ढल्न लागेको रुख
वर्षौ देखि सुकेको यो रुख
अव धमिरा लागेर लड्न आँटेको छ
हाँगा जरा र काण्ड पनि मकाएर
अव वरि परि टेको लगाएर मात्र
अडेको छ
यो धराप छ-
यो जुन सुकै बेला पनि लड्न सक्छ ।
भो ! यसमा पानी नहाल
पानी यसले पिउँदैन
मल पनि नहाल
यसले तान्न सक्दैन
यसमा अव
वैशं भर्न खोजे पनि लड्न आँटेको छ
यौवन जड्न खोजे पनि लड्न आँटेको छ
कहाँ सर्छन् र ? यौवन र वैशंहरु
मान्छेले सारेर
कहाँ भगाउन सक्छ र ? मान्छेले
मृत्युलाई लखेटेर ।
ए ! मूर्ख मान्छेहरू
यो रुख लड्न आँटेको छ यसमा नचढ !
यो रुख अव लड्छ
यसलाई अव मोह नगर !
अव यसमा कुनै भर पनि छैन
अव यसको कुनै रहर पनि छैन
यो रुख सुकेको छ
केटाकेटी स्कूल गैरहदा पनि थिच्न सक्छ
गर्भवती महिलालाई पँधेरो जाँदा पनि
किच्न सक्छ
हिजो विवाह गरी सुहाग रात मनाउन
हिँडेका जोडीलाई पनि मिच्न सक्छ
भित्रै भित्रै मकाएको छ
यो रुख जति बेला पनि लड्न सक्छ ।
एउटा हुरी आइ दिए पनि
यो धराप लड्ने थियो
एउटा भूकम्प उठि दिए पनि
यो धराप ढल्ने थियो
अहिले सुनसान छ
निर्धाहरु किचिने थिएनन्
अहिले उजाड छ
फूलहरू थिचिन थिएनन्
रहर र वैशंहरु पिसिने थिएनन् ।
मलाई पनि रुख चढ्ने मोह छ
तर म मकाएको रुख चढ्दिन
मलाई पनि रुख चढ्ने रहर छ
तर म टेको लगाएर ठड्याएको रुख चढ्दिन
रुख त त्यस्तो होस्
जसले मान्छेलाई भर देओस्
पानी र हुरीमा ओत देओस्
रुख त त्यस्तो होस्
जसले मान्छेको मनभरि खुशी देओस् ।