आजकल आत्मकथा लेख्ने र प्रकाशन गर्ने हरुको लर्को लागेको छ । पद, प्रतिष्ठा र व्यवसायमा रहेर निवृत्त भएका मानिसहरूमा यस्तो रुची बढेको छ । पुस्तक पसलहरूमा आत्मकथाका पुस्तकहरू टन्न पाइन्छन् । सेवा निवृत्तहरू जो सँग सम्पन्नता पनि छ र फुर्सद छ, उनीहरू आत्मकथामा बग्न रुचाउँछन् । अझ छद्म लेखन ( घोष्ट राइटिङ् ) को प्रयोग आए पछि लेखकीय शीप नभएका, फुर्सदमा रहेका र आर्थिक समस्या नरहेका पूर्व पदाधिकारी, व्यवसायी र जो सुकैले पनि आत्मकथा लेख्ने गरेको पाइन्छ । त्यो समयको समाज, इतिहास, जीवन र अन्य धेरै कुरा आत्म कथाले बोध गराउँछ भने लेखकको जीवनका अनेक पहलुको चित्र पनि यसले स्पष्ट देखाउँछ । आत्म कथाका अनेक सकारात्मक कुरा त छन् नै तर त्यो वर्गका आत्म कथामा आउने आत्म रति र आत्म प्रशंसाका कुराले भने पाठकलाई पिरोलेको छ । त्यसता कृतिहरू साहित्यका हिसाबमा कति पठनीय र उत्कर्षका हुन्छन् भन्ने प्रश्न पनि जोडिएको हुन्छ ।
यस्तो परिवेशमा हाल झापा विर्तामोड निवासी दीपेन्द्र अधिकारी पनि आत्मकथा लिएर आउनुभएको छ । वहाँको आत्म कथाको पाण्डुलिपि पढी सकेपछि माथि उल्लेख प्रवृत्ति, परिवेश र व्यक्तिहरूका लागि दीपेन्द्र अधिकारीको आत्म कथा चुनौती बन्ने मैले महसुस गरेको छु । दीपेन्द्र अधिकारी कुनै पद, अवसर, सम्पन्नता तथा आधुनिक संसारको कुनै सुविधामा नजोडिएको मान्छे जसको औपचारिक अध्ययन पाँच कक्षा सम्म मात्र रहेको छ, वहाँले तयार पार्नु भएको यो आत्म कथालाई मैले चमत्कार जस्तै पाएको छु । लेखनको सरलता र स्वाभाविकता सलल बगेको, लेखनको गति, लेखकको जीवन र जगतलाई हेर्ने दृष्टिकोण आदि कुराहरू यस कृतिमा मैले विशिष्ट रूपमा पाएको छु । छद्म लेखनको परिचयबाट टाढा रहनु भएका दीपेन्द्र अधिकारीले यस कृतिमा प्रस्तुत गर्नु भएको शीप र आफ्नो परिवेशबाट प्रस्तुत गर्नु भएको लेखन सौन्दर्यले मलाई, मेरो मनलाई छोएको छ ।
दीपेन्द्र अधिकारीको आत्म कथामा जम्मा २६ शीर्षक छन् । बाल्य काल देखि वर्तमान सम्मका अलग –अलग घटनाक्रमहरूलाई समेटेर अलग – अलग शीर्षकमा लेख्नु भएको छ । अनकन्टार पहाडको कुनामा जन्मेर अभाव, भोक, रोग, गरिबीको चपेटा भित्र बाल्य काल बितेको छ । सबै कुराको अभाव छ । प्राकृतिक सौन्दर्यमात्र छताछुल्ल छ । सबै कुराको अभावै अभाव हुँदा प्राकृतिक सौन्दर्य उपभोग हुन सक्तो रहेनछ । त्यो त लेखकलाई अहिले मात्र स्मरण गरेर रोमाञ्चित हुन काम लागेको छ । सत्य यस्तै हो । ‘मेरो बाल्य काल’ शीर्षकमै तत्कालीन समाज, समाजको आर्थिक अवस्था , चेतना र भूगोलको चित्र स्पष्ट देखिन्छ । ताप्लेजुङको सिकैचा प्रतीक मात्र हो । मुलुकभरिको चित्र यस्तै हो । अहिले पनि लेखकलाई बाल्य काल र माटो प्रिय छ । त्यो माटोको सुगन्धले अहिले पनि लेखकलाई लठ्याएको छ ।
स्कूल पढेर भविष्य निर्माण गर्ने बेलामा गोठ बसेर, गाई भैँसी सित रमाउने तत्कालका बालकहरूको बाध्यता हो । योग्य शिक्षकहरू नभएको नाममात्रको स्कूलमा पाँच कक्षामात्र अध्ययन गरेर दुई वर्ष गोठ बसेका लेखकको कौतूहललाई गाई, भैँसी, चरन, जङ्गल , बाघ समेतले नियन्त्रण गर्न सकेनन् । सुनेको मदेशले लेखकलाई तान्यो । मदेश झर्दै गर्दा लेखकको आत्म कथा नियात्रामा फेरियो । मदेश कहाँ सबैका लागि सुने जस्तै सुगम हुन्थ्यो र ॽ विपन्नका लागी मदेशको अलग कहर छ / त्यसता अनगिन्ती कहर सँग लाप्पा खेलेको सत्य कथा हो लेखकको आत्म कथा । त्यस्तै कहरले लेखकलाई कहिले मदेश कहिले मणिपूर र कहिले दार्जिलिङ पुर्याउँछ । लाहुरे बन्ने असफल प्रयास गराउँछ । जहाँ गए पनि शून्य हात लाग्छ र बर्मा गयो कर्म सँगैको आहान चरितार्थ हुन्छ । गरिबीको जङ्गलको माझमै थीरा भट्टराई सँगको वैवाहिक बन्धन र त्यस पछिका व्यवहारिक कठोरताहरूलाई लेखकले हृदयस्पर्शी रूपमा वर्णन गर्नु भएको छ । जीवन साथी सँगको सम्बन्धको सुमधुरतामा भने बिघ्न र व्यवधान देखिँदैन । अनेक कष्ट खपेर लेखकलाई साथ दिनु उहाँकी जीवन सँगिनीको प्रवृत्ति देखिएको छ । लेखकका लागि यो सम्बन्ध सकारात्मक बनेको छ ।
मुलुकको राजनीतिक परिवेशमा जन्मेको नेकपा मालेले युवा अवस्थाका लेखकलाई आकर्षण गरेर यसको कार्यकर्ता बनायो । लेखकको घर मालेका नेता कार्यकर्ताका लागि सुरक्षित आश्रय स्थल र अड्डा बन्यो । दम्पतीले आफूलाई पस्केको भाग नेता कार्यकर्तालाई सारेर आफू भोकै बसे । जाडो महिनामा गम्छा ओढेर सुकुलमा सुते । आफ्ना ओछ्यान नेता कार्यकर्तालाई छाडी दिए । छुट्टिएको वर्ष मूल घरबाट चामल ल्याएर खाने क्रममा नेता, कार्यकर्तालाई धेरै खुवाउनु परेपछि चामल बेचेको आरोप सहनु पर्यो । २०५० सालको उपचुनावमा लेखकको खटाइको उत्साह र विश्वासमा तुषारपात भयो । आफ्नो उम्मेदवारले पराजय व्यहोराको घटनाले लेखकलाई आहत बनायो र निराश बनायो । बिरामी परेर उपचारमा रहनु पर्यो । भूमिगत कालमा रगत र पसिना बगाएको र तत्काल आश्रय दिएका नेता कार्यकर्ताले सत्ताको उपल्लो तहमा बसेर कमिसन र भ्रष्टाचारको ताण्डव मच्चाएको विषयले लेखकलाई अहिले चोट पुगेको छ । लेखकले यहाँ पनि आफू प्रतिक बनेर मुलुक बासीको मनको पीडा कहनु भएको छ ।
परम्परागत कृषिबाट गुजारा नचलेपछि लेखक लाइ व्यापारको धूनले काठमाडौं पुर्यायो । अलिक ठूलो नोक्सान र ऋणको पोको बोकाएर काठमाण्डौले लखेट्यो । लाग्छ, लेखकको जीवनमा दुख ढुकेर बसेको छ र एउटा बाट मुक्त नुहुँदै अर्को फुत्त पस्छ । यी तमाम घटनाहरूले लेखकलाई महसुस भएको छ , कृषि वा व्यापार जेसुकै कार्य पनि व्यवस्थापकीय ज्ञान र शीप बिना सफल हुन सक्दैन । लेखकले प्रस्तुत आत्म कथामा यो सन्देश प्रवाह गर्नु भएको छ ।
अहिले लेखक व्यवसायमा केही सफलता सहित झापाको विर्तामोडमा बस्नुहुन्छ । यो आत्म कथा प्रकाशन गर्ने अभिलाषा राख्नु भएको छ । लेखनमा लेखकको यो पहिलो प्रयत्न हो । उत्साहप्रद त छँदैछ । वहाँले यहाँ धेरै सन्देश र ज्ञान प्रवाह गर्नु भएको छ । सङ्घर्षले एक दिन सफल बनाउँछ भन्ने उदाहरण बन्नु भएको छ । लेखकले पाँच कक्षा सम्म औपचारिक शिक्षा हासिल गर्नु भएपनि लेखक अध्ययनशील र विचारवान् रहेको वहाँको लेखनले पुष्टि गर्दछ ।
देश प्रेमले ओतप्रोत भएको, रगतको कण कणमा इमानदारी रहेको, मिहिनेत गर्न नछाड्ने , कुनै कार्यमा लागि रहने यस्ता धेरै गुण भएको व्यक्तिका रूपमा मैले लेखकलाई यस कृति मार्फत पाएको छु । जीवन भर ज्यादै दुख खपेर व्यवसायमा अहिले आएर केही सफलता प्राप्त गर्नु भएको छ र अर्को पनि एउटा सफलता हात परेको छ । त्यो हो , लेखन जो यस कृतिले प्रमाणित गरेको छ । लाग्छ, कृति पठनीय छ र धेरै कुराको सन्देश प्रवाह गर्न कृति सफल छ ।
अन्तमा लेखकले लेखनलाई निरन्तरता दिन सक्नुहोस् र जीवनको मध्य तथा उत्तरार्द्धमा यस्ता अरू धेरै कृतिहरू दिन लेखक सफल हुनुहोस् । मेरो शुभकामना ।
२०७७ माघ २२
विर्तामोड, झापा ।