सी के प्रसाईंको स्मृतिमा

सी के प्रसाईका बारेमा एउटा स्मृतिग्रन्थ निस्केमा उचित हुन्छ र यो जरूरी छ – भनेर मैले निकै जना मेरा काङ्ग्रेसी मित्रहरूसँग अनुरोध गरें । सी के लाई सम्झना गर्ने केही कार्यक्रमहरूमा भनें । गोपालकुमार बस्नेत बाहेक अरूले त्यति ध्यान दिएनन् । गोपालकुमार बस्नेतले त अलिक चाखका कुरा राख्नुभएको थियो, आजकाल उहाँको चाखमा कति प्रगति छ ? त्यो थाहा छैन । वास्तवमा सी के प्रसाईलाई एउटै ग्रन्थद्वारा भोलिको पुस्तालाई परिचय गराउने राम्रो कदम एउटा स्मृतिग्रन्थ प्रकाशन गर्नु हो भन्ने मलाइ लागेको हो र यो कुरा मौका पाउनेबित्तिकै मैले राख्ने गरेको छु । उपयुक्त सुनवाई अहिलेसम्म भएको छैन । कतिले त यो वामपन्थी भएर किन सि के प्रसाईका बारेमा यति धेरै चाख लिएको  ? भन्ने भान पर्ने मुखाकृति पनि बनाएको मैले अनुभूत गरें । त्यस्तो देखिनेमा काँग्रेसी मित्रहरू पनि छन् र वामपन्थी पनि ।

सी के प्रसाईका बारेमा स्मृतिग्रन्थ प्रकाशन गर्न आबश्यक छ भन्ने  मलाई लागेको कारण खास रहेको छ । वास्तवमा, सी के प्रसाईले अफ्नो जीवनकालमा गर्नुभएका कामहरू, उहाँले व्यक्त गर्नुभएका विचारहरू, उहाँका कृतिहरू  आदि वहाँ बाँचेको समयसम्मलाई मात्र हैन । वहाँका कार्यहरू दूरगामी दृष्टिका रहेकाले नै वहाँको व्यक्तित्व प्रखर रहेको कुरामा विवाद हुदैन । वहाँले गरेका साना – ठूला सबै काम निश्चित समयपछि सबैका विस्मृतिमा परिणत हुनेछन् । यसरी चाँडै सी के प्रसाईंलाई बिर्सनु वहाँको नामलाई पर्ने अन्याय मात्र नभएर हामीले हाम्रा सन्ततिलाई वहाँलाई चिन्ने अवसरबाट वन्चित गराउने कार्य पनि हुनेछ, साथै सी के प्रसाईंले सोचेका कुराहरू भोलिको लागि र भोलिका सन्तानका लागि धेरै हुन् भन्ने कुरामा विवाद हुन सक्तैन, त्यसैले सी के प्रसाईंजस्तो व्यक्तिका वारेमा एउटा स्मृतिग्रन्थ निस्कन अहिलेसम्म  नसक्नुलाई मैले दुखका रूपमा लिएको छु ।

 

सी के प्रसाईका जीवनका विभिन्न पाटा रहेकामा मूल पाटो राजनीति नै रहेकाले उहाँको स्मृतिग्रन्थ वहाँ सरिक दल नेपाली काङ्ग्रेस निकट मान्छेहरूको सक्रियतामा प्रकाशन होस् र अरूले त्यसमा सहयोग गरून् भन्ने मेरो मान्यता हो । अझ सी के चिन्तन प्रतिष्ठानले यो काम थाले उचित हुने जस्तो मलाई लागेको हो । यस कार्यमा कता के – के नमिलेको हो ? त्यो मैले बुझेको छैन । त्यो काम अहिले नै, अलिक चाँडै  भै हाले उचित हुने भन्ने मलाई लागेको पनि कारण छ । वहाँका बारेमा धेरै जान्नेहरू, समकालीनहरू क्रमश अस्ताउदै जाँदैछन् । यो काममा अझै ढिला हुँदै जाने हो भने एक दिन यस्तो समय आउनेछ, सी के प्रसाईंलाई देख्ने मान्छे नै हुनेछैन र सी के प्रसाईंको नाम केही मान्छेका श्रुति सम्ममात्र सीमित रहने छ । त्यसैले सि के प्रसाईका बारेमा एउटा स्मृतिग्रन्थ प्रकाशन हुन सकोस् भन्ने मेरो चाहना हो ।

 

सि के प्रसाईको नाम त मैले अलिक अगाडि नै सुनेको हुँ । वहाँसंग साक्षात्कार हुन भने २०२७ सालसम्म कुर्नु पर्‍र्यो । तत्कालका चर्चित वामपन्थी नेता नन्दकुमार प्रसाई र ओमकृष्ण सिटौलालाई ताप्लेजुङ्बाट पक्रेर चन्द्रगढी कारागारमा थुनामा राखेको थियो । म उहाँहरूलाइ भेट्न त्यहाँ पुग्दा सी के प्रसाईसंग परिचय भयो । परिचय हुँदा उँहा जेलको ढोकाभित्र, म बाहिर थियौं । मैले ठानेको थिएँ उहाँ ठूलो नेता, म एउटा सामान्य विद्यार्थी, वहाले संझनुहुन्न तर जब केही वर्षपछि काठमाण्डौमा भेट भयो मैले नमस्कार गर्नासाथ –‘लीलाजी आराम हुनुहुन्छ ?’’ भनेर चकित पार्नुभयो । आत्मीय बनेर कुरा गर्नुभयो । त्यसै वेला देखि उहाँले मेरो मन जित्नुभयो ।

 

२०३६ साल पूर्व सी के प्रसाइर्संग सामान्य सम्बन्ध थियो । म तत्काल नरेशकुमार बर्मासँग बसेर वकालत गर्थें । उहाँ चन्द्रगढी जानुहुँदा हाम्रो च्याम्बरमा निस्केरमात्रै बिर्तामोड फर्कनुहुन्यो । समसामयिक बिषयमा केही कुरा हुन्थे । हामी गंम्भीर भएर उहाँका कुरा सुन्थ्यौ । एक दिन म चन्द्रगढी जान विर्तामोडमा वस चडेको थिएँ । म वसमा सिटमा वसेको थिएँ । वस भिड थियो । मैले वहाँलाइ म वसेको सिटमा वसाउन वोलाएँ । उहाँ वस्न मान्नु भएन । मैले जिद्दी गरें । “तपाईंले मलाईं जसरी छाड्रन मन गर्दै हुनुहून्छ, मैले मान्ने मान्छे आएपछि मैले पनि छाड्रनुपर्ने नियम वनि हाल्छ नि, म बसेपछि ।” यसो भन्दै उहाँ बस्न मान्नै भएन । उहाँको यो व्यवहारले मलाई गम्भीर वनायो । मलाई लाग्यो­ -‘‘ उहाँसँग साँच्चै फरक स्वभाव छ ।’’

 

नेपालमा २०३६ साल आफ्नै पाराले आयो । झापामा अहिलेजस्तो काङ्ग्रेस र बामपन्थीहरूको बाहुल्य त थिएन । सी के प्रसाई काङ्ग्रेसको मियो हुनुहुन्थ्यो । उहाँका साथमा काँङ्ग्रेसका दुखका दिनमा पनि काङ्ग्रेस भएरै वसेकाहरूमात्र थिए । यस्ता नाम पनि सिमित थिए । डिल्ली सिटौला, पूर्णानन्द दाहाल, जीतबहादुर पुरीहरू अहिले भन्दा त्यतिबेला धेरै काँङ्ग्रेस थिए । भित्र जे भए पनि वामपन्थीहरूको आकार देखाउने कार्य द्रोणाचार्यहरूले गर्दथे । जनमत संङ्ग्रको घोषणा भएको लगत्तै हामीले भद्रपुरमा पञ्चायतको विरूद्धमा एउटा जुलुस निकाल्यौ र कोणसभामा उत्तर चापागाइ, कृष्ण सीटौला र मैले बोल्यौ । त्यो जुलुस र सभा पञ्यायतका विरूद्भमा झापामा पहिलो थियो । भोलिपल्ट विहान मैले भरत वावुको एउटा पत्र पाएँ । मलाई भद्रपुरको कार्यक्रमका वारेमा धन्यबाद दिनु भएको थियो र जिल्लाका अन्य कार्यक्रमहरूमा सहभागी हुन आग्रह गर्नुभएको थियो । झापामा निकैओटा संयुक्त आमसभा भए । पछि काँङ्ग्रेसको केन्द्रले वामपन्थीहरुले अगाडि ल्याएका पाँच पूर्वशर्त नमानेर वामपन्थीहरूसँग संयुक्त कार्यक्रम नगर्न भनेको कुरा उहाँले हामीलाई बताउनुभयो र नरेशकुमार बर्माको अध्यक्षतामा हामीले एउटा समिति बनाएर जिल्लाव्यापी यात्रामा हामी हिड्यौ तर आपसी सहयोग र समझदारी राम्रो थियो । त्यो समितिको पहलमा मनमोहन अधिकारी पटक – पटक झापा आउनुभयो । बिर्तामोड, सुरूङ्गा र पृथ्वीनगरमा ठूला – ठूला सभा भए । सी  के प्रसाइले हर तरहले मद्दत गर्नुभयो ।

बि पी कोइरालको झापा आगमन, बि पी को निधनमा भएको शोकसभा जस्ता कार्यक्रममा उहाँले मलाई व्यक्तिगत रूपमा खबर पठाएर बोलाउनुभएको कुरा मेरो स्मृतिमा ताजा छ । केही पछि उहाँलाई इलाममा एउटा  मुद्दा लागेछ । शायद कोही कार्यकर्ताद्वारा प्रशासनले पोलाएको थियो । म पनि व्यवसायिक काममा इलाम गएको थिएँ । बसमा संगै फर्क्यौ । सुख – दुखका लामा कुरा भए । गिरिजाप्रसाद कोइरालासँग चित्त दुखेको कुरा गर्नुहुन्थ्यो र अब पार्टीका पदबाट अलग हुने बताउनुभयो । मलाई उहाँका कुरा सुनेर धेरै दुख लाग्यो ।

सी के प्रसाईको लेखन र अध्ययन सघन र निरन्तर थियो । पत्र पत्रिकामा स्तम्भ र राजनीतिक लेखहरू उहाँ निरन्तर लेखिरहनुहुन्थ्यो । चर्चित र नयाँ किताब अध्ययन गर्न उहाँ छुटाउनुहुन्नथ्यो । एक पटक मैले जित्न खोज्दा हारेको छु । जवाहरलाल नेहरूका विशेष सहयोगी थिए– एम ओ मथाइ भन्ने मान्छे । उनले नेहरूको सङ्गतको स्मृतिमा एउटा किताब लेखेका छन् । त्यो किताबको चर्चा भारतीय पत्रिकामा खुबै आएको थियो । एक दिन म सिलिगुडी पुगेको थिएँ । एउटा पुस्तक पसलमा पुग्दा त्यो किताब भरखर आएको रहेछ । मैले त्यो किताब किनेर ल्याएँ र २,३ दिनमा पढी सके । सकेको भोलिपल्ट सी के प्रसाईंसँग  भेट भयो । मैले त्यो किताबमा नेहरूका बारेमा उल्लेख भएको एउटा कुराका बारेमा उहाँ संग जिज्ञासा राखे । उहाँले त –’’ लीलाजीले पनि मोथाइको कितब पढि सक्नु भएछ ।’’ पो भन्नुभयो । वास्तवमा उहाँको अध्ययन तीब्र थियो । भारतीय नेता, लेखक कवि, विद्वान् विदुषी आदिका बारेमा उहाँलाई धेरै जानकारी रहन्थ्यो । यथेष्ट सूचनाहरू उहाँसंग छन् भन्ने कुरा उहाँको लेखवाट पनि जानकारी पाइन्थ्यो । यस्तै यथेष्ट सूचना विश्वका राजनीतिक व्यक्ति र विद्वानहरूका वारेमा पनि उहाँसँग हुन्थ्यो ।

२०४८ सालको आम चुनावमा उहाँ झापाको २ नं क्षेत्रबाट उठ्नुभयो । एक दिन बिर्तामोडको उहाँको कार्यक्रममा म गएको थिएँ । त्यहाँको तरिका हेर्दा काँङ्ग्रेसहरूले नै उहाँलाइ चुनाव हराउछन् जस्तो लाग्यो । उहाँले चुनाव हार्नुभयो । मलाई लागेको थियो, सी के प्रसाई संसदमा पुग्नै पर्ने मान्छे हुनुहुन्थ्यो, त्यसो भएन । काङ्ग्रेसले सरकार बनायो तर उहाँको उपयोग गर्न रूचाएन । उहाँको शारीरिक अवस्थासमेत कमजोर बनेको थियो ।

२०५० सालमा २ स्थानमा संसद्का लागि उपचुनाव भएको थियो । ती स्थानहरू मदन भण्डारी र द्रोणाचार्यको निधनबाट खाली भएका थिए । झापामा द्रोणाचार्यका स्थानमा एमालेको तर्पफबाट म उम्मेदवार भै हारेको थिएँ । काठमाडौमा कृष्णप्रसादलाई हराउन गिरिजाप्रसाद कोइरालाले ठूलो कसरत गर्नुभएको थियो । त्यसै कुरामा विवाद भएर काङ्ग्रेस विभाजनको संङ्घारमा पुगेको थियो । काँग्रेस विभाजनको संभावनाको कसैको फोन नै सी के प्रसाईंको हृदयघातको कारण वनेको चर्चा सुनिएको थियो । उहाँको निधनको मेरो मनले विश्वास नमाने पनि म देवीवस्ती पुगेर श्रद्धाञ्जलि चढाएको थिएँ । त्यो २०५० साल फाल्गुण ८ या ९ गते थियो ।

सी के प्रसाई राजनेता मात्र हुनुहुन्नथ्यो । उहाँ एउटा दार्शनिक, राम्रो लेखक , अध्येता अनेक हुनुहुन्थ्यो । उहाँको जीवनुकालमा मुलुकका लागि उहाँको प्रचुर उपयोग हुन सक्थ्यो, भएन । उहाँले गरेका कामहरूवाट, उहाँका विचार र चिन्तनबाट मुलुकले अहिले पनि फाइदा लिन सक्छ तर यस बाटोमा पनि हामीले रूचि लिएनौ । आज उहाँको स्मृति दिवसमा सम्बन्धितहरूलाई अलिकति चिमोट्न मलाई रहर लागेको छ –‘‘ के सी के प्रसाईका बारेमा पछिसम्मका सन्ततिलाई चिनाउने एउटा स्मृति संङ्ग्रह निस्कन सक्तैन ? ’
२०६५ फाल्गुण ६ ।