प्रतिदिन दैनिकमा फाल्गुण २३ गते प्रकाशित
 एउटा समाचार छ । काठमाण्डौ बबरमहलकी अस्मिता रिजाल र बुटवल गैडाकोटका दीपेन्द्र कार्की कलेज जीवनमै प्रेम बन्धनमा बाँधिएछन् । उनीहरुले प्रेमलाई बिबाहमा पनि परिणत गरे । जब बिबाह भोजको प्रसंङ्ग आयो , उनिहरुले बिबाह भोज गरेनन् । भोजमा खर्च गर्ने रकम रु एकलाख एकहजार कृष्ण गण्डकी निमाबिलाई दिए र त्यो रकम अक्षयकोषमा राखेर त्यस्को ब्याजबाट गरिव बिद्यार्थीहरुलाई किताब कापी र पोषाक खरीद गर्न शर्त राखेकाछन् । समाचार त यति हो तर समाचार भित्र अलिक धेरै समाचार छ । सन्देश छ । बर्तमानमा यस समाचारको सान्दर्भिकता छ ।
मान्छेहरुले उनलाई मूर्ख पनि भन्लान्  र राम्रो बिचार भएका भनेर प्रशंसा पनि गर्लान् । जस्को जत्रो मानसिकता छ त्यत्रै कुरा सोच्ने र भन्ने हो । मलाई भने लागेकोछ ,− दीपेन्द्र र अस्मिताले नाश भै रहेको गतिलो बिरुवाको बिऊ जोगाएका रहेछन् । समाजमा राम्रा कुराको स्थापना गर्न उनिहरु उत्साहित हुनुले समाजमा दूरगामी सकारात्मक प्रभाव उत्पादन गर्दछ । अझ बत्तिको लहरमा एउटा बत्ति थप्नु भन्दा अन्धकारमा एउटा बत्ति बाल्नु अनेकौ महत्वको हुन्छ । भ्रष्टाचारले मुलुकलाई ऐठन गराइ रहेका बेलामा आफुले कमाइ गर्न नथाल्दै आफ्ना संरक्षकबाट बिबाह भोज गर्न पाएको रकम गरिव बिद्यार्थीका किताब र पोषाक किन्न प्रदान गर्ने कुरा हाँसका बथानमा बकुल्लै सही तर सुन्दर, आकर्षक र उज्यालो बकुल्लो, भ्रष्टाचारी हाँस भन्दा धेरै गुना राम्रो हुने कुरामा सन्देह छैन । मन नै त यस्ता बकुल्लाले भ्रष्टचारीहरुको पनि छुन्छ  र यस्तो प्रसङ्गले उनलाई कठोर झापड दिन्छ । मुक्त कण्ठले प्रसंशा गर्नु पर्छ − अस्मिता र दीपेन्द्रको यस कार्यको ।
वास्तवमा समाजमा व्यप्त भ्रष्टाचारका एक हेन अनेक कारण छन् । ती मध्ये हाम्रा सामाजिक कार्यहरु भड्किलो हुनु पनि एक हो । समाजमा त्यस्ता कार्यहरु सजधजका साथ गर्ने र प्रतिस्पर्द्धा गर्ने होड चलेको पाइन्छ । बिबाहका भोजहरु  मेला बजार जस्ता हुन्छन् । आउने, जाने , खाने मानिसहरुको संख्या हजारौ पनि पुग्छ । भोज त बिबाहको एउटा अङ्ग भयो । भोजकै स्तरको अरु पनि सजधज हुन्छ । फुलमाला , जन्ती जाने , एकले अर्कातर्फका लाई खुवाउने − एउटा बिबाह दशौ उत्सव जोडेरमात्र पूरा हुन्छ र यस्तो क्रम हप्तौ चल्छ । यस्तो कुरामा गर्ने खर्च मान्छेले कहाँबाट आर्जन गर्छ ? यो प्रश्नमा बिचार गर्दा लाग्छ − यस्ता भोज र उत्सबहरु पनि भ्रष्टाचारका श्रोत हुन् । मानिसको भड्किलो रहन सहन र प्रबृत्ति पनि भ्रष्टाचारका प्रेरक हुन् ।
त्यसो त यस्तै कुरालाई ध्यानमा राखेर एउटा सामाजिक ब्यबहार सुधार ऐन आएको छ । यो ऐन अस्तित्वमा पनि छ । यसले उत्सबका भड्किला पक्षहरुलाई रोक लगाएको छ । नियन्त्रण गरेकोछ , तर आजभन्दा ३५ बर्ष अगाडि आएको त्यो ऐन फगत ऐनका किताबलाई अलिक मोटो बनाउने कुरा सम्ममा सिमित रहेको छ ।  त्यस ऐनलाई शून्य ऐन भनिदिदा फरक पर्ने छैन । त्यो ऐनका आधारमा कँही कारवाही चलेको सुनिएको छैन र हाम्रा सामाजिक उत्सबहरु हेर्दा त्यो ऐनको अस्तित्वको बोध हुदेन । सामाजिक तथा ब्यबहारिक कार्य र उत्सबहरुमा खर्चको खोलो बगाउने होड चलेको छ ।
यस्तो दुषित होडले एकसाथ अनेक प्रतिकृया र प्रभाव समाजमा उत्पादन गरेको छ । खास गरेर निम्न बर्गिय र निम्न आय भएका मानिसहरुलाई यस्ता कार्यहरु सम्पादन गर्न टाउकामा घन बजार्नु पर्दछ । उनले रिन पान गरेर, जो भएको जाय जेथा बेचेर मात्र त्यस्ता कार्यहरु गर्न संभब हुन्छ भने लामा हात भएका, भ्रष्टाचारको कार्य सम्म हात लम्काउन संभब हुनेले यस्ता कार्यहरु सम्पादन गर्न पनि भ्रष्टाचारको उन्नत स्वरुव प्रयोग गर्छन् । भ्रष्टाचारमा मल जल हुन्छ । भ्रष्टचार सप्रेर फल्छ र भ्रष्टहरु सन्तानका बिबाह र सामाजिक ब्यबहारमा कालो धनको खोलो बगाउछन् । तस्करहरुको कथा पनि भ्रष्टहरुको भन्दा भिन्न हुदैन । उनले तस्करी गरेर , भ्रष्टाचार गरेर कमाएको धन त बगाए, समाजको सरोकार भ्रष्टाचार र कालोबजारीमा सम्म मात्र हुने तर्क आउला , तर वास्तविकता त्यतिमात्रमा सिमित हुदैन । समाजमा उनले बगाएको कालो धनको खोलोले सर्वत्र हलचल जगाउछ र अनेक सामाजिक दुष्परिणाम सिर्जना गर्दछ । छिमेकी र आफन्तका परिवार तथा खर्चको खोलो देखेका परिवारमा इर्श्या पनि जन्मन्छ र प्रतिष्पर्द्धाको होड पनि जन्मन्छ । त्यस्ता कुराले उत्पादन गर्ने जुनसुकै परिणामले समाजलाई ओरालो नै लगाउछ । समाज यसरी ओरालो लागि रहेछ । परिणाम भ्रष्टाचार र कालोबजारी उन्नत हुदै गएको छ ।
भ्रष्टाचारको आरोप अदालतबाट ठहर भएर जेल जाने पछिल्ला मान्छे जे पी गुप्ता हुन् । जेल जाँदाजाँदै उनले मधेश आन्दोलनलाई पो अदालतले दण्ड गरेको भने । यो नयाँ कुरा हेन, हरेक अपराधीले अदालतबाट आफ्नो अपराध ठहर हुदा यस्तो भन्छन् नै । मैलै भ्रष्टाचार गरेकै हो , न्यायाधिसहरुले ठिक फैसला गरे , उनलाई बधाई छ भनेर त कस्ले भन्छ र ? तर जेलमा पुगे पछि गुप्ताले एउटा कुरा भने सत्य भनेकाछन् । उनले भने − ” म मात्र हैन, २०४७ साल पछि पदमा गएका अधिकाँसले भ्रष्टाचार गरेर आर्जन गरेका छन् ।” उनको पछिल्लो अभिब्यक्ति भने सत्य हो । वास्तवमा यिनै पद धारीहरुले मुलुकमा भ्रष्टाचारलाई हिमालचुलीमा पुर्‍याए । समाज छिया छिया बनाए । भ्रष्टाचार मुलुकका लागि क्यान्सर भन्दा घातक रोग भएको छ र मुलुकको बिकासमा यो नै अवरोधका रुपमा रहेको छ ।
काठमाण्डौमा चर पनि छत पनि भ्रष्टाचाले निर्मित घर धेरै छन् । कतिको भ्रष्टाचार बाहेक गर्ने हो भने नियमित आम्दानीले मसला सम्म पुग्दैन तर उनको रवाफ, धाक , खर्च हेर्ने होभने कहाली लाग्छ । मुलुकलाई जहाँबाट पनि जसरी पनि जो सुकैले चुसेकाछन् । राजधानी मात्र हैन, मोफसल पनि यस्ता प्रसंगहरुले मुक्त छैन । साह्रै सजिलै गर्न सकिन्छ −भ्रष्टचारीको नापजोख । उस्को जीवन पद्धति , हाउ भाउ आर्थिक चलखेल आदि र उस्को कमाइको साइज १ इन्ची फरक परेन भने मात्र उ भ्रष्टाचारी हैन । तर नाप जोखगर्नेहरु नै साइज मिलेका नभएर संकट परेको छ ।
मुलुक भ्रष्टाचारले यसरी थाङ्थिलो भएका बेलामा २जोडी आमा बाबुले अश्मिता र दीपेन्द्रलाइ जन्माएका रहेछन् । उनको अधिनन्दन गर्नु पर्दछ र धेरै आमा बुबाले अश्मिता र दीपेन्द्र जन्माउन् भन्ने कामना गर्नु पर्दछ ।

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *