भूमिका
भूमिका
पच्चीसवटा कविताहरुको सँगालो थियो आज भालेलाई वास्न निषेध छ (२०४८)मा । यो पल्टको यसपल्ट पनि वाली लागेन (२०५५)मा पनि यतिकै छेउछाउको संख्यामा कविताहरु छन् । जम्मा-जम्मी लीला उदासी नाउँका नेपाली कविले आफ्ना वर्गतले, क्षमताले दुई संग्रहमा ५० वटा जतिमात्र कविताहरु छापेर दिन सके नेपाली साहित्यलाई । पहिले पनि नेपालमा भाले वासेन, वास्न खोज्दा पनि वास्नै निषेध थियो । अहिले पनि नेपालमा खेती भए, तर वाली लागेन । लीला उदासी जस्तो सचेत कविले आफ्ना कवितामा भालेवासेको गुणगान गर्न सक्तैनन् र पुन: प्रजातन्त्रप्राप्तिपछि पनि नेपालमा राम्रो वाली लागेको छ भनी असत्य वोल्न सक्तैनन् । यो देशमा असत्य उराल्नेले नै स्वार्थसिद्ध गर्न सक्तछ । आज कैयौं छापामा उराला र फलाका छापिएका हुन्छन्, कैयौं नेताले भावनामा उराला उराल्छन् र फलाका फलाक्छन्-तर देशको खेतीमा वाली लाग्दैन । अकासवाट पानी परेको देखिए पनि यहाँको खेतीमा वित्यास परेको छ- वाली लाग्नै सक्तैन ।
कविको, त्यसमा पनि सम-सामयिक कविको, सचेत कविको भूमिका लेख्न हेर्दा सजिलो छ, लेख्तै छु-तर आई.ए.देखि एम.ए.सम्मका पठ्यक्रममा नपरेका लेखक र कविका रचनामा अरु गुदी नपाउलान् म भने तिनमा जटिलता देख्छु । नियाँ नपाएका लेखक-कविलाई नियाँ दिन ठूलै निष्पक्ष न्यायाधीशीय दृष्टि चाहिन्छ । मेरा विचारमा त लीला उदासी नेपाली वौद्धिक जगतको र साहित्यिक क्षेत्रको एउटा आफ्नै पाराको व्यक्तित्व हो । यो व्यक्तित्वका थोरै छन् कविता-२/४ वटा मात्र छन् नया र निकै संख्यामा न सही धेरै छन् लेख-निवन्ध- तिनको एउटा विशिषटपन छ- सरल । सरल भइकन सचेतनतालाई अँगाल्छन् ती रचनाले । वौद्धिक पनि छन्, तर जटिल छैनन् । कविता निवन्ध जस्ता छन् र निवन्ध कविता जस्ता छन् । लीला उदासी लगभग ३ दशकदेखि नेपाली राजनीतिमा छन्, साहित्यमा छन् र वौद्धिक क्षेत्रमा छन् । उनको योगदान झापाली आकाशबाट सूर्य भएर प्रज्ज्वलित छ । अधिवक्ता र कवि लीला उदासीलाई नेपालका धेरैले चिन्दछन् ।
मेरा त लीला उदासीले चेलो हुँ मानेका चेला । लगभग ३ दशकदेखि कक्षामा गुरु-चेलाको सम्वन्धदेखि सँगै छौं । प्रतिभाशाली चेलो मानेरै २०३० को साधना निवनध-संग्रहको भूमिका लेखक वनाएको मैले । सिद्धान्त नफेर्ने चेला उदासी । आदर्श, नीति, नियमका पक्का । राजनीतिमा हारे र सांसद भएनन् । सांसद हुने लोभ वोकेर कुदेका छैनन् । नपत्याउनेलाई म पत्याउन कर गर्दिनँ । घर साधारण, वसाइ साधारण, वोली साधारण, लेखाइ साधारण । म आफूलाई साधारण हुँ भन्ने ठान्छु- जव लीलाको साधारण असाधारण रुपमा देख्छु- छक्क पर्छु । यही मूल व्यक्तित्वबाट उनका रचना जन्मेका छन् ।
मातृविहीनताका कारणबाट पीडित उदासी सधैं शोषित-पीडितका पक्षमा र शोषक-उत्पीडकका विपक्षमा उभिएका छन् । महँगीका विरोधमा हुनु स्वभाविक हो भने संसद र सांसद का विडम्वनाका उनी विरुद्धमा छन् । द्रोणाचार्य उनका परम मित्र हुन् । उनले र लीलाले नै नेपाली कविता-साहित्यमा नेपाली भूमि मिचिएका सशक्त कविता लेखेका छन् । त्यस्ता देशवेचुवाका विरुद्धमा पनि उदासीले कविता लेखेका छन् । झापाका वाम-आन्दोलनको सशक्त नाम पनि हो -लीला उदासी । म त सदा समर्थक मात्र । म साछी छु यहाँका युवकहरुका त्याग-तपस्याहरुका । तव त लाली खण्डकाव्य अप्रकाशित मा मैले लेखें-
यहाँ लौहव्यक्तित्व राधा र चन्द्र
कवि द्रोण-लीला जहाँ वीर-धीर
पढेथे तिहीं थिन् यिनी ज्योति जस्ती
सवैमा परेथ्यो कुतन्त्रे कुदृष्टि
कवि हुन् उदासी । धीर छन् उदासी । अघि पनि उद्दण्ड भएनन् र अहिले पनि सिद्धान्त छाड्ने उद्दण्डता उनमा छैन ।
कवि लीलाका वारे शोध-खोज पनि भयो । २-४ जना समालोचकले कलम पनि चलाए- तर उनको सरल तर गहन चेतना भएको साहित्यिक पक्षको राम्ररी अध्ययन भएको छैन ।
कवि उदासीले आख्यानात्मकता भएका कविता धेरै लेखेका छन् नैं समालोचनात्मक कविता पनि छन् । सम-सामयिक विषयका वढी र केही देशप्रेमका कविता पनि लेखेका छन् । क्यान्सरवार्ड एउटा विशिष्ट त्रासदीमय कविता हो- जसमा कविको मानवीय सहानुभूति प्रखर रुपमा प्रकट भएको छ।
कवि उदासी छोटा पनि र अलिक मझौला खालका कविता लेख्छन् । छन्दोवद्ध कविता उनले लेखेनन् । वकिल भएकाले तार्किकता र भावुक भएकाले हार्दिकताका साथै सचेत भएकाले सचेतनता समेत भएकाले तार्किकता, हार्दिकता र सचेतनताको त्रिवेणी भएका छन् उनका कविता ।
मैले थालनीतिरै संकेत गरें- भूमिका कठिन कार्य हो । भूमिकाले लेखकको सम्पूर्णता उज्याल्न सकिन्न । यो सत्य हो । सत्य जे भए पनि यो भूमिकामा मेरो के राय छ भने लीला उदासीले आफ्नो क्षमता देखाउन निकै ढिलो गर्नुभएको छ- अव चाहिं यस्तो नहोस् भन्ने आशा गर्छु ।
– चूडामणि रेग्मी
चन्द्रगढी ।