गणेश बहादुर प्रसाईको निधनको समाचारले मलाइ विदेशको भूमिमा स्तब्ध बनायो । म अमेरिकाको क्यालिफोर्नियामा थिएँ । मेरा मित्र गोपाल कुमार बस्नेतले वहाँको फेसबूकमा यो दुःखद समाचार स्टाटसमा लेख्नुभएको थियो । त्यस बखत मेरो मानस पटमा धेरै कुरा आए । गणेश बहादुर प्रसाईको नाम सुनेको, चिनेको देखीको समय र अन्तिम पटक भेट भए सम्मका समयका अनेक घटनाहरू मेरो स्मृतिमा आए । मलाइ नै थाहा छैन, किन हो ? यो मृत्युको समाचारले मलाइ अलिक बढि नै सतायो । मेरा केही इच्छाहरू पूरा भएनन् । अधुरो रहे । केही कुराहरू मनमै रहे । केही प्रश्न र कौतूहलहरू यथावत् रहे । मैले सम्झेँ – साहित्यमा, राजनीतिको विश्लेषणमा, समाज विकाशका लागि गम्भीर चिन्तनमा मुलुकमा एउटा ठूलो खाडल बनेको छ । गणेश बहादुर प्रसाईबाट पूरा हुने त्यो स्थान अब अरूबाट पूरा हुन गाह्रो छ । गणेश बहादुर प्रसाईलाई मैले अनेक क्षमता भएका एक व्यक्तिका रूपमा पाएको थिएँ । अब यो इतिहास बनेको छ र मेरा लागि अब गणेश बहादुर प्रसाई फगत स्मृतिमा मात्र सजिनु भएको छ ।
२०७१ सालको वैशाख मध्यतिर एक दिन गोपाल कुमार बस्नेतले फोन गरेर मलाइ बिर्ता सिटी अस्पतालमा एउटा कार्यक्रममा निम्तो दिनु भयो । अस्पतालको कार्य थालनी भएको सन्दर्भमा आयोजित त्यो चियापान कार्यक्रममा म अलिकति ढिलोगरी पुगे । धेरै मानिस थिए । एक छेउमा टुंग बहादुर बस्नेत र गणेश बहादुर प्रसाई बस्नु भएको थियो । मेरो आकर्षणका केन्द्र वहाँहरू नै हुनुभयो । अलिक पर रहेको एउटा कुर्सी तानेर म पनि त्यहाँ मिसिएँ । दुवै पाका मानिसहरूका कुरा सुनि रहेँ । धेरै त गणेश बहादुर बोल्नु हुन्थ्यो । वहाँका विश्लेषण व्याख्या सुनी रहन म लोभिन्थे । दर्शन , विज्ञान, इतिहासका विषय मिलाएर कुरा गर्ने वहाँको शीप र कला मलाइ अद्भुत लाग्थ्यो । वहाँले वर्तमान राजनीतिका विकृत कुराहरूको सटीक विश्लेषण गर्नु भयो । मेरा केही कौतूहलहरूको सरल तरिकाले जबाफ दिनु भयो । आफू दार्जिलिङमा विद्यार्थी रहदा महिलाहरूका विरुद्धमा हुने कारबाहीहरू बताउनु भयो । महिलालाई बदनाम गर्न घिसार्न लगाउने र घरका न घाटका बनाउने सामाजिक प्रचलन रहेको चर्चा गर्दै अहिले पनि महिलाका विरुद्ध समाजमा धेरै खराब प्रथा कायम रहेको वहाँको मत रह्यो । उदाहरणमा छाउपडी प्रथा कायम रहेको बताउनुभयो । एउटी अबोध नानीलाई रजस्वला हुँदा घरमा बस्न नदिने हामी क्रूर बाबु आमा लोकतान्त्रिक भएको स्वाङ गर्छौ भन्ने वहाँको मत थियो । वहाँका तर्कले म रन्थनिएँ । त्यस दिन मलाइ एउटा लोभले सतायो । मलाइ अलिक फुर्सत भएका क्षणहरूमा वहाँ सँग लामा कुरा गरौ र तिनलाई रेकर्ड पनि गरौं । तर त्यो दिन आएन । जीवनमा मेरो इच्छा अधूरो रहयो । त्यसको केही दिनमै म अमेरिकाको निजी यात्रामा निस्केँ र मैले त्यही वहाँको निधनको समाचार सुनेँ । बिर्ता सिटी हस्पिटलमा म वहाँसँग बिदा भएको थिए । उपचारार्थ भर्ना भएका बेलामा त्यही वहाँको निधन भएछ ।
पहिलोपल्ट २०१९ साल तिर मैले गणेश बहादुर प्रसाईको नाम सुनेको थिएँ । त्यस समयमा मैले केही दिन पढेको त्रि मोहन हाइ स्कूलको वहाँ पूर्व शिक्षक भै सक्नुभएको थियो । २०१५ सालको आम चुनाव लडी सक्नु भएको थियो । २००७ साल अगाडी नै वहाँले राजनीतिमा सकृय भएर जेल नेल भोगी सक्नु भएको थियो । पूर्वमा पक्राउ परेर अड्डासार हुँदै काठमाण्डौका जेल बसी सक्नुभएको थियो । झापामा कम्युनिस्ट पार्टी स्थापना गरेर यसको सचिव भै सक्नु भएको थियो र झापामा चलेको खमार बन्द आन्दोलनको नेतृत्व गरि सक्नु भएको थियो । वहाँका बारेका यी मध्ये केही कुरा मैले २०१९ सालमा सुनेको थिए र रोमाञ्चित भएको थिएँ । त्यसपछि संखुवासभा‚ पोखरी‚ इलाम र शनिश्चरेमा शिक्षक हुनुभएको कुरा पनि जानकारीमा लिएको थिएँ ।
“मुर्कट्टाको देश र मेरो देशको वाक स्वतन्त्रता “ भन्ने वहाँको लेख २०२५ तिर झापाबाट प्रकाशन भएको पञ्चामृत पत्रिकाले छापेको छ । संयोगले म पनि केही पछि त्यो पत्रिकाको सम्पादक बने । वहाँको त्यो लेख मैले धेरै पल्ट पढे । त्यो लेखबाट नै मैले गणेश बहादुर प्रसाईका लेख रचनाहरू नछोडी पढ्न थालेँ । वहाँका साहित्यिक र राजनीतिक दुवै खाले रचनाहरू मेरो चाख र तुष्टिका विषय रहन्थे । साहित्यमा वहाँ गम्भीर लाग्नु हुन्थ्यो । वहाँका राजनीतिका बारेमा लेखिएका विचारोत्तेजक लेखहरूले समाज र राजनीतिक वृत्तमा हलचल पैदा गर्थे । वहाँको कलम माझिएको, परिमार्जित थियो र स्पष्ट र निर्भीक बिचारको अभिव्यक्ति वहाँको विशेषता थियो ।
वहाँ आफूलाई लागेको कुरामा दृढताका साथ लाग्नु हुन्थ्यो । मुलुकको गुम्सिएको अवस्था प्रति वहाँ असन्तुष्ट हुनुहुन्थ्यो । त्यसैले २८ / २९ सालतिर मुलुकबाट निर्वासित हुनुभयो । त्यति बेला बी पी कोइराला भारतमा निर्वासित हुनुहुन्थ्यो । वहाँ बी पी कोइरालासँग रहनुभयो । नेपाली काङ्ग्रेसले त्यस बेला सशस्त्र सङ्घर्ष चलाएको थियो । आफूलाई लागेको कुरामा अडिग रहेर अगाडी बढ्ने वहाँको स्वभाव थियो । बी पी कोइराला सँगको सह यात्रा धेरै दिन टिकेन । वहाँ नेपाल फर्कनुभयो । बि पी पनि २०३३ सालमा मेलमिलापको नीति लिएर नेपाल फर्कनु भयो ।
२०३६ सालमा भएको बहुदल निर्दलको अभियानमा वहाँ सुधारिएको पञ्चायतको पक्षमा लाग्नु भयो । निर्दल पक्षधरले वहाँबाट बौद्धिक सहयोग पायो । वहाँले बहुदलको विरुद्ध र निर्दलको पक्षमा झापाबाट प्रकाशन हुने विवेचनामा धेरै लेख लेख्नु भएको छ । तै पनि वहाँ पुराना पञ्चको जस्तो बिचार राख्नु हुँदैनथ्यो‚ तर जब सुधारिएको पञ्चायतले विजय हासिल गर्यो वहाँले जीत महसुस गर्न सक्नु भएन । पञ्चायतका बारेमा आलोचनात्मक रहनु भयो ।
साहित्यका समीक्षा र निबन्ध विधामा वहाँको दखल थियो । वहाँका ‘दीर्घ प्रतीक्षा’ र ‘त्यो धनकुटा’ जस्ता निबन्ध छन् भने “सुवानन्ददेखि राजीवलोचनसम्म“, ‘नेपाली साहित्यमा स्वच्छन्दतावादी काव्य धारा’ र माध्यामिक कालीन काव्य साहित्यको विवेचना जस्ता समीक्षा रहेका छन् । पछि वहाँले प्रज्ञा प्रतिष्ठानमा धेरै समय बिताउनु भयो । धुलाबारीको त्रिफला पुस्तकालयको प्रवर्धनमा वहाँको ठूलो योगदान रहेको छ ।
हो‚ अब गणेश बहादुर प्रसाई हामीसँग हुनुहुन्न । वहाँ हाम्रो स्मृतिमा मात्र हुनुहुन्छ । वहाँ इतिहास भै सक्नुभयो । वहाँका विभिन्न काल खण्डका संलग्नता ‚ दृष्टिकोण र अभिव्यक्ति तानेर मानिसहरू वहाँको समर्थन र विरोध गर्छन् । मलाइ लाग्छ ‚ त्यो वहाँका हकमा जरुरी छैन । संसारका सबै मान्छे अरूले चाहे जस्तै हुँदैनन् । त्यसमा पनि वहाँको छुट्टै विशेषता थियो । त्यो मौलिक थियो । वहाँको स्वाभिमानलाई कसैले निहुराउने कल्पना नगरे हुन्थ्यो । वहाँ विद्वतामा रमाउन मन गर्नु हुन्थ्यो । वहाँ विद्वान् हुनुहुन्थ्यो ।