रवि बजार र मेरो अतीत
मङ्सिर महिनाको अन्तिम साता, रवि बजारमा निकै जाडो हुन्छ । एकाबिहानै तुसारो परेको हुन्छ । सधैँ त्यही बसेर बानी परेका मान्छेहरू पनि लुगलुग काम्छन् । मलाई भने त्यस दिन, त्यस क्षण पटक्कै जाडो लागेन । मलाई मेरो अतीतको स्मृतिले कप्लक्कै खायो । हो त, मैले त्यहाँ मेरो बालक काल बिताएँ । मैले त्यहाँ क ख ग सिकेँ । म त्यहाँको धूलोमा लुटपुटिएको छु । चूथ्रो र ऐँसेलुका काँडाहरूसँग मेरो मित्रता थियो– उनले मलाई घोच्दैनथे । त्यहाँको धूलो र हिलो मेरो सुखको पनि दुःखको पनि साथी थियो । म चालीसौं वर्ष अगाडि फर्के र त्यहाँ हराएँ ।
मैले देखेँ, मेरो राउते र थाम डाँडोलाई बिहानै घामले चुमेछ । निकै रमाइलो देखियो । मलाई त लाग्यो – कतै केही नबितोस्, म हेरिरहूँ ।
अहँ ! मेरो धित मरेन । मेरो बसले हर्न बजाएपछि मेरो एकाग्रता भङ्ग भयो । म मन नलागी-नलागी बस चढेँ । पचासौं सीट भएको बस…. । मलाई त्यस दिन त्यो बस पनि अनौठो लाग्यो । यसै त, ठूलठूलै जहाज पनि चढेको छु । चित्र-विचित्रका रेल र जहाजका बारेमा पढेको छु, तर मलाई त्यस दिनको रवि बजारको बस अनौठो लागिरह्यो ।
रवि बजारमा भने जीवनमा पहिलो पटक बसमा चढ्दै थिए । ट्रकमा भने एक पटक त्यहाँबाट आएको छु र एक पटक त्यहाँ गएको छु, फुपूकी छोरी मेरी बहिनीको सौजन्यले । मलाई त्यो बस त्यहाँ कुन अर्थले अनौठो लागिरह्यो भने मैले बिताएको बालक कालमा यस्तो बस देखेको थिइन । बिर्तामोडमा देखिने अनगिन्ती बसहरू मलाई अहिलेसम्म अनौठो लागेका छैनन्र, तर रवि बजारमा त्यसदिन अनौठो पाएँ ।
म सहज जीवन यापन र रोजगारीका धुनमा त्यहाँबाट पलायन भएँ, धेरै समय धेरैतिर भौतारिएँ । क्रम नै यस्तै थियो । प्रकृतिका सुन्दर छटाहरूले मान्छेलाई थाहा नपाउँदै तानि रहन्थ्यो । तैपनि मान्छे त्यहाँ बसि रहन सक्दैनथ्यो । त्यहाँको मान्छे रोजी-रोटी खोज्दै आसाम पुग्थ्यो, झापा र मोरङ झर्थ्यो । यस्तै क्रममा त म पनि पलायन भएँ त्यहाँबाट र कहिले भद्रपुर- कहिले काठमाडौं- चन्द्रगढी हुँदै आजकल बिर्तामोडमा थन्किएको छु ।
धेरै दिनपछि पुगेर फर्कन लाग्दाको क्षणमा मलाई निकै सकस पर्यो । यति विघ्न कुराहरू मेरो छातीभरि भए भने मलाई केही दिन फुर्सतै लिएर सम्झौं, सम्झौं भयो । डन्डीबियो खेलेको सम्झेँ, गाई चराएको
सम्झेँ । रविमा पढेको सम्झेँ । ग्राउण्ड खार्न थालेको सम्झेँ । फुलवारिको प्रतिस्पर्धा सम्झेँ । हिकुनम्बाको स्पोर्टस सम्झेँ । त्यति बेलाको दुर्गा मिडिल स्कूल सम्झेँ । मेरा सहपाठीहरू कमल राई, मनोज राई सम्झेँ । अगाडिको कक्षाका राजदूत नोवलकिशोर सम्झेँ । तिहारमा खेलेको देउसी सम्झेँ । थामडाँडामा खाएको वनभोज सम्झेँ । त्यस बेलाको वातावरणमा ऊर्जा दिने युवा दाइहरू कल्याण राई, सन्तकुमार, श्री साङपाङ सम्झेँ । मेरो दौँतरीहरू धेरै–धेरै सम्झेँ । यसरी म त्यस दिन चालिस वर्षभन्दा अगाडि फर्किएँ ।
त्यस बेलाको साह्रै पछाडिएको, त्यो रविमा अहिले हर्न बजाउँदै बस र ट्रकहरू कुदेको क्षणले मलाई निकै आनन्द दियो, तर जबसम्म आफू चढेको बस राँके बजार पुग्दैन तवसम्म बसबाट उत्रेर पैदलै हिँडूँ–हिँडूँ
भयो । बस, ट्रक चल्न योग्य सडक छैन । मान्छेका रहरले मात्र त्यहाँ जबरजस्ती बस गएको छ । ट्रक कुदेका छन् । रवि–राँकेका यात्रामा सबैले धेरै पटक आफूलाई सन्सारबाट बिदा लिन्छन् । पल्टिँदा–पल्टिँदै मुस्किलले बस थामिन्छ ।
पथ सात फुटे बस नौ गजको
सिट बीस भए भिड सौ तकको
भौरव अर्यालको व्यङ्ग्य, ठ्याक्कै साँच्चै जस्तो लाग्छ । दमक बजारबाट ५० कि.मी. मात्रै दूरी रहेको रवि बजारसम्मको सडक कसरी बन्छ त ? भनेर विचार गर्दा एक पटक सबै मन्त्रीहरूलाई एउटा बसमा राखेर रवि-राँके सडकमा ओहोरदोहोर गराउन पाए चाहिँ दमक-रवि सडक बन्थ्यो होला ! बीच बाटोमै पुग्दा उनले त्यो सडक निर्माण गर्ने प्रतिवद्धता जाहेर गर्थे होला ।
निष्कर्ष यस्तो हो– यस क्षेत्रमा यस सडकका लागि प्रभावकारी प्रयत्न कसैले गरेन । अनि त ? अहले पनि त्यहाँ पुगेको सम्भावना मुर्झाएर मात्र पुगेको छ । त्यस क्षेत्रका मान्छेका ओठमा अलिकति मुस्कान त पलाएको छ, नागीहरूमा चिया रोप्न सुरु भएको छ, डेरीहरूको स्थापना हुँदैछ र मिल्क प्रोडक्ट वस्तुहरूको उद्योग पनि जन्मदँछ, तर रविलाई दमकसँग जोड्ने पक्की सडकको अभावमा यी कुराहरू त केवल रहर मात्र रहेका छन् । मधुमल्लाबाट रवि जाने बाटो त आज पनि ३४० वर्ष अगाडिको जस्तै छ ।
यसरी म चालीस वर्ष अगाडिको स्मृति बोकेर रविबाट बिर्तामोड फर्किएँ ।
·