने उहाँको राम्रै सहभागिता हुन थाल्यो । जुलुसहरूमा एकाध डन्डी  प्रहरीले उहाँ‍को टाउकोमा र ढाडमा बजारे पनि । वास्तवमा तिनै डन्डी त उहाँका आजका हराभरा बाली भएका छन् ।

खर्च-वर्चले अभर परेका बेलामा उहाँ सजिलै टार्नुहुन्थ्यो । गाउँका तरुनी, बरुनीका ढुङ्ग्री, मुन्द्री हराउँथे– उहाँको अभाव हराउँथ्यो । महिलाहरूले नै गर्ने कामको सीप अद्वितीय रूपमा उहाँसँग थियो । किशोरीदेखि युवतीसम्ममा उहाँको खुब तारिफ हुन्थ्यो । गाउँका सामाजिक कार्यहरूमा होस् वा व्यक्तिगत मेलापात वा भोज-भतेरमा होस् उहाँको स्वागत हुन्थ्यो– महिलाहरूको युवा जमातमा । त्यसो त स्वागतै नभएको ठाउँमा पनि महिलाहरूको हूलमा पसेर बस्ने अनि बसी-बसी काममा हात बढाउने उहाँको विशेषता हो । पहिलाको मेलापात, रोपाइँ, दाइँ, बिटा लगाउने, धान काट्ने-झार्ने, वाहुसे गर्ने जस्ता कामहरू त आफैँ उहाँसँग बिदा भएका थिए– जब उहाँको सहर-बजार, कलेज, भाषण, जिन्दाबाद, मुर्दावादसँग आवतजावत सुरु भएको थियो ।

उहाँले कहिल्यै ऋण-पान तिर्नुभएन तर कहिल्यै अपहेलित हुनु पनि परेन । ऋण-पान र कर्जाका लागि तोकिदिएको समयमा चुक्ता नगरे पछि पनि उहाँ सजिलै तागेता पन्छाउनुहुन्थ्यो । वरू, तागेता गर्नेहरू सहानुभूति दिँदै हिँड्थे र भन्थे– भैगयो, यसपल्ट यस्तै परेछ । अलिक ठूलो सङ्कटमा उहाँका आमा-बुवा पनि खस्थे । त्यो पनि पटक-पटक । काका, मामा, माइज्यू, काकी, फुपू, दिदी, भिनाजु त उहाँका कति खसे खसे । “यस्तै परेर पो त नत्र त्यति जाबो पैसामा किन बेइमानी गरिन्थ्यो ।” उहाँले यति भनेपछि उहाँका सामु कोही टिक्दैनथ्यो । व्यवहार अलिक धेरै चौपट भए पनि उहाँ गल्नुभएन । ‘यतिको व्यवहार त कुरैका भरमा ठीक पारिन्छ
नि !’- उहाँ भन्नुहुन्थ्यो ।

एकपटक भने उहाँलाई निक्कै सकस परिसकेको थियो । पटक-पटक काका, मामा खसेको कुरा खुलिसकेको थियो । गाउँका खसी, बाख्रा चोर्ने, सुतेका महिलाहरूका नाक कान लुछ्ने, गाई, गोरु तार्ने, कागजको बिटोको बाहिर पाँच सय, सयको नोट राखेर सबै कागजलाई नोट पार्ने, लोकल बसका यात्रुको खल्ती चट पार्ने जस्ता मान्छेहरूसँग उहाँको हिमचिम बढेको, भारोपर्मा चलेको कुरालाई मान्छेले सहेनन् । अनेक थोक भने । उहाँलाई पनि खपिनसक्नु भएछ  । अनि उहाँ तत्काल चलेको एउटा हूलचालमा लाग्नुभयो र पक्रा परेर सरकारी तरकारी र सरकारी नै राशन खान उहाँले भित्रै आसन जमाउनुभयो ।

जेल त उहाँका लागि फाइदाको फाइदामा परिणत भयो । अरू बन्दीहरूलाई सरकारी राशन र खर्चले पुग्दैनथ्यो, उहाँ जेलबाट घरमा खर्च पठाउनुहुन्थ्यो । अरू बन्दीको चौकीदार, भाइ चौकीदार, नाइके, भाइ-नाइकेसँग झडप पर्थ्यो । ती सबै उहाँका मीत भैसकेका हुन्थे । खानपान, खर्चबर्चको सबै जोहो तिनैले गरि दिन्थे । उहाँले तीनको कान फुकेपछि उहाँको कुन इच्छा हुँदैनथ्यो र ? उहाँसँगै हूलचालमा परेकाहरूले एकपटक जेलमै प्रश्न उठाए र यस्तो चाप्लुसी गर्नेलाई नाङ्गेझार पार्नुपर्छ भन्दै एउटा मिटिङ्ग बसे । सुरुमै उहाँले सबैभन्दा कडा कुरा राख्नुभयो र भन्नुभयो – “हो ! हाम्रो समूहमा पनि कसैले गद्दारी गरेको आभास मलाई भैरहेको छ । यी चौकीदार, नाइकेहरू मलाई ढाँट्न सक्दैनन्, उनैबाट मैले सबै बुझिसकेको छु । एकैपटक म नङ्ग्याउँदिन, फेरि पनि नसुध्रिए म गद्दारलाई नाङ्गेझार बनाउँछु ।”  उत्तेजक शैलीमा उहाँको यति कुरा सुनेपछि सबै बन्दीहरू मुखामुख गर्दै हेरिरहेँ । कोही बोलेन । मिटिङ्ग सकियो । त्यसपछि जेलका कसैले त्यस्तो मिटिङ्ग बोलाउन रुचाएनन् ।

समय चिप्लिँदै गयो । उहाँ जेलबाट छुट्नु भयो । उहाँसँगै समूहका अरू पनि छुटे । अभिनन्दन भयो । उहाँले धुन फेरी-फेरी भाषण गर्नुभयो । अलिक बुझ्नेहरूले उहाँले कुरा गर्न निकै प्रगति गर्नुभएछ भने । अरूले त ताली पिटिरहे । त्यसपछि त उहाँ निक्कै ठूलो नेता हुनुभयो । पत्रकार पछि लागे । अलपत्र परेका पनि पछि लागे । उहाँ कतै हिँड्दा सानुतिनु जुलुसै जस्तो हुन्थ्यो । जनताको नाम लिएर व्यापारी, प्रशासन, जत्रतत्र उहाँ बारगेनिङ्ग गर्न थालिसक्नुभएको थियो । त्यही बेलामा चुनाउको हलचल हुँदैथ्यो । उहाँको समूहले उहाँलाई टिकट नदिने भयो । उहाँ पटक्कै आत्तिनुभएन । टिकट नपाएको विषयमा सहानुभूति दिएर आउने र सोध्नेहरूलाई भन्न थाल्नुभयो– आफैँले चाहेर टिकट नलिएको । कारणमा बताउनुहुन्थ्यो– “समूह त ठिकै छ, प्रमुखले धेरै बेइमानी गरिसकेकाले उनलाई चुनाउमा हराउनै पर्ने भएकाले आफूले टिकट नलिएको ।” तीन दिन मात्र उहाँले यस्ता गफ गर्न पाउनुभयो । चौथो दिन बिहानै उहाँका घरमा उहाँले रुचाउने क्षेत्रको टिकट आइपुगेछ ।

उहाँको पहिलो चुनावी सभा युवती समूहद्वारा आयोजित थियो । उहाँले यति ताली पाउनुभयो– सबै आश्चर्यमा परे । त्यही समूहको टिकट वितरण ठीक नभएकाले विचार विमर्श गर्न भोलिपल्ट वोलाइएको सभा रद्द भयो । समूहका उहाँका विरोधीहरू पनि नतमस्तक भए । त्यसो त उहाँले धेरैलाई धम्क्याउनुभयो । धेरैलाई फकाउनुभयो । कसैलाई तारी, कसैलाई सारी, कसैलाई छहारी – के बाँड्नु भएन र ? पैसा त कहाँबाट आयो-आयो । पैसा त बाढी भएर आयो– जरुवा भएर अलि-अलि गयो ।

चुनाव जित्‍नुभयो । उहाँ अबिरले मात्र पुरिनु भएन । उहाँलाई दृश्य र अदृश्य भएर के-केले पुरे-पुरे । उहाँकै समूहले बहुमत ल्यायो । समूहका प्रमुखसँग राम्रै हिमचिम बढ्यो । चाहेकै मन्त्री पड्काएर उहाँले दुवै हातले त्यसदिन जुँगामा ताउ लाउनुभयो । मन्त्री मात्र हुन बेर– उहाँ कति हो कति चिटिक्क देखिनुभयो । गाला त स्याउ जस्ता भए । यसरी उहाँले मन्त्री पड्काउनुभयो । अब मन्त्री  भएर पड्काएका कुराहरू भने देख्‍न नसकिने भए । पर्दा खुल्न छाड्यो । लक्षणले मात्रै प्रगतिको अन्दाज हुने भयो ।

केही वर्ष पछि मन्त्री पद त उड्यो तर उहाँको अन्तर्मन रोएन, बरु खुसीले छमछम नाच्यो । उहाँ भन्नुहुन्थ्यो– “राम्रै भयो उडान, कुनै दुर्घटना बिना नै अवतरण गरियो र फेरि यस्ता उडानका लागि प्रशस्त पूर्वाधार तयार गरियो ।”

अब श्रीमानसँग राजधानीमा घर होइन, महलहरू छन् । देशका महत्त्वपूर्ण स्थानमा बीसौं घडेरीहरू छन् । केही उद्योग धन्दाको शेयर छ । गाडीहरू रोजी-रोजी र फेरी-फेरी छन् । कति जना पत्‍नी छन् – त्यो त अलिक नजिकैकाले पनि ठ्याक्क भन्न सक्दैनन् । प्रहरीमा, विभागमा, मन्त्रालयमा, अदालतमा, जँही तंही श्रीमान्‌को कुरा बिक्छ । मन्त्री नै नभए पनि श्रीमानको चाकरी गर्नेहरूको धुइरो जस्तै छ । उहाँ श्रीमान् हुनुहुन्छ । अनि त जोसुकैले उहाँलाई जहिले पनि भन्छन्– श्रीमान् ।