लेख/रचना

● आमा

चेतना शून्य, अन्धकार र अनकन्टार रहेछ त्यति बेला फुएतप्पा । कुरा सुन्दा, शायद निमोनियाँ र डाइरिया भएको थियो, मेरी आमालाई । म ९ महिना र केही दिनको रहेछु । मेरी आमा बित्नु भए छ । दबाइको कुनै चक्की र झोल भेट्नु भएन छ । हुन्थ्यो, त्यस्तै नै । पाँचथरको आरुबोटेबाट बचपनमै विवाह गरेर मेरो बाले ल्याउनु भएकी मेरी आमाले फुएतप्पाको गृहस्थमा जीवन गुजार्नु भयो । हामी तीन छोरा र दुई छोरीलाई जन्म दिएर २००६ सालको चैत्रमा मेरी आमा यस लोकबाट बिदा हुनु भए छ । म १० महिना पनि नपुगेको चिचिलो रहे छु । यसरी शुरु भए छ, चेतना शून्य, अन्धकार र त्यस बेलाको अनकन्टार फुएतप्पामा मेरो जीवन । यसरी नै मेरी आमाको इह लीला पनि समाप्त भएको रहेछ । अरू बालकलाई आमाको माया ममता¸स्नेह जसरी बोध हुन्छ ¸मलाइ त्यसरी बोध भएन ।

मैले आमाका बारेमा केही लेख्न रहर गरेको छु । मलाइ सजिलो भै रहेको छैन । जसलाई मैले देखेको थिएन¸ जसको मैले माया बोध गरिन ¸जसलाई म सम्झन सकतिन र जसलाई जान्ने उचित सामाग्री भेटिँदैन । त्यति बेला फोटो खिचिने प्रविधि त्यस ठाउँमा भित्रिएको थिएन । फोटो छैन । मेरी आमा लाइ देखेको कुनै चित्रकार भै दिए म उसलाई अनुरोध गरेर एउटा चित्र बनाइ माग्ने थिएँ । त्यो पनि भएन । ठूली आमा ¸सानी आमाहरू र मामाहरूको अनुहार सम्झेर मैले आमाको अनुहारको अनुमान गरे । त्यो त फगत अनुमान रहयो कुनै टुङ्गो लागेन । त्यसता मान्छेका बारेमा लेख्न सजिलो हुँदैन तर मैले लेख्ने रहर गरेको छु । मलाइ नै थाहा छैन के लेख्छु ? मलाइ आमाको जन्म मिति ठीक थाहा छैन । मेरो अनुमानमा बि सं १९७० को आसपास हुनु पर्छ । बि सं २००६ सालमा लगभग ३५।३६ वर्षकी हुँदा बित्नु भएको हो । मेरो ठूलो दाजु टीका नाथ खनाल १९९० सालमा जन्मनु भएको थियो । आमा कति वर्षकी हुँदा विवाह भयो भन्ने बारे मलाइ ठीक जानकारी नभए पनि १० वर्षकै आसपासमा विवाह भएको हुनु पर्छ । त्यति बेला विवाह गरेर तीन वर्ष देखि पाँच वर्ष माइतमै छाड्ने चलन थियो । त्यस पछि मात्र मैतालु ल्याउने चलन थियो । त्यसै गरियो होला ।

आमा आरुबोटे बाझोगरामा जन्मनुभयो । त्यहाँ १४ , १५ वर्षसम्म बस्नुभयो र फुएतप्पामा आउनुभयो । ३५¸,३६ वर्षको उमेरमा बित्नु भयो । २०¸२२ बर्ष फुएतप्पामा बिताउनु भयो । कुरा त यति नै हो तर मैले यति भित्रबाट लेख्न खोजेको छु । लेख्ने कुरा पनि छैन । आमा माइतकी माइली छोरी , घरको जेठी बुहारी हुनुहुन्थ्यो । छोरीलाई माइतमा सहज हुन्छ । घरमा गाह्रो हुन्छ । अझ त्यो समयमा एउटी किशोरीलाई पर घरमा हुने असहजता अनुमान गर्न सकिन्छ । त्यो बेलाको फुएतप्पाको खनाल परिवारमा एउटी किशोरी मैतालुका रूपमा भित्रिँदा मेरी आमालाई पक्कै सहज थिएन । त्यो भन्दा सहजको अर्को बाटो पनि थिएन ।संयुक्त परिवार, जेठी बुहारी , त्यस बखतको प्रचलन , वास्तवमा महिलाहरू धन्य बाँच्थे । त्यस बेलाको महिला चेतना र विवाह गर्ने उमेर सम्झदा अत्यास लाग्दछ । हुन त भर खरै सम्म सती प्रथा चलेको समय थियो, त्यो समय । एक हिसाबले सम्झदा सती हुनु भन्दा कठोर थियो महिलाहरूको त्यो बेलाको जीवन । महिला अधिकारका चर्चा नचल्ने त्यो समयमा महिलाहरूमा के गुज्रेको थियो भनेर अहिले पनि कसैले सोचेका छैनन् । साथै महिला अधिकारका अभियन्ताले पनि इतिहास नियाल्न जाँगर चलाएका छैनन् । हो ¸महिलाहरु सती हुदा एकपटक मर्थे । सती हुनु भन्दा अगाडी पटक पटक मर्थे । त्यसरी जीवनमै पटक पटक मरेको कुराको त अहिले सम्म हिसाब नै छैन ।

त्यो समयमा फुएतप्पाकी जेठी बुहारी भनेको भालेको डाकमा उठ्ने , पानी भर्ने, दैलो अगेनो पोत्ने , भात भान्सा तयार गर्ने, केटाकेटी ठूला बडा सबैलाई खुवाउने , धन्दा सक्ने , राहुते नर्कटे तथा घर बारीतिरको मेलो भ्याउने, गाइ बस्तुलाई घाँसपात खोलेको बन्दोबस्त गर्ने र भकारा सोहोर्ने आदी हो । बेलुका पनि भात भान्सा र जुठो भाँडो सकेपछि ठूला मान्छेहरूलाई गोडामा चिल्लो लगाइ दिए पछि मात्र सुत्न पाउने समय आउने हो । अझै ढिकी जाँतो गर्ने जिम्मा पनि बुहारीको हो । संक्षेपमा भन्दा बुहारी भनेको त्यस घरकी गतिलो करिया हो । मेरी आमाले त्यस्तै करियाको जीवन बिताउनु भयो । त्यस समयका सबै आमाहरु त्यस्तै करिया हुन्थे ।आज पनि निम्न बर्गकाआमाहरुको अवस्थामा धेरै सुधार त भएको छैन । माता तिर्थे ‌औसीका दिन फेसबुकका वालमा फोटो राखेर बर्ष भरि आमाको बेवास्ता गर्ने प्रबृत्ति भने व्हात्तै बढेकोछ । आजको दिनले जीवित आमाहरुलाइ स्याहार संभार र सन्मान गर्ने प्रेरणा सबै सन्तानहरुलाइ प्राप्तहोस् ।

● वर्तमान झापाका निर्माता मध्येका -नरेशकुमार वर्मा

—–

नरेश कुमार बर्मा रहनु भएन । हामीसँग फगत वहाँको स्मृतिमात्र रहेको छ । वहाँले गर्नु भएका असल कामका स्मरणहरू हामी सँग रहेका छन् । त्यसो त अहिले असल काम र योजनाहरू झोक्राएर, छेउ लागेर‚ कुनामा बस्ने समय आएको छ ।  थाहा छैन, वहाँका असल  काम र योजनाहरू कसरी संरक्षित हुने हुन् ॽ आगामी पुस्ताले वहाँले समाजमा छाड्नु भएका असल कार्यहरूको सदुपयोग कसरी गर्ने ॽ त्यो आउने पुस्ताकै हातमा रहेको छ ।

म भने नरेश कुमार बर्मालाई गुमाउनु पर्दा अलिक बढि खाली भएको छु । मेरो व्यवसायको गुरु‚ संरक्षक र सधैँ मित्रवत् सम्बन्धबाट हामी बाँधिएका आदि कुराहरूको स्मरण गर्दा मेरो जीवनमा वहाँ जस्तै सम्बन्धका  अरू कोही मानिस मेरो स्मृतिमा तान्न सक्दिन । आधा शताब्दीको सम्बन्धका पानाहरू म फरफर पल्टाउँछु । जीवन बोध गर्छु ।  

द्रोणाचार्य क्षत्री र म परिचय लगत्तै गहिरो मित्रतामा पस्यौ । हामी भद्रपुरको नमुना स्कूलमा सँगै अध्यापन गर्थ्यौ ।  एक दिन द्रोणाचार्यजीले म सँग एक युवकको परिचय गराउँदै वहाँको नाम नरेश कुमार वर्मा भनेर चिनाउनु भयो  । नाम त मैले पहिले नै सुनेको थिएँ । पहिलो भेटमै म वहाँको भद्र र शालीन व्यक्तित्वबाट प्रभावित भएँ । साथै वहाँहरूको मित्रताको गुण र गम्भीरताले मलाइ लोभ्याइ रहयो । म वहाँहरूको मित्रतामा भित्रिँदै गएँ । दुवैसँग मौलाउँदै गएको मित्रतासँग मैले गर्व गरे । आज पनि गर्व गरेको छु । केही समय पछि द्रोणाचार्य क्षत्रीले परिचय गराउनु भएका नरेश कुमार वर्मा नै मेरो कानुन व्यवसायको गुरु हुनुभयो । वहाँको फर्ममा वकालत सिक्न पसेको म लामो समय सम्म एउटै ल फर्ममा बसेर कानुन व्यवसायमा रमायौ । पछि वहाँ व्यापार व्यवसायमा लागेर वकालतबाट लगभग निस्कनु भयो । मैले जीवनका ४० बर्ष वकालतमा बिताएँ । यसै पहिलो परिचय भएका दिनदेखि दुबैजाना सँग मैले मित्रवत् सम्बन्ध पाएँ र घनिष्ठता  पाएँ र मलाइ लागेको छ म यति हुनुमा वहाँहरू दुवैको ठूलो योगदान जोडिएको छ । त्यसैले गएको २०७३ चैत्र  १२ मा मैले नरेश कुमार वर्माको निधनको पहिलो सूचना जब पाएँ‚ झापामा मेरो लागि आकाश खसेको र धरती भास्सिएको जस्तै महसुस भयो ।

द्रोणाचार्यको निधन पश्चात् नरेशजी र मेरा फुर्सतका गफमा अधिकांश समयमा द्रोणाचार्य क्षत्री आउनु हुन्थ्यो । हामी घण्टौ वहाँका बारेमा कुरा गर्थ्यौ । हाम्रो निष्कर्ष रहन्थ्यो हामीले वहाँलाई जति बुझ्न सकेका थियौ अरू कमैले त्यति बुझेका थिए र वहाँको पूर्ण क्षमता व्यक्त हुन नपाइ वहाँ बित्नु भयो। हाम्रो यस्तै निष्कर्ष थियो ।

अब त नरेश कुमार बर्मा पनि यस धरतीमा रहनु भएन  । अब म एक्लै भएको छु । द्रोणाचार्य क्षत्री र नरेश कुमार बर्माले समाज र मुलुकका लागि दिनु भएको योगदानका बारेमा म एक्लै स्मरण गरी रहेछु । यो स्मृतिको कुनै निकास निस्कँदैन ।

नरेश कुमार बर्मा झापाको पहिलो अधिवक्ता हुनुहुन्थ्यो । झापामा वहाँ भन्दा पहिला वाचस्पति निरौला‚ शारदा प्रसाद उपाध्याय‚ जगन्नाथ उपाध्याय लगायत केही अभिवक्ता र अभिकर्ताहरू कानुन व्यवसायमा कार्यरत हुनुहुन्थ्यो । त्यसो त स्वयं नरेश कुमार वर्माका पिता गंगा प्रसाद खत्रीले पनि निवृत्त जीवन झापामा कानुन व्यवसायीका रूपमा बिताउनु भएको रहेछ । वहाँका सहोदर दाजु गोपाल प्रसाद खत्री सर्वोच्च अदालतको न्यायाधीश बनेर हाल निवृत्त जीवन बिताइ रहनु भएको छ । झापाको भद्रपुर र काठमाण्डौको थलीमा बसोबास भएका वहाँले झापामा कानुन व्यवसायलाई निरन्तरता दिएर  झापाली समाजमा आधुनिक वकालतको जग स्थापना गर्नु भयो र यसको विकासका लागि यथेष्ट योगदान पुर्‍याउनु भयो ।

बचपनबाटै कृष्ण प्रसाद घिमिरे सँग पारिवारिक रूपमा घुलमिल हुनु भएका  वहाँलाई घिमिरेले नै कानुन व्यवसायी बनाएको वहाँ बताउनु हुन्थ्यो । आइ एस्सी, बि कम र बी एलको पढाइ पूरा गरेर अधिवक्ता र अडिटरको प्रमाणपत्र लिनु भयो । तै पनि सरकारी सेवामा प्रवेश गर्ने सोचबाट पूर्ण मुक्त हुन सक्नु भएको थिएन । एक दिन  शाखा अधिकृतको परीक्षा दिन लोकसेवा आयोगको फर्म किनेर आउँदै  गर्दा बाटामा भेटेर कृष्ण प्रसाद घिमिरेले फर्म मागेर च्याती दिनु भयो र  भोलिपल्टैबाट आफ्नो फर्ममा आएर काम गर्ने र शाखा अधिकृतले पाउने तलवको दोव्वर पारिश्रमिक दिने भन्नु भए छ । त्यहाँबाट शुरु भएको नरेशजीको कानुन व्यवसाय झापा सर्‍यो । झापामा लामो समय अदालतमा सेवा गरेर निवृत्त हुनु भएका तथा तत्काल अभिवक्ताको प्रमाणपत्र प्राप्त गर्नु भएका जगन्नाथ उपाध्याय सँग मिलेर वहाँले ल फर्म शुरु गर्नु भएको थियो । त्यस बेला वहाँसँग अडिटरको प्रमाणपत्र पनि भएकोले केही काम पनि गर्नु भएको थियो तर त्यो व्यवसायमा वहाँ रमाउनु भएन । कानुन व्यवसायले नै वहाँलाई तानी रहयो ।

ऐन कानुनको पर्याप्त ज्ञान, तर्क क्षमता, आकर्षण बहस कला, मस्यौदा कलामा विज्ञ, पक्षको समस्या बुझेर  उपयुक्त कानुनी परामर्श दिने क्षमता, कठोर अध्ययन र मिहेनत आदि कुराहरू एउटा सफल कानुन व्यवसायीमा हुनु पर्ने गुणहरू हुन् । नरेश कुमार बर्मामा यी सारा गुण र क्षमता थिए । अझ वहाँको तर्क क्षमता र बहस कलाबाट जो कोही प्रभावित हुन्थे । यस्तै यस्ता गुणहरूबाट वहाँले वकालतको सगरमाथा टेक्न बेर लागेन । मानिसहरू वहाँको तर्क र बहस सुन्न लालयित हुन्थे ।  चर्चित मुद्दाहरूमा त वहाँको बहस सुन्न स्थानीय बौद्‍धिक समुदायको अदालतमा भिड लाग्थ्यो । चाँडै नै अर्को पक्षले वहाँलाई कानुन व्यवसायी रोज्न नपाएकोमा खिन्न महसुस गर्न लागेको थियो ।

यता नरेश कुमार बर्मा झापामा ल फर्म खोल्दै हुनुहुन्थ्यो उता झापाको मेची कलेजमा अध्यनरत तथा त्यस ताका मेची कलेज विद्यार्थी युनियनका सभापति  सी पी मैनाली अनारमुनि हाइ स्कूलमा विद्यार्थी युनियन खोल्दै हुनुहुन्थ्यो । प्रशासनलाई स्कूल स्कूलमा युनियन खोलिएको सह्य भएन ।  सी पी लाइ पक्राउ गरेर मुद्दा अदालतमा पेश भयो । शायद नरेश कुमार बर्माले झापामा पहिलो मुद्दा सी पी मैनालीको मुद्दामा बहस गर्नु भयो । यो समय २०२७ सालको अन्त तिरको हो । २०२८ , २०२९ सालमा नेपालको राजनीतिमा नै महत्वपूर्ण प्रभाव दिने घटनाका रूपमा रहेको झापा काण्ड घट्यो । त्यो काण्डमा सयौ मानिसहरू पक्राउ परे । उनका विरुद्धमा लागेको ज्यान लगायत अन्य मुद्दा पहिला जिल्ला अदालत र पछि विशेष अदालतमा चल्यो । ती मुद्दाहरूमा नरेश कुमार बर्माले बहस गर्नु भयो । धेरैका मुद्दा निःशुल्क लड्नुभयो । त्यति बेला झापा काण्डको अभियोगमा पक्राउ परेकाहरुको पक्षमा  मुद्दा लड्न सजिलो थिएन । नरेश कुमार बर्माले ती मुद्दा लडेको सुन्दा धेरैले जिभ्रो निकाल्थे ।

कानुन व्यवसायीको शुल्क तिर्न नसकेर अन्याय खप्नु पर्ने अवस्था भयो भने आफ्नो भूमिका शून्य रहन्छ भन्ने कुरा नरेश कुमार बर्मा सोच्नुहुन्थ्यो । वहाँ सामान्य शुल्क धेरै सेवा भन्ने मान्यतामा हुनुहुन्थ्यो । अदालतमा अहिले जस्तो वैतनिकको व्यवस्था थिएन । वारमा कानुनी सहायता समिति थिएन । जेलमा रहेका र अन्य असहायलाई मद्दत गर्ने संस्थाहरू थिएनन् । झापामा आर्थिक अभावका कारण कानुनी सेवा नपाएका व्यक्तिहरूलाई नरेश कुमार बर्माले व्यक्तिगत रूपमा सेवा दिने  कार्यको थालनी गर्नुभयो । पछि आउने कानुन व्यवसायीहरूले पनि यो कार्यलाई निरन्तरता दिए । पछिल्लो चरणमा यो कार्य संस्थागत भएको छ । त्यसैले पनि असहाय र बन्दीहरूले कानुन व्यवसायीको सेवा पाउन झापामा सहज वातावरण बन्यो ।

नरेश कुमार बर्माले वकालत थाल्नु भएका बेलामा अदालत सर्वोच्च, अञ्चल र जिल्ला गरेर तीन तहमा थियो । सुरुमा झापामा फर्म राखेर वहाँ मेची अञ्चल अदालतमा पनि जानु हुन्थ्यो । २०३१ सालमा क्षेत्रीय अदालत थपिएर अदालतका तह चार भए । पूर्वाञ्चलका लागि क्षेत्रीय अदालत धनकुटामा रहयो । क्षेत्रीय अदालतको गरीमा र महत्व ठूलो थियो । त्यसैले नरेश कुमार बर्माले क्षेत्रीय अदालत धनकुटामा बढी ध्यान दिनु भयो । त्यति बेला झापाबाट धनकुटा जान सजिलो थिएन । धरानको फुस्रेबाट दिनभरि पैदल हिँडेर धनकुटा पुगिन्थ्यो । उकालो ओरालो बाटो धेरै बिकटको थियो । केही समय पछि नै विराटनगरका  नारायण राज खरेल, राजविराजका रमा प्रसाद सिंह, धनकुटाका नगेन्द्र भक्त श्रेष्ठसँग मिलेर धनकुटामा पूर्वाञ्चल ल फर्म खोलेर २ महिनामा १५ दिन धनकुटा र बाँकी आफ्नो जिल्लामा बस्न लाग्नु भयो । यसबाट पूर्वाञ्चलका १६ जिल्लामा बिस्तार हुन तथा सेवा पुर्‍याउन अनुकूल अवसर मिल्यो । यो लेखकले २०३३ साल देखि नरेश कुमार बर्माको सहयोगी कानुन व्यवसायीका रूपमा यो कार्यतालिकामा सहभागी हुने मौका पायो । क्षेत्रीय अदालतमा उपस्थित हुने क्रम २०४७ साल सम्म रहयो ।  नेपाल अधिराज्यको संविधान २०४७ जारी भए पछि क्षेत्रीय अदालत हटेर पुनरावेदन अदालत हुन गयो र यसको मुकाम पनि विराटनगर तोकियो । त्यस पश्चात् अन्य व्यवसायको व्यस्तताका कारण वहाँ वकालतमा कम उपस्थित रहन थाल्नु भयो ।

नरेश कुमार वर्माको कानुन व्यवसायी व्यक्तित्वलाई धनकुटाले निक्खर बनायो । त्यो अवधिका क्षेत्रीय अदालतका  माननीय न्यायाधीशहरू सबैले नरेश कुमार बर्माको बहस कला‚ तर्क क्षमता‚ कानुनको ज्ञान र व्याख्या तथा मसौदा कलाको खुलेर प्रशंसा गर्थे ।  धनकुटाको वकालतले नै वहाँको वकालतका क्षेत्रको राष्ट्रिय व्यक्तित्व निर्माण भयो । तत्कालका कानुन व्यवसायीहरूका भेला‚ सभा‚ सम्मेलन वहाँले सकृय सहभागी भएर व्यवसायको उन्नतिका लागि धेरै महत्वपूर्ण योगदान पुर्‍याउनु भएको छ । २०४८ सालमा नेपालमा पहिलो पटक कानुन व्यवसायी परिषद् गठन भएको थियो । मोतीकाजी स्थापितको नेतृत्वमा  वहाँले त्यसको सदस्य बनेर पनि कानुन व्यवसायको विकासमा योगदान पुर्‍याउनु भएको छ ।

नेपालको कानुनी क्षेत्रका केही दिग्गज व्यक्तिहरू वहाँको क्षमतालाई राम्ररी बुझ्थे । ती मध्ये धेरै सँग वहाँको सुमधुर सम्बन्ध थियो । कृष्ण प्रसाद घिमिरेलाई वहाँ संरक्षककै रूपमा मान्नुहुन्थ्यो । विश्वनाथ उपाध्याय नरेश कुमार बर्माको मुक्त कण्ठले प्रशंसा गर्नु हुन्थ्यो । झापाका पुराना पत्रकार श्यामकृष्ण उपाध्याय विश्वनाथ उपाध्यायका मामा हुनुहुन्थ्यो । शयामकृष्ण रहुञ्जेल विश्वनाथ बाक्लै झापा जानु हुन्थ्यो । झापा पुगेपछि वहाँ नरेश कुमार बर्माको खोजी गर्नु हुन्थ्यो । फुर्सतमा वहाँहरूका घण्टौ कुरा चल्थे । धेरै पटक यस लेखकले पनि वहाँहरूसँगै बसेर कुरा सुन्ने अवसर पाएको छ । मुलुकको न्याय व्यवस्थाकै बारेमा वहाँहरूका कुरा केन्द्रित हुन्थे । शंभुप्रसाद ज्ञवाली‚ कृष्णप्रसाद पन्त‚ कृष्णप्रसाद भण्डारी¸गणेशराज शर्मा‚ कुसुम श्रेष्ठ‚ सर्वज्ञ रत्न तुलाधर जस्ता पुराना व्यक्तिहरू नरेश कुमार बर्माको मुक्त कण्ठले प्रशंसा गर्थे । मुलुकभरिका अग्रज‚ समकालीन‚ कनिष्ठ सबै कानुन व्यवसायी सँग वहाँको घनिष्ठ सम्बन्ध थियो । वहाँ कानुन व्यवसायीहरूका आकर्षणका केन्द्र हुनुहुन्थ्यो । पछिल्लो समयमा कानुन व्यवसायी पेसा छाडेर अन्य पेसामा लाग्दा समेत वहाँ झापामा कानुन व्यवसायीका कानुन व्यवसायीका रूपमा रहनु भएको थियो । झापामा कानुनी प्रश्न अलिक जटिल रहेको मुद्दामा नरेश कुमार वर्माको परामर्श अन्तिम मानिन्थ्यो । झापामा नरेश कुमार वर्मा‚ कृष्ण सिटौला‚ लीला प्रसाद सापकोटा‚ यो लेखक लगायत कानुन व्यवसायमा सकृय रहेका बेलामा वहाँलाई कमान्डर भनिन्थ्यो । कानुन व्यवसायीहरूका बीचमा वहाँ कमान्डर नै हुनुहुन्थ्यो ।

नरेश कुमार बर्मालाई केही प्रस्तावहरू आए ती प्रस्ताव वहाँले स्विकार्नु भएन । वारबाट बेन्चमा सर्ने मान्यता राख्नु भएन तथा सहमत हुनु भएन भने  झापामा प्रतिनिधि सभाका सदस्य द्रोणाचार्य क्षत्रीको निधन पश्चात् २०५० सालमा भएको उपचुनावमा सांसदको टिकट स्वीकार गर्नु भएन । वहाँले त्यो टिकट स्वीकार नगर्नू भएपछि यस लेखकले त्यो चुनावमा उमेदवार हुनु परेको थियो । वहाँ पार्टीको सदस्य कहिल्यै रहनु भएन । तर प्रजातान्त्रिक हक अधिकारका लागि वहाँ सधैँ सजग हुनुहुन्थ्यो । २०३६ सालको जनमत सङ्ग्रह र २०४६ सालको जन आन्दोलनमा वहाँको सकृय सहभागिता र नेतृत्व थियो ।  २०३६ सालमा झापामा वहाँको अध्यक्षतामा देशभक्त तथा प्रगतिशील समूह गठन भएको थियो र त्यसले झापा जिल्ला भरी बहुदलको प्रचार प्रसारको अभियान चलाएको थियो ।

कानुन व्यवसायमात्र हैन ,  झापामा अनेकन् सामाजिक क्षेत्रमा नरेश कुमार बर्माले अगुवाइ गर्नु भएको छ । अनेक संस्थाहरूमा वहाँका सिर्जनात्मक सोचका बेर्नाहरू हुर्कदैछन् । झापा जिल्लामा नरेश कुमार बर्माले छापेका इट्टाहरू प्रशस्त छन् । जो नाङ्गो आँखाले मात्र देखिँदैन । परोक्ष रूपमा नरेश कुमार बर्माको योगदान धेरै छ । वर्तमान झापाका निर्माता मध्येका भनेर नरेश कुमार बर्मालाई मान्नु पर्छ ।

● गणेश बहादुर प्रसाईको स्मृतिमा

गणेश बहादुर प्रसाईको निधनको समाचारले मलाइ विदेशको भूमिमा स्तब्ध बनायो । म अमेरिकाको क्यालिफोर्नियामा थिएँ । मेरा मित्र गोपाल कुमार बस्नेतले वहाँको फेसबूकमा यो दुःखद समाचार स्टाटसमा लेख्नुभएको थियो । त्यस बखत मेरो मानस पटमा धेरै कुरा आए ।  गणेश बहादुर प्रसाईको नाम सुनेको, चिनेको देखीको समय र अन्तिम पटक भेट भए सम्मका  समयका अनेक घटनाहरू मेरो स्मृतिमा आए । मलाइ नै  थाहा छैन, किन हो ? यो मृत्युको समाचारले मलाइ अलिक बढि नै सतायो । मेरा केही इच्छाहरू पूरा भएनन् । अधुरो रहे । केही कुराहरू मनमै रहे । केही प्रश्न र कौतूहलहरू यथावत् रहे । मैले सम्झेँ – साहित्यमा, राजनीतिको विश्लेषणमा, समाज विकाशका लागि गम्भीर चिन्तनमा मुलुकमा एउटा ठूलो खाडल बनेको छ । गणेश बहादुर प्रसाईबाट पूरा हुने त्यो स्थान अब अरूबाट पूरा हुन गाह्रो छ । गणेश बहादुर प्रसाईलाई मैले अनेक क्षमता भएका एक व्यक्तिका रूपमा पाएको थिएँ । अब यो इतिहास बनेको छ र मेरा लागि अब गणेश बहादुर प्रसाई फगत स्मृतिमा मात्र सजिनु भएको छ ।

२०७१ सालको वैशाख मध्यतिर एक दिन गोपाल कुमार बस्नेतले फोन गरेर मलाइ बिर्ता सिटी अस्पतालमा एउटा कार्यक्रममा निम्तो दिनु भयो । अस्पतालको कार्य थालनी भएको सन्दर्भमा आयोजित त्यो चियापान कार्यक्रममा म अलिकति ढिलोगरी पुगे । धेरै मानिस थिए । एक छेउमा टुंग बहादुर बस्नेत र गणेश बहादुर प्रसाई बस्नु भएको थियो । मेरो आकर्षणका केन्द्र वहाँहरू नै हुनुभयो । अलिक पर रहेको एउटा कुर्सी तानेर म पनि त्यहाँ मिसिएँ । दुवै पाका मानिसहरूका कुरा सुनि रहेँ । धेरै त गणेश बहादुर बोल्नु हुन्थ्यो । वहाँका विश्लेषण व्याख्या सुनी रहन म लोभिन्थे । दर्शन , विज्ञान, इतिहासका विषय मिलाएर कुरा गर्ने वहाँको शीप र कला मलाइ अद्भुत लाग्थ्यो । वहाँले वर्तमान राजनीतिका विकृत कुराहरूको सटीक विश्लेषण गर्नु भयो । मेरा केही कौतूहलहरूको सरल तरिकाले जबाफ दिनु भयो ।  आफू दार्जिलिङमा विद्यार्थी रहदा महिलाहरूका विरुद्धमा हुने कारबाहीहरू बताउनु भयो । महिलालाई बदनाम गर्न घिसार्न लगाउने र  घरका न घाटका बनाउने सामाजिक प्रचलन रहेको चर्चा गर्दै अहिले पनि महिलाका विरुद्ध समाजमा धेरै खराब प्रथा कायम रहेको वहाँको मत रह्यो । उदाहरणमा छाउपडी प्रथा कायम रहेको बताउनुभयो ।  एउटी अबोध नानीलाई रजस्वला हुँदा घरमा बस्न नदिने हामी क्रूर बाबु आमा लोकतान्त्रिक भएको स्वाङ गर्छौ भन्ने वहाँको मत थियो । वहाँका तर्कले म रन्थनिएँ । त्यस दिन मलाइ एउटा लोभले सतायो । मलाइ अलिक फुर्सत भएका क्षणहरूमा वहाँ सँग लामा कुरा गरौ र तिनलाई रेकर्ड पनि गरौं । तर त्यो दिन आएन । जीवनमा मेरो इच्छा अधूरो रहयो । त्यसको केही दिनमै म अमेरिकाको निजी यात्रामा निस्केँ र मैले त्यही वहाँको निधनको समाचार सुनेँ । बिर्ता सिटी हस्पिटलमा म वहाँसँग बिदा भएको थिए । उपचारार्थ भर्ना भएका बेलामा त्यही वहाँको निधन भएछ ।       

पहिलोपल्ट २०१९ साल तिर मैले गणेश बहादुर प्रसाईको नाम सुनेको थिएँ । त्यस समयमा मैले केही दिन पढेको त्रि मोहन हाइ स्कूलको वहाँ पूर्व शिक्षक भै सक्नुभएको थियो । २०१५ सालको आम चुनाव लडी सक्नु भएको थियो । २००७ साल अगाडी नै वहाँले राजनीतिमा सकृय भएर जेल नेल भोगी सक्नु भएको थियो । पूर्वमा पक्राउ परेर अड्डासार हुँदै काठमाण्डौका जेल बसी सक्नुभएको थियो । झापामा कम्युनिस्ट पार्टी स्थापना गरेर यसको सचिव भै सक्नु भएको थियो र झापामा चलेको खमार बन्द आन्दोलनको नेतृत्व गरि सक्नु भएको थियो ।  वहाँका बारेका यी मध्ये केही कुरा मैले २०१९ सालमा सुनेको थिए र रोमाञ्चित भएको थिएँ । त्यसपछि संखुवासभा‚ पोखरी‚ इलाम र शनिश्चरेमा शिक्षक हुनुभएको कुरा पनि जानकारीमा लिएको थिएँ ।

“मुर्कट्टाको देश र मेरो देशको वाक स्वतन्त्रता “ भन्ने वहाँको लेख २०२५ तिर झापाबाट प्रकाशन भएको पञ्चामृत पत्रिकाले छापेको छ । संयोगले म पनि केही पछि त्यो पत्रिकाको सम्पादक बने । वहाँको त्यो लेख मैले धेरै पल्ट पढे । त्यो लेखबाट नै मैले गणेश बहादुर प्रसाईका लेख रचनाहरू नछोडी पढ्न थालेँ । वहाँका साहित्यिक र राजनीतिक दुवै खाले रचनाहरू मेरो चाख र तुष्टिका विषय रहन्थे । साहित्यमा वहाँ गम्भीर लाग्नु हुन्थ्यो । वहाँका राजनीतिका बारेमा लेखिएका विचारोत्तेजक लेखहरूले समाज र राजनीतिक वृत्तमा हलचल पैदा गर्थे । वहाँको कलम माझिएको, परिमार्जित  थियो र स्पष्ट र निर्भीक बिचारको अभिव्यक्ति वहाँको विशेषता थियो ।

वहाँ आफूलाई लागेको कुरामा दृढताका साथ लाग्नु हुन्थ्यो । मुलुकको गुम्सिएको अवस्था प्रति वहाँ असन्तुष्ट हुनुहुन्थ्यो  । त्यसैले २८ / २९ सालतिर मुलुकबाट निर्वासित हुनुभयो । त्यति बेला बी पी कोइराला भारतमा निर्वासित हुनुहुन्थ्यो । वहाँ बी पी कोइरालासँग रहनुभयो । नेपाली काङ्ग्रेसले त्यस बेला सशस्त्र सङ्घर्ष चलाएको थियो । आफूलाई लागेको कुरामा अडिग रहेर अगाडी बढ्ने वहाँको स्वभाव थियो । बी पी कोइराला सँगको सह यात्रा धेरै दिन टिकेन ।  वहाँ नेपाल फर्कनुभयो । बि पी पनि २०३३ सालमा मेलमिलापको नीति लिएर नेपाल फर्कनु भयो ।  

२०३६ सालमा भएको बहुदल निर्दलको अभियानमा वहाँ सुधारिएको पञ्चायतको पक्षमा लाग्नु भयो । निर्दल पक्षधरले वहाँबाट बौद्धिक सहयोग पायो । वहाँले बहुदलको विरुद्ध र निर्दलको पक्षमा झापाबाट प्रकाशन हुने विवेचनामा  धेरै लेख लेख्नु भएको छ । तै पनि वहाँ पुराना पञ्चको जस्तो बिचार राख्नु हुँदैनथ्यो‚ तर जब सुधारिएको पञ्चायतले विजय हासिल गर्‍यो वहाँले जीत महसुस गर्न सक्नु भएन । पञ्चायतका बारेमा आलोचनात्मक रहनु भयो ।

साहित्यका समीक्षा र निबन्ध विधामा वहाँको दखल थियो । वहाँका ‘दीर्घ प्रतीक्षा’ र ‘त्यो धनकुटा’ जस्ता निबन्ध छन् भने “सुवानन्ददेखि राजीवलोचनसम्म“, ‘नेपाली साहित्यमा स्वच्छन्दतावादी काव्य धारा’ र माध्यामिक कालीन काव्य साहित्यको विवेचना जस्ता समीक्षा रहेका छन् ।  पछि वहाँले प्रज्ञा प्रतिष्ठानमा धेरै समय बिताउनु भयो । धुलाबारीको त्रिफला पुस्तकालयको प्रवर्धनमा वहाँको ठूलो योगदान रहेको छ ।

हो‚ अब गणेश बहादुर प्रसाई हामीसँग हुनुहुन्न । वहाँ हाम्रो स्मृतिमा मात्र हुनुहुन्छ । वहाँ इतिहास भै सक्नुभयो । वहाँका विभिन्न काल खण्डका संलग्नता ‚ दृष्टिकोण र अभिव्यक्ति तानेर मानिसहरू वहाँको समर्थन र विरोध गर्छन् । मलाइ लाग्छ ‚ त्यो वहाँका हकमा जरुरी छैन । संसारका सबै मान्छे अरूले चाहे जस्तै हुँदैनन् । त्यसमा पनि वहाँको छुट्टै विशेषता थियो । त्यो मौलिक थियो । वहाँको स्वाभिमानलाई कसैले निहुराउने कल्पना नगरे हुन्थ्यो । वहाँ विद्वतामा रमाउन मन गर्नु हुन्थ्यो । वहाँ विद्वान् हुनुहुन्थ्यो ।

● श्रद्धाञ्जली कर्मयोगी डा हृषिकेश उपाध्यायलाइ !

  डा हृषिकेश उपाध्यायले मेरो हातमा च्याप्प समाउनुभयो । कसैगरी भन्नुभयो–”जीवन यस्तै हो, आफु पनि कहिले सम्मलाइ हो ?” मँ सँग कुनै प्रश्न गर्नसक्ने क्षमता थिएन । हामी माइमा अलिक अगाडी पुगेर पर्खेका थियौ । उहाँकी पत्नीको अघिल्लो सोँझ भद्रपुरमा देहान्त भएको थियो । हामी शब पुर्‍याउनु अगाडी नै त्यहाँ पुगेकाथियौ । यसपछि  उहाँको छेउमा पर्ने हिम्मत मँ सँग रहेन । यस्तो बेलामा मलाइ अलिक गाह्रो पर्छ । मैले उहाँलाइ अलिक परैबाट धेरेपल्ट पढे । एउटा लामो इतिहास अनुभुत गरे । त्यो नै मेरो उहासँगको अन्तिम भेट रह्यो । माइ खोलाको डिलमा उभिएर उहाँ जीवनको परिभाषा भन्दै हुनुहुन्थ्यो , छेउमै जल्दै गरेको पत्नीको चित्ता हेरेर । त्यस्ता क्षणमा मलाइ लाग्छ , धन्य सक्छन् मान्छेहरु सामना गर्न ! सामना गर्न नसकेर पनि के उपाय छ र ! आज पनि मँ त्यसैदिनका हृषिकेशलाइ सम्झीरहेछु ।

आज त हृषिकेश आफै हुनुहुन्न । यस धरतीमा असी बर्षसम्म कृयाकलापहरु गरेर उहाँ आर्यघाटमा  खरानी बनेर बाग्मतीमा बगीसक्नु भएकोछ र त्यहीको आकाशमा धुवाँ बनेर बिलाइसक्नु भएकोछ । अब त हामीसँग फगत स्मृतिहरु रहेकाछन् । हृषिकेश अब आफ्ना सेवा र कार्यहरुमा, साहित्यका कृतिहरुमा, उहाँको उपचारले जीवन पाएका रोगीहरुको मनमा, मित्रजनहरुको मस्तिष्कमा र आफन्तजनको मायामा मात्र रहनु हुनेभएकोछ । उहाँसँग सँगतगर्ने हामी बितेर गए पनि, उहाँका कार्यहरुले ती कार्यहरुको प्रभाव रहेसम्म उहालाइ बचाइरहनेछन् ।

अहिले म सम्झदैछु । आज भन्दा ४३ बर्ष अगाडी, एक साँझ म सानो समस्यामा चिकित्सक खोज्दै हिड्दा भद्रपुरको जनता चोकको केही पश्चिममा रहेको सगरमाथा औषधी पसलमा पुगे । त्यहाँ आफ्नो समस्या बताएर केही औषधी लिएर हिडेपनि त्यहाँ भेटिएका चिकित्सकको बोली ब्यबहारले मलाइ एकप्रकारको आकर्षण गर्‍यो । तैपनि मैले उहाँको नाम र अरु बिबरण हेक्कामा लिइनँ । त्यसताका मँ शिबगँञ्जको चन्द्रडाँगीमा एउटा प्रथमिक स्कूलको शिक्षक थिएँ ।  भद्रपुर सरेपछि एकदिन द्रोणाचार्य क्षत्रीले मलाइ डा हृषिकेशको घर भद्रपुरमा लिएर जानुभयो र साहित्यमा रुचीभएको, कविता कथा लेख्ने मान्छे भनेर चिनाउनुभयो । त्यो क्षण मेरा लागि निकै रोमाञ्चक रह्यो । मैले  सगरमाथा औषधी पसलमा भेटेका चिकित्सक नै डा हृषिकेश हुनुहुदो रहेछ र मैले साहित्यमा नाम जानेकै मान्छे उहाँ हुनुहुदो रहेछ । अर्को कुरा त्यस दिनदेखि उहाँले मलाइ जसरी मित्रवत ब्यबहार गर्नुभयो त्यस्ले पनि मलाइ धेरै उर्जा दियो । अझ म उहाँको घर छेउ भद्रपुरमा डेरा गरेर बस्न थालेपछि हाम्रो भेटघाट धेरै बाक्लियो र हामी समसामयीक राजनिती र साहित्यका बारेमा निकै छलफदल गर्न थाल्यौ । यो भेटघाट र छलफलले मलाइ धेरै सिकायो । अझ मेरा गुरु साहित्कार चूडामणि रेग्मी पनि त्यसबेला उहाँकै घरमा डेरा गरेर बस्नुहुन्थ्यो । मैले  ” भद्रपुर मेरो पाठशाला “–भन्ने लेखमा लेखेकोछु –” डा हृषिकेश उपाध्यायको घर पनि मेरो प्रशिक्षण केन्द्र हो “– भनेर । वास्तवमा डा हृषिकेश उपाध्याय, चूडामणि रेग्मी, द्रोणाचार्य क्षत्रीहरुको एकप्रकारको मित्रता रहेछ र त्यो मण्डलीमा म पनि समाबेश हुन पाएँ । मैले मेरो व्यबहारिक शिक्षालाइ त्यहाँबाट उन्नत गर्न पाएँ । त्यसो त त्यसबेला झापाकै बौद्धिकहरुको अगुवाका रुपमा हृषिकेशलाइ सबैले मान्दथे । व्यबहारले नै उहाँ सर्वसाधारणको, पहूच र क्षमता नभएकाहरुको सहयोगी र मित्रका रुपमा प्रस्तुत हुनुहुन्थ्यो । रामेश्वरप्रसाद अधिकारी, मोहनराज शर्मा, घनश्याम खनालजस्ता व्यक्तित्वहरुसँग उहाँ अन्तरङ्ग हुनुहुन्थ्यो ।

अहिले मेरो स्मृतिमा उहाँसँगको अनेक प्रसँग फनफनी घुमिरहेछ । हाम्रो निकट्ताले पारिविरक प्रसँगमा पनि प्रबेश पायो । उहाँकी जेठी छोरीको विवाहको व्यवस्थापनमा म राजस्थानको बनस्थलीसम्म पनि पुगेको छु र उहाँका कान्छा छोरा अखिलेश उपाध्याय ( अहिले काठमाण्डू पोष्टका सम्पादक ) तत्काल भानुभक्त मेमोरियल स्कूल पानीपोखरीमा अध्यन गर्दाका अवस्थामा केहीदिन लोकल गार्जियन पनि बनेकोछु । अझ म मखनमा, भोटेबहालमा डेरा गरेर बस्ता उहाँले कतिपटक मेरै डेरामा बस्ने खाने पनि गर्नुभएकोछ र त्यसबेलाके मेरा आर्थिक रुपले सङ्कटका दिनमा परोक्ष रुपले अर्थपूर्ण सहयोग गर्नुभएकोछ ।

म २०३३ साल देखि कानुन व्यवसायी बनेर झापा आएँ । उहाँ सँगको सम्बन्धलाइ मैले अरु नजिक बनाउने मौका पाएँ । हामी भेटघाटमा खुलेर मनका कुरा गर्दथ्यौ । २०५० सालमा द्रोणाचार्य क्षत्रीको निधन भएपछि खालि भएको त्यतिबेलाको झापा क्षेत्र न १ को उपचुनावमा मँ एमालेका तर्फबाट उमेद्वार भएकोथिएँ । उर्हाँ पनि उहाँको पार्टीका तर्फबाट उम्मेद्वार बन्नुभएको थियो । एकदिन फोनमा मलाइ बताउनुभएकोथियो – उहाँलाइ त्यो चुनाव लड्न पटक्कै मन थिएन, पार्टीको आदेश नमानी पनि भएन, नजित्ने पनि निश्चित छ, । एउटै पदमा हामी दुइ पनि उम्मेद्वार भएको कुरा ज्यादे असहज रुपमा उहाँले लिनुभएकोथियो , त्यसलाइ मैले पार्टिको निणर्य, पार्टीमा लागेपछि मान्नै उचित हुन्छ भन्दै सहज बनाउने प्रयास गरेकोथिएँ । यद्यपि म त मलाइ उठाउने पार्टीको सदस्य पनि थिइनँ ।

पछिल्लो चरणमा उहाँका साहित्यिक कृतिहरु प्रकाशन गर्नेप्रसँगमा मँ सँग उहाँको अलिक धेरै छलफल चल्यो र प्रकाशनका लागी सरसल्लाह पनि गर्नुभयो । मलाइ लाग्छ , उहाँलाइ केही पर्दा उहा नरेश कुमार वर्मा र मँ सँग मनका कुरा गरेर हलुका महसुस गर्नुहुन्थ्यो । उहाँ अत्यन्तै भावुक प्रकृतिको मान्छे हुनुहुन्थ्यो । साना कुराले छुने र व्यक्त नगरेसम्म छटपटाउनु हुन्थ्यो ।

८० बर्ष अगाडी पाल्पाको तानसेनमा जन्मेका डा हृषिकेश उपाध्याय , २०१२ सालमा वनारसबाट चिकित्साशास्त्रमा स्नातक गरेर झापा आउनुभयो । त्यसबेलाको झापामा त्यो योग्यता भएका कोही चिकित्सक थिएनन् । रोगीहरुले उहाँ घेरिनु हुन्थ्यो । तर औसत चिकित्सक जस्तो उहाँको प्रबृत्ति थिएन । उहाँ साइकलमा आफ्ना रोगीहरुका घरमा पुग्नुहुन्थ्यो । असहाय हरुलाइ औषधि दिनुहुन्थ्यो । डाक्टरहरुले पैसामात्र कमाउछन् भन्ने मान्यताका बिरुद्धमा उहाँलाइ उदाहरण लिन सकिन्छ । स्वाभिमानका धनी उहाँले सरल र अभावकै दिन गुजार्नु भयो । सन्तानलाइ उचित शिक्षा दीक्षा दिनुभयो । भद्रपुरमा केही कठ्ठा घडेरी र सानै घरमात्र छ ।

समाज सेवा र साहित्यलाइ उहाँले व्यवसायलाइ भन्दा बढी प्रथमिकता दिनुभयो । भद्रपुरको उन्नतीका लागि उहाँको प्रतक्ष्य र परोक्ष रुपमा ठूलो योगदान रहेकोछ ।  साहित्य परिषद,देवकोटा स्मृतिभवन, भानुस्मारक, भद्रपुर पुस्ताकलय, मेची कलेज, भद्रपुर क्षेत्रका बिद्यालयहरु यस्ता अनगिन्ती सँघसँस्थाहरुमा उहाँको योगदान धेरै महत्वको छ । झापाको साहित्यिक गतिबिधि र उन्नतीका लागि उहाँ अधार स्तम्भ हुनुहुन्थ्यो । यहाँका जुनसुकै साहित्यिक र अन्यपत्रिकामा उहाको सँलग्नतालाइ बिर्सन सकिदैन । पत्रकारितालाइ उहाँले चाख र बिश्वाशको बिषय बनाउनु भएकोथियो । त्यसैले उहाँ पत्रकार महासँघको साधारण सदस्य रहिरहनुभयो । मोति, कस्तुरी, कन्तुर, मेची सन्देश, जस्ता पत्रिका त उहाँकै प्रयास र प्रयत्नमा प्रकाशन भएकाहुन् ।

बनारसमा बिद्यर्थी छँदै फुटकर साहित्य रचनामा सकृय उहाँको भद्रपुर आगमन सँगै साहित्यिक सकृयता उल्लेखनीय रह्यो ।   भावुक रहेकै कारण शुरुमा उहाँ कविका रुपमा प्रस्तुत हुनुहुन्थ्यो । २०२० सालमै उहाँको बगैचा नाको कविता सँग्रह प्रकाशित भएकोछ । यो नै झापाको पहिलो कविता सँङ्ग्रह पनि भनिएकोछ । धरतिको वारिस भएर भन्ने कविता सँङ्ग्रह  २०३५ सालमा प्रकाशित भएपनि अगाडी नै लेखिएको हो । यसतै २०६० प्रकाशित सरलाको रचना काल पनि अगाडि नै हो । समालोचनात्मक कृति केही श्रस्टा द्रष्टाको दृष्टीमा २०५६सालमा प्रकाशित महत्वपूर्ण कृति हो । यस्मा जनकवि गोकुल जोशीसँग सहकार्य गरेका उपाध्यायले जोशीका बारेमा बृहत चर्चा गर्नुभएकोछ । यस्तै अन्य लेखक कवि र उनका कृतिमा चर्चा गरिएकोछ । निबन्धहरुको सँकलन प्रस्थान बिन्दु २०५९ मा र अधुरो यात्रा कथा सँङ्ग्रह २०६० सालमा प्रकाशित भएकोछ । यी पुस्तकका रुपमा प्रकाशित कृति बाहेक अरु पनि अनगिन्ती फुटकर रचनाहरु पत्र पत्रिकामा प्रकाशित भएकाछन् । सबै बिधामा समान रुपले कलम चलाउने प्रतिभाका रुपमा उहाँ हुनुहुन्थ्यो ।  नेपाली साहित्य बिकास समितिको पूर्व अध्यक्षसमेत रहेका उहाँ प्रगतिशिल लेखक सँघ झापाका सल्लाहकार रहनु भएको थियो ।

व्यक्ति एक, व्यक्तित्व अनेकका रुपमा रहेका डा हृषिकेश उपाध्यायको निधन समाजलाइ र सिङ्गो मुलुकका लागि अपूरणीय क्षति भएकोछ ।  अब झापाका साहित्यिक भेला, गोष्ठीमा र अरु कार्यक्रममा दार्शनिक जस्तो देखिने पाको र गम्भिर व्यक्तित्वको उपस्थिती रहनेछैन । झापाका सँघ सँस्थाहरुमा आधा शतकभन्दा बढी समयदेखि कृयाशील सिर्जनाका हातहरुको शून्यता फक्रनेछ । मेरा घरमा पनि हरेक बर्ष बैशाख १ गते र बिजया दशमीका दिन शुभकामनाका लागि उहाँले गरेके टेलिफोनको घण्टी बज्ने छैन । पाल्पामा जन्मेको, वनारसमा पढेर झापामा कर्मथलो भएका कर्मयोगीको अवसान भएकोछ ।  २०६७ साल फल्गुण १५ गतेका दिन आर्यघाटको चिता हुदै उहाँ त्यहाँको आकाशमा उडेको धूवाँ भएर उडनुभएकोछ र अलिकती खरानी भएर बाग्मतीमा बग्नुभएको छ । अब त हामीसँग उहाँका कर्महरुछन् र फगत उहाँको स्मृति बचेकोछ । श्रद्धाञ्जली कर्मयोगी डा हृषिकेश उपाध्यायलाइ !

● शुभकामना

प्रेमप्रसाद भट्टराईजीले एउटा पाण्डुलिपि हेरेर केही लेखिँदिन भन्नुभयो । पाण्डुलिपि पढ्न पाउने अवसर ठानेर मैले सहजै स्विकार गरेँ । गोपाल काफ्लेजीले ल्याइ दिनुभएको पाण्डुलिपि लकडाउन भए पश्चात् नयाँ किताब पढ्न नपाएको समयमा रमाइलो मानेर पढेँ । यति सम्म ठीक थियो । अब  यस बारे केही लेख्नु पर्दा भने मलाइ फलामको चिउरा चपाउनु जस्तै भएको छ । के  लेख्ने, कसरी लेख्ने ॽ मैले निर्क्योल गर्न सकेको छैन । अझ पाण्डुलिपि पढ्दै जाँदा आफैले भोगेको समय, स्थान पात्रहरू र घटना समेतलाई संस्मरण गरेर लेखिएको पाउँदा मलाइ लेख्न अझै कठिन महसुस भएको छ ।

प्रेमप्रसाद भट्टराईजीले आफ्नो जीवनमा भोगेका कुराहरू, संगत गरेका मानिसहरूसँगका घटनालाई र अनुभूतिहरूलाई लेख बद्ध गरेर यो कृति तयार गर्नु भएको छ । वहाँले यसलाई संस्मराणात्मक निबन्धहरू भन्नुभएको छ ।  वास्तवमा यो संस्मरणहरूकै सँगालो छ र बन्धन मुक्त लेखन छ । निबन्धको परिभाषा भित्र रहेकाले विधाका हिसाबले यो कृतिलाई संस्मराणात्मक निबन्ध भनिएको उपयुक्त महसुस हुन्छ ।  तै पनि यो आत्म कथ्यले भरिएकोले आत्म कथा विधासँग निकटताको अनुभूति पनि रहन्छ । कालखण्ड र पूर्णताको हिसाबले भने संस्मराणात्मक निबन्ध भन्नु नै उपयुक्त महसुस हुन्छ ।

लेखकले किताबको नाम “बोझे इन्स्पेक्टर” राख्नु भएको छ । बोझे इन्स्पेक्टर अर्थात् लक्ष्मीप्रसाद भट्टराई वहाँका पिताजीको नाम हो । बोझे इन्स्पेक्टर शीर्षकमा एउटा लेख छ । जसमा बोझे शब्दका बारेमा पिताजीले इन्स्पेक्टर भएर गरेका केही कार्यका बारेमा वहाँले उल्लेख गर्नु भएको छ। आफ्ना पिताजीका पराक्रमका चर्चा पनि गर्नु भएको छ । आफ्ना पिताका संस्मरणमा लेख्नु र कृतिको नाम पनि बोझे इन्स्पेक्टर भनेर राख्नु लाइ वहाँले आफ्ना पिताश्रीको आधुनिक श्राद्ध पनि गर्नु भएको मैले महसुस गरेको छु । यति भए पछि मेरो मान्यतामा बित्नु भएको दिन र सोह्र श्राद्धको तिथिमा तर्पण नदिएर पनि फरक पर्दैन । बरु यो लेख अलिक विस्तृत भैदिएको भए उचित हुने  थियो जस्तो लाग्छ । लक्ष्मीप्रसाद भट्टराई प्रहरीका इन्स्पेक्टर मात्र नभएर एकजना सार्वजनिक र चर्चित व्यक्तित्व रहेकाले वहाँका बारेमा जन्म देखि देहान्त सम्मका घटनाहरू समेटिन सकेको कृति भए सर्वसाधारणको चासो र जिज्ञासाको विषय बन्ने थियो । प्रेमप्रसाद भट्टराईजीको अवकाश कालमा यस्ता कार्यहरूको आशा राख्न सकिन्छ । यस्तो कार्य सम्पन्न भए अझै ठूलो श्राद्ध मानिने कुरामा दुई मत रहँदैन ।

धर्मशिला चापागाँई र लीला कट्टेल दुई झापाली क्रान्तिकारी महिलाहरू लेखकका संस्मरणका पात्रहरू छन् । यी दुई पात्रहरू अलग समय खण्डका एउटै उदेश्य र प्रयोजनका लागि यात्रामा रहेका पाइन्छन् । एक जनाको दुखान्त अन्त भएको छ भने अर्को जनालाई  काँडाहरूको यात्रा पश्चात् एउटा परि दृश्यमा देख्न सकिन्छ । हाम्रो सामाजिक परिवेशमा पढाइ लेखाइ पूरा गर्दै गरेका नारी पात्रहरूले व्यक्तिगत उचाइ रहर गर्दा अनेक हिसाबले सरल यात्राबाटै प्राप्त गर्न सम्भव भए पनि कठोर यात्राबाटै समूहगत उचाइको प्रयत्नमा लागी परेको कुरा महत्वको र ऐतिहासिक रहेको छ । यस कृतिका पाठकले लेखकलाई प्रश्न र कौतूहलको कठघरामा तान्न भने सक्छन् । प्रश्न हुन सक्छ – “ यस्ता चर्चित पात्रहरूको सामीप्य देखाउने मात्र लेखकको रहर किन ॽ”

हो, लीला कट्टेल र धर्मशिला चापागाँई एउटै गन्तव्यका उस्तै पथका यात्री हुन् । उनका जीवनका धेरै कुरा संयोगले पनि मिलेका छन् । उनको संस्मरण लेखकले जति गर्नु भएको छ, बाँझो फुटिसकेको छैन । राँटो रहेको छ । उनको कठोर यात्राको संस्मरण विवरण जे भने पनि त्यो लेख्न जाँगर भएको लेखकलाई यथेष्ट स्थान छ ।

लेखकको संस्मरणमा सी पी, के पी को प्रसंग पनि रहेको छ । गौरी शंकर खड्का पनि तानिनु भएको छ । यस्ता व्यक्तिहरूको  संस्मरणको प्रसंग अलिक लामो  भए पाठकलाई सन्तुष्टि प्राप्त हुने थियो । समय क्रमले झापा आन्दोलनलाई निकै पछाडी छाडी सकेको छ । त्यो चरणमा बेपत्ता भएका पुण्य शर्माको अहिले सम्म अत्तो पत्तो छैन ।  लेखकको संस्मरणमा पुण्य शर्मा पनि पर्नु भएको छ । पुण्य शर्माका समकालीन र मित्रहरूले  सत्ता मुसार्दा पनि उनलाई सम्झेनन् । झापा आन्दोलनसँग जोडिएर आउने जन-ज्योति कुइनेटोको प्रसंग आएको छ । काशिराज निरौला र वहाँ त्यो कुइनेटोको काममा भारतीय जेल पर्दाको प्रसंग पनि आएको छ तर झापा आन्दोलनमा त्यति निकट रहेका लेखकबाट आन्दोलनबारे अलिक धेरै कुरा किन आएन भनेर पनि पाठकका मनमा प्रश्न उठी रहनेछ ।

राम श्रेष्ठ, श्रीराम गिरी, लोके दाइ, पण्डित निरौला र उनका छोरा, आदिका बारेमा लेखकले गर्नु भएको स्मरणले सामाजिक यथार्थता र व्यवहार उधिन्ने काम भएको छ । यी व्यक्ति , विषयको स्मरणको चयन उचित लाग्छ । लेखकले कीर्तिपुरको विद्यार्थी जीवन, विद्यालयको शिक्षण अनुभव, विभिन्न क्याम्पसहरूमा प्राध्यापन गर्दाको अनुभवहरू संस्मरणमा उल्लेख गर्नु भएको छ । वागा बोर्डरमा भारत पाक सैन्य परेडको अवलोकनले नियात्राको आस्वाद पनि थपेको छ ।

उल्लिखित विषय, व्यक्ति र घटनाहरूको स्मरणको लेखनबाट यो कृतिको जन्म भएको छ । स्वभावैले यस्तो लेखनमा लेखक पनि आफै मूल पात्रका रूपमा समावेश हुने अवस्था रहन्छ । साथै यस विधाको माध्यमबाट तत्कालको राजनीतिक, सामाजिक, आर्थिक परिवेशको उपयुक्त जानकारी  पाठकले पाउन सक्ने कारणले पनि यस्तो लेखनको महत्व हुन्छ । यस्ता संस्मरण र आत्मकथाका विधाहरू पढ्न बढि रुचाइने  विधा हुन् ।

समाजमा राम्रा कुरामात्र हुँदैनन् । अझ हाम्रो जस्तो समाजमा विकृति र विसंगतिहरुको ढेरी रहन्छ । लेखक सचेत रहने हुनाले नै ती कुराहरूका विरुद्धमा कलम बलियो बनाएको हुन्छ । यस कृतिमा पनि यसको प्रयोग प्रचुर छ । यसले कृतिलाई पठनीय बनाएको छ ।

लेखकीय सीप  र सौन्दर्यका लागि यस कृति मार्फत लेखकले ब्याड राख्नु भएको छ । आशा गरौ, लेखकले अरू कृतिहरू लेखनका लागि यो प्रारम्भ हो । अवकाश जीवनमा वहाँका अरू कृतिहरू जन्मी रहन्छन् । म यसका लागि शुभकामना प्रदान गर्छु ।

श्रावण ३, २०७७।

विर्तामोड झापा ।

● लेखनमा निरन्तरता रहोस्- शुभकामना

आजकल आत्मकथा लेख्ने र प्रकाशन गर्ने हरुको लर्को लागेको छ । पद, प्रतिष्ठा र व्यवसायमा रहेर निवृत्त भएका मानिसहरूमा यस्तो रुची बढेको छ । पुस्तक पसलहरूमा आत्मकथाका  पुस्तकहरू टन्न पाइन्छन् । सेवा निवृत्तहरू जो सँग सम्पन्नता पनि छ र फुर्सद छ, उनीहरू आत्मकथामा बग्न रुचाउँछन् । अझ छद्म लेखन ( घोष्ट राइटिङ् ) को प्रयोग आए पछि लेखकीय शीप नभएका, फुर्सदमा रहेका र आर्थिक समस्या नरहेका पूर्व पदाधिकारी, व्यवसायी र जो सुकैले पनि आत्मकथा लेख्ने गरेको पाइन्छ । त्यो समयको समाज, इतिहास, जीवन र अन्य धेरै कुरा आत्म कथाले बोध गराउँछ भने लेखकको जीवनका अनेक पहलुको चित्र पनि यसले स्पष्ट देखाउँछ । आत्म कथाका अनेक सकारात्मक कुरा त छन् नै तर त्यो वर्गका आत्म कथामा आउने आत्म रति र आत्म प्रशंसाका कुराले भने पाठकलाई पिरोलेको छ । त्यसता कृतिहरू साहित्यका हिसाबमा कति पठनीय र उत्कर्षका  हुन्छन् भन्ने प्रश्न पनि जोडिएको हुन्छ ।

यस्तो परिवेशमा हाल झापा विर्तामोड निवासी दीपेन्द्र अधिकारी पनि आत्मकथा लिएर आउनुभएको छ । वहाँको आत्म कथाको पाण्डुलिपि पढी सकेपछि माथि उल्लेख प्रवृत्ति, परिवेश र व्यक्तिहरूका लागि दीपेन्द्र अधिकारीको आत्म कथा चुनौती बन्ने मैले महसुस गरेको छु । दीपेन्द्र अधिकारी कुनै पद, अवसर, सम्पन्नता तथा आधुनिक संसारको कुनै सुविधामा नजोडिएको मान्छे जसको ‌औपचारिक अध्ययन पाँच कक्षा सम्म मात्र रहेको छ, वहाँले तयार पार्नु भएको यो आत्म कथालाई मैले चमत्कार जस्तै पाएको छु । लेखनको सरलता र स्वाभाविकता सलल बगेको, लेखनको गति, लेखकको  जीवन र जगतलाई हेर्ने दृष्टिकोण आदि कुराहरू यस कृतिमा मैले विशिष्ट रूपमा पाएको छु । छद्म लेखनको परिचयबाट टाढा रहनु भएका दीपेन्द्र अधिकारीले यस कृतिमा प्रस्तुत गर्नु भएको शीप र आफ्नो परिवेशबाट प्रस्तुत गर्नु भएको लेखन सौन्दर्यले मलाई, मेरो मनलाई छोएको छ ।

दीपेन्द्र अधिकारीको आत्म कथामा जम्मा २६ शीर्षक छन् । बाल्य काल  देखि वर्तमान सम्मका अलग –अलग घटनाक्रमहरूलाई समेटेर अलग – अलग शीर्षकमा लेख्नु भएको छ । अनकन्टार पहाडको कुनामा जन्मेर अभाव, भोक, रोग, गरिबीको चपेटा भित्र बाल्य काल बितेको छ । सबै कुराको अभाव छ ।  प्राकृतिक सौन्दर्यमात्र छताछुल्ल छ । सबै कुराको अभावै अभाव हुँदा प्राकृतिक सौन्दर्य उपभोग हुन सक्तो रहेनछ । त्यो त लेखकलाई अहिले मात्र स्मरण गरेर रोमाञ्चित हुन काम लागेको छ । सत्य यस्तै हो । ‘मेरो बाल्य काल’ शीर्षकमै तत्कालीन समाज, समाजको आर्थिक अवस्था  , चेतना र भूगोलको चित्र स्पष्ट देखिन्छ । ताप्लेजुङको सिकैचा प्रतीक मात्र हो । मुलुकभरिको चित्र यस्तै हो । अहिले पनि लेखकलाई बाल्य काल र माटो प्रिय छ । त्यो माटोको सुगन्धले अहिले पनि लेखकलाई लठ्याएको छ ।

स्कूल पढेर भविष्य निर्माण गर्ने बेलामा गोठ बसेर, गाई भैँसी सित रमाउने तत्कालका बालकहरूको बाध्यता हो । योग्य शिक्षकहरू नभएको नाममात्रको स्कूलमा पाँच कक्षामात्र अध्ययन गरेर दुई वर्ष गोठ बसेका लेखकको कौतूहललाई गाई, भैँसी, चरन, जङ्गल , बाघ समेतले नियन्त्रण गर्न सकेनन् । सुनेको मदेशले लेखकलाई तान्यो । मदेश झर्दै गर्दा लेखकको आत्म कथा नियात्रामा फेरियो । मदेश कहाँ सबैका लागि सुने जस्तै सुगम हुन्थ्यो र ॽ विपन्नका लागी मदेशको अलग कहर छ / त्यसता अनगिन्ती कहर सँग लाप्पा खेलेको सत्य कथा हो लेखकको आत्म कथा ।  त्यस्तै कहरले लेखकलाई कहिले  मदेश कहिले मणिपूर र कहिले दार्जिलिङ पुर्याउँछ । लाहुरे बन्ने असफल प्रयास गराउँछ । जहाँ गए पनि शून्य हात लाग्छ र बर्मा गयो कर्म सँगैको आहान चरितार्थ हुन्छ । गरिबीको जङ्गलको माझमै थीरा भट्टराई सँगको वैवाहिक बन्धन र त्यस पछिका व्यवहारिक कठोरताहरूलाई  लेखकले हृदयस्पर्शी रूपमा वर्णन गर्नु भएको छ । जीवन साथी सँगको सम्बन्धको सुमधुरतामा भने बिघ्न र व्यवधान देखिँदैन । अनेक कष्ट खपेर लेखकलाई साथ दिनु उहाँकी जीवन सँगिनीको प्रवृत्ति देखिएको छ । लेखकका लागि यो सम्बन्ध सकारात्मक बनेको छ ।

मुलुकको राजनीतिक परिवेशमा जन्मेको नेकपा मालेले युवा अवस्थाका लेखकलाई आकर्षण गरेर यसको कार्यकर्ता बनायो ।  लेखकको घर मालेका नेता कार्यकर्ताका लागि सुरक्षित आश्रय स्थल र अड्डा बन्यो । दम्पतीले आफूलाई पस्केको भाग नेता कार्यकर्तालाई सारेर आफू भोकै बसे । जाडो महिनामा गम्छा ओढेर सुकुलमा सुते । आफ्ना ओछ्यान नेता कार्यकर्तालाई छाडी दिए । छुट्टिएको वर्ष मूल घरबाट चामल ल्याएर खाने क्रममा नेता, कार्यकर्तालाई धेरै खुवाउनु परेपछि चामल बेचेको  आरोप सहनु पर्यो । २०५० सालको उपचुनावमा लेखकको खटाइको उत्साह र विश्वासमा तुषारपात भयो । आफ्नो उम्मेदवारले पराजय व्यहोराको घटनाले लेखकलाई आहत बनायो र निराश बनायो । बिरामी परेर उपचारमा रहनु पर्‍यो ।  भूमिगत कालमा रगत र पसिना बगाएको र तत्काल आश्रय दिएका नेता कार्यकर्ताले  सत्ताको उपल्लो तहमा बसेर कमिसन र भ्रष्टाचारको ताण्डव मच्चाएको विषयले लेखकलाई अहिले चोट पुगेको छ । लेखकले यहाँ पनि आफू प्रतिक बनेर मुलुक बासीको मनको पीडा कहनु भएको छ ।

परम्परागत कृषिबाट गुजारा  नचलेपछि लेखक लाइ व्यापारको धूनले काठमाडौं पुर्यायो । अलिक ठूलो नोक्सान र ऋणको पोको बोकाएर काठमाण्डौले लखेट्यो । लाग्छ, लेखकको जीवनमा दुख ढुकेर बसेको छ र एउटा बाट मुक्त नुहुँदै अर्को फुत्त पस्छ । यी तमाम घटनाहरूले लेखकलाई महसुस भएको छ , कृषि वा व्यापार जेसुकै  कार्य पनि व्यवस्थापकीय ज्ञान र शीप बिना सफल हुन सक्दैन । लेखकले प्रस्तुत आत्म कथामा यो सन्देश प्रवाह गर्नु भएको छ ।

अहिले लेखक व्यवसायमा केही सफलता सहित झापाको विर्तामोडमा बस्नुहुन्छ । यो आत्म कथा प्रकाशन गर्ने अभिलाषा राख्नु भएको छ । लेखनमा लेखकको यो पहिलो प्रयत्न हो । उत्साहप्रद त छँदैछ । वहाँले यहाँ धेरै सन्देश र ज्ञान प्रवाह गर्नु भएको छ । सङ्घर्षले एक दिन सफल बनाउँछ भन्ने उदाहरण बन्नु भएको छ । लेखकले पाँच कक्षा सम्म औपचारिक शिक्षा हासिल गर्नु भएपनि लेखक अध्ययनशील र विचारवान् रहेको वहाँको लेखनले पुष्टि गर्दछ ।

देश प्रेमले ओतप्रोत भएको, रगतको कण कणमा इमानदारी रहेको, मिहिनेत गर्न नछाड्ने , कुनै कार्यमा लागि रहने यस्ता धेरै गुण भएको व्यक्तिका रूपमा मैले लेखकलाई यस कृति मार्फत पाएको छु । जीवन भर ज्यादै दुख खपेर व्यवसायमा अहिले आएर केही सफलता प्राप्त गर्नु भएको छ र अर्को पनि एउटा सफलता हात परेको छ । त्यो हो , लेखन जो यस कृतिले प्रमाणित गरेको छ । लाग्छ, कृति पठनीय छ र धेरै कुराको सन्देश प्रवाह गर्न कृति सफल छ ।

अन्तमा लेखकले लेखनलाई निरन्तरता दिन सक्नुहोस् र जीवनको मध्य तथा उत्तरार्द्धमा यस्ता अरू धेरै कृतिहरू दिन लेखक सफल हुनुहोस् । मेरो शुभकामना ।

२०७७ माघ २२

विर्तामोड, झापा ।