हाम्रो हाँक

ए ! मेरो देशको इतिहास च्यात्न खोज्नेहरु हो !
नठान यहाँको इतिहास त्यत्ति सस्तो छ भनेर,
थुप्रै विभूतिहरूको रगतले लेखिएको छ
यहाँको इतिहास
थुप्रै तरुनी दिदीहरूको सुहाग पुछिएर
लेखिएको छ यहाँको इतिहास ।
अमरसिंह भीमसेनका जस्ता साहसहरू
दोहोरिँदैनन् यहाँ भनेर नठान
वलभद्र र उनका साथीहरू जन्मँदैनन् भनेर पनि नठान,
जन्मी सकेका वढ्दैछन् आँटिली आमाको दूध पिएर
जन्मेछन् भोलि पनि, छाती भरी नेपालको माया बोकेर
त्यसैले
नठान अव सुस्ता र महेशपुर
लुट्न सक्छौं भनेर
नठान दार्जेलिङ्ग, खरसाङ् र तराईका प्रान्त झैँ
अरू पनि नेपालका मुटु खोस्न सक्छौ भनेर ।
अव त सियो भर जमिनमा पनि
नेपालीलाई- माया लागि सकेको छ
सहने धैर्य पनि प्रत्येक नेपालीमा हराई सकेको छ
त्यसैले नजिस्क अव कुनै पनि नेपालीसँग
सुस्ता र महेशपुर खोस्न खोजेर ।
ठान्दैनौ हामी टिष्टा मात्र लिएर
नेपालले सन्तोष गर्ला भनेर
त्यति बेला भन्दैनौं हामी
सतलज र देहरादुन भारतका हुन् भनेर –
साथी नै ठानेका थियौँ हामीले तिमीलाई
त्यसैले छाडि दियौ सतलज र दार्जेलिङ्गका इलाकाहरू
हाम्रा दिदी वहिनीहरूको पोते चुँडाल्ने गरी पठाइ
रहेकै थियौ
नेपाली सपूत तिम्रै रक्षाको लागि पनि ।
अझै पनि हाम्रा सुत्केरी आमाहरूको
व्यथा निको भएको छैन
जसले, तिम्रो देशको सिपाही जन्माएका थिए
अझै पनि बाँचेका छन् हाम्रा दिदी वहिनीहरू
जो तिम्रो देशको सिपाहीको मृत्युमा विधवा भएका थिए
तर लाज लागेन तिमीहरूलाई
नेपालकै दलवलले सुस्ता र महेशपुर लुट्न खोज्दा
सम्झना आएन तिमिहरूलाई
नाला–पानी र खलंगाको इतिहास दोहरिन्छ भनेर !