आफ्नो कुरा
आफ्नो कुरा
२०४८ साल पछि लेखिएका कविताहरुको संकलन निकाल्ने रहरको निकास यो संग्रह हो । महँगी र मान्छेको अस्तित्व भने पुरानै कविता हुन्। यसै त यो संग्रहमा परेका सबैजसो कविताहरु कुनै न कुनै पत्रिकामा प्रकाशित भैसकेका हुन्। यस अर्थमा यसलाई रहर वा स्वभाविकता जे भने पनि हुन्छ होला ।
लाग्छ, आजकाल कविताको खेती सुख्खाग्रस्त छ । यसै त मुलुकमा वेथिती, वेहिसाव, मनपरीतन्त्र चर्किए पछि कविताको खेती फस्टाउनु पर्ने हो तर त्यस्तो भै रहेको छैन । कालखण्डका हिसाबले पनि हिजोकै भूमि उर्वर थियो । हिजोकै कविता प्रज्वल थियो । विकृतिका विरुद्ध आगो उकेल्ने कविहरु नैं आज कतै आगो निभाउन लागेका त छैनन् ? प्रश्न त कठोर हुन् सक्छ ।
वास्तवमा, अनुभूत कुरालाई मिलाएर अभिवक्त गर्नु नैं कविता हो । कविता नराम्रो पनि लाग्न सक्छ । किनभने समाजमा धेरै नराम्रो भै रहेछ । लाग्छ, वर्तमानमा स्वाभिमान– स्वाधीनतासँगै संकटमा परेको छ । संकटमा पार्नेहरु, उनलाई कौतुहलको आ“खाले हेर्यो भने पनि आँखा फोर्न खोज्छन् । स्वर रोक्न खोज्छन् । उनीहरु हिजै जस्तो गर्न खोज्छन् ।
आजकाल परिवर्तन भयो भन्ने एउटा स्वर सुनिन्छ, तर हैन परिवर्तन भएन । यसो भन्नेहरु मात्र परिवर्तन भए । समग्रमा कोही परिवर्तन हुनुको के अर्थ र ? हो, आँखा फोर्न सकिंदैन । स्वर रोक्न सकिदैन । आकास यथावत छ । धरती यथावत छ । परिवेश यथावत छ । आ“खा र स्वरहरुले आगत देखेकै छैनन् । पानी त परेन परेन । पानी परेर पनि केही भएन । लाग्छ– साँच्चै यसपल्ट पनि बाली लागेन ।