—–

नरेश कुमार बर्मा रहनु भएन । हामीसँग फगत वहाँको स्मृतिमात्र रहेको छ । वहाँले गर्नु भएका असल कामका स्मरणहरू हामी सँग रहेका छन् । त्यसो त अहिले असल काम र योजनाहरू झोक्राएर, छेउ लागेर‚ कुनामा बस्ने समय आएको छ ।  थाहा छैन, वहाँका असल  काम र योजनाहरू कसरी संरक्षित हुने हुन् ॽ आगामी पुस्ताले वहाँले समाजमा छाड्नु भएका असल कार्यहरूको सदुपयोग कसरी गर्ने ॽ त्यो आउने पुस्ताकै हातमा रहेको छ ।

म भने नरेश कुमार बर्मालाई गुमाउनु पर्दा अलिक बढि खाली भएको छु । मेरो व्यवसायको गुरु‚ संरक्षक र सधैँ मित्रवत् सम्बन्धबाट हामी बाँधिएका आदि कुराहरूको स्मरण गर्दा मेरो जीवनमा वहाँ जस्तै सम्बन्धका  अरू कोही मानिस मेरो स्मृतिमा तान्न सक्दिन । आधा शताब्दीको सम्बन्धका पानाहरू म फरफर पल्टाउँछु । जीवन बोध गर्छु ।  

द्रोणाचार्य क्षत्री र म परिचय लगत्तै गहिरो मित्रतामा पस्यौ । हामी भद्रपुरको नमुना स्कूलमा सँगै अध्यापन गर्थ्यौ ।  एक दिन द्रोणाचार्यजीले म सँग एक युवकको परिचय गराउँदै वहाँको नाम नरेश कुमार वर्मा भनेर चिनाउनु भयो  । नाम त मैले पहिले नै सुनेको थिएँ । पहिलो भेटमै म वहाँको भद्र र शालीन व्यक्तित्वबाट प्रभावित भएँ । साथै वहाँहरूको मित्रताको गुण र गम्भीरताले मलाइ लोभ्याइ रहयो । म वहाँहरूको मित्रतामा भित्रिँदै गएँ । दुवैसँग मौलाउँदै गएको मित्रतासँग मैले गर्व गरे । आज पनि गर्व गरेको छु । केही समय पछि द्रोणाचार्य क्षत्रीले परिचय गराउनु भएका नरेश कुमार वर्मा नै मेरो कानुन व्यवसायको गुरु हुनुभयो । वहाँको फर्ममा वकालत सिक्न पसेको म लामो समय सम्म एउटै ल फर्ममा बसेर कानुन व्यवसायमा रमायौ । पछि वहाँ व्यापार व्यवसायमा लागेर वकालतबाट लगभग निस्कनु भयो । मैले जीवनका ४० बर्ष वकालतमा बिताएँ । यसै पहिलो परिचय भएका दिनदेखि दुबैजाना सँग मैले मित्रवत् सम्बन्ध पाएँ र घनिष्ठता  पाएँ र मलाइ लागेको छ म यति हुनुमा वहाँहरू दुवैको ठूलो योगदान जोडिएको छ । त्यसैले गएको २०७३ चैत्र  १२ मा मैले नरेश कुमार वर्माको निधनको पहिलो सूचना जब पाएँ‚ झापामा मेरो लागि आकाश खसेको र धरती भास्सिएको जस्तै महसुस भयो ।

द्रोणाचार्यको निधन पश्चात् नरेशजी र मेरा फुर्सतका गफमा अधिकांश समयमा द्रोणाचार्य क्षत्री आउनु हुन्थ्यो । हामी घण्टौ वहाँका बारेमा कुरा गर्थ्यौ । हाम्रो निष्कर्ष रहन्थ्यो हामीले वहाँलाई जति बुझ्न सकेका थियौ अरू कमैले त्यति बुझेका थिए र वहाँको पूर्ण क्षमता व्यक्त हुन नपाइ वहाँ बित्नु भयो। हाम्रो यस्तै निष्कर्ष थियो ।

अब त नरेश कुमार बर्मा पनि यस धरतीमा रहनु भएन  । अब म एक्लै भएको छु । द्रोणाचार्य क्षत्री र नरेश कुमार बर्माले समाज र मुलुकका लागि दिनु भएको योगदानका बारेमा म एक्लै स्मरण गरी रहेछु । यो स्मृतिको कुनै निकास निस्कँदैन ।

नरेश कुमार बर्मा झापाको पहिलो अधिवक्ता हुनुहुन्थ्यो । झापामा वहाँ भन्दा पहिला वाचस्पति निरौला‚ शारदा प्रसाद उपाध्याय‚ जगन्नाथ उपाध्याय लगायत केही अभिवक्ता र अभिकर्ताहरू कानुन व्यवसायमा कार्यरत हुनुहुन्थ्यो । त्यसो त स्वयं नरेश कुमार वर्माका पिता गंगा प्रसाद खत्रीले पनि निवृत्त जीवन झापामा कानुन व्यवसायीका रूपमा बिताउनु भएको रहेछ । वहाँका सहोदर दाजु गोपाल प्रसाद खत्री सर्वोच्च अदालतको न्यायाधीश बनेर हाल निवृत्त जीवन बिताइ रहनु भएको छ । झापाको भद्रपुर र काठमाण्डौको थलीमा बसोबास भएका वहाँले झापामा कानुन व्यवसायलाई निरन्तरता दिएर  झापाली समाजमा आधुनिक वकालतको जग स्थापना गर्नु भयो र यसको विकासका लागि यथेष्ट योगदान पुर्‍याउनु भयो ।

बचपनबाटै कृष्ण प्रसाद घिमिरे सँग पारिवारिक रूपमा घुलमिल हुनु भएका  वहाँलाई घिमिरेले नै कानुन व्यवसायी बनाएको वहाँ बताउनु हुन्थ्यो । आइ एस्सी, बि कम र बी एलको पढाइ पूरा गरेर अधिवक्ता र अडिटरको प्रमाणपत्र लिनु भयो । तै पनि सरकारी सेवामा प्रवेश गर्ने सोचबाट पूर्ण मुक्त हुन सक्नु भएको थिएन । एक दिन  शाखा अधिकृतको परीक्षा दिन लोकसेवा आयोगको फर्म किनेर आउँदै  गर्दा बाटामा भेटेर कृष्ण प्रसाद घिमिरेले फर्म मागेर च्याती दिनु भयो र  भोलिपल्टैबाट आफ्नो फर्ममा आएर काम गर्ने र शाखा अधिकृतले पाउने तलवको दोव्वर पारिश्रमिक दिने भन्नु भए छ । त्यहाँबाट शुरु भएको नरेशजीको कानुन व्यवसाय झापा सर्‍यो । झापामा लामो समय अदालतमा सेवा गरेर निवृत्त हुनु भएका तथा तत्काल अभिवक्ताको प्रमाणपत्र प्राप्त गर्नु भएका जगन्नाथ उपाध्याय सँग मिलेर वहाँले ल फर्म शुरु गर्नु भएको थियो । त्यस बेला वहाँसँग अडिटरको प्रमाणपत्र पनि भएकोले केही काम पनि गर्नु भएको थियो तर त्यो व्यवसायमा वहाँ रमाउनु भएन । कानुन व्यवसायले नै वहाँलाई तानी रहयो ।

ऐन कानुनको पर्याप्त ज्ञान, तर्क क्षमता, आकर्षण बहस कला, मस्यौदा कलामा विज्ञ, पक्षको समस्या बुझेर  उपयुक्त कानुनी परामर्श दिने क्षमता, कठोर अध्ययन र मिहेनत आदि कुराहरू एउटा सफल कानुन व्यवसायीमा हुनु पर्ने गुणहरू हुन् । नरेश कुमार बर्मामा यी सारा गुण र क्षमता थिए । अझ वहाँको तर्क क्षमता र बहस कलाबाट जो कोही प्रभावित हुन्थे । यस्तै यस्ता गुणहरूबाट वहाँले वकालतको सगरमाथा टेक्न बेर लागेन । मानिसहरू वहाँको तर्क र बहस सुन्न लालयित हुन्थे ।  चर्चित मुद्दाहरूमा त वहाँको बहस सुन्न स्थानीय बौद्‍धिक समुदायको अदालतमा भिड लाग्थ्यो । चाँडै नै अर्को पक्षले वहाँलाई कानुन व्यवसायी रोज्न नपाएकोमा खिन्न महसुस गर्न लागेको थियो ।

यता नरेश कुमार बर्मा झापामा ल फर्म खोल्दै हुनुहुन्थ्यो उता झापाको मेची कलेजमा अध्यनरत तथा त्यस ताका मेची कलेज विद्यार्थी युनियनका सभापति  सी पी मैनाली अनारमुनि हाइ स्कूलमा विद्यार्थी युनियन खोल्दै हुनुहुन्थ्यो । प्रशासनलाई स्कूल स्कूलमा युनियन खोलिएको सह्य भएन ।  सी पी लाइ पक्राउ गरेर मुद्दा अदालतमा पेश भयो । शायद नरेश कुमार बर्माले झापामा पहिलो मुद्दा सी पी मैनालीको मुद्दामा बहस गर्नु भयो । यो समय २०२७ सालको अन्त तिरको हो । २०२८ , २०२९ सालमा नेपालको राजनीतिमा नै महत्वपूर्ण प्रभाव दिने घटनाका रूपमा रहेको झापा काण्ड घट्यो । त्यो काण्डमा सयौ मानिसहरू पक्राउ परे । उनका विरुद्धमा लागेको ज्यान लगायत अन्य मुद्दा पहिला जिल्ला अदालत र पछि विशेष अदालतमा चल्यो । ती मुद्दाहरूमा नरेश कुमार बर्माले बहस गर्नु भयो । धेरैका मुद्दा निःशुल्क लड्नुभयो । त्यति बेला झापा काण्डको अभियोगमा पक्राउ परेकाहरुको पक्षमा  मुद्दा लड्न सजिलो थिएन । नरेश कुमार बर्माले ती मुद्दा लडेको सुन्दा धेरैले जिभ्रो निकाल्थे ।

कानुन व्यवसायीको शुल्क तिर्न नसकेर अन्याय खप्नु पर्ने अवस्था भयो भने आफ्नो भूमिका शून्य रहन्छ भन्ने कुरा नरेश कुमार बर्मा सोच्नुहुन्थ्यो । वहाँ सामान्य शुल्क धेरै सेवा भन्ने मान्यतामा हुनुहुन्थ्यो । अदालतमा अहिले जस्तो वैतनिकको व्यवस्था थिएन । वारमा कानुनी सहायता समिति थिएन । जेलमा रहेका र अन्य असहायलाई मद्दत गर्ने संस्थाहरू थिएनन् । झापामा आर्थिक अभावका कारण कानुनी सेवा नपाएका व्यक्तिहरूलाई नरेश कुमार बर्माले व्यक्तिगत रूपमा सेवा दिने  कार्यको थालनी गर्नुभयो । पछि आउने कानुन व्यवसायीहरूले पनि यो कार्यलाई निरन्तरता दिए । पछिल्लो चरणमा यो कार्य संस्थागत भएको छ । त्यसैले पनि असहाय र बन्दीहरूले कानुन व्यवसायीको सेवा पाउन झापामा सहज वातावरण बन्यो ।

नरेश कुमार बर्माले वकालत थाल्नु भएका बेलामा अदालत सर्वोच्च, अञ्चल र जिल्ला गरेर तीन तहमा थियो । सुरुमा झापामा फर्म राखेर वहाँ मेची अञ्चल अदालतमा पनि जानु हुन्थ्यो । २०३१ सालमा क्षेत्रीय अदालत थपिएर अदालतका तह चार भए । पूर्वाञ्चलका लागि क्षेत्रीय अदालत धनकुटामा रहयो । क्षेत्रीय अदालतको गरीमा र महत्व ठूलो थियो । त्यसैले नरेश कुमार बर्माले क्षेत्रीय अदालत धनकुटामा बढी ध्यान दिनु भयो । त्यति बेला झापाबाट धनकुटा जान सजिलो थिएन । धरानको फुस्रेबाट दिनभरि पैदल हिँडेर धनकुटा पुगिन्थ्यो । उकालो ओरालो बाटो धेरै बिकटको थियो । केही समय पछि नै विराटनगरका  नारायण राज खरेल, राजविराजका रमा प्रसाद सिंह, धनकुटाका नगेन्द्र भक्त श्रेष्ठसँग मिलेर धनकुटामा पूर्वाञ्चल ल फर्म खोलेर २ महिनामा १५ दिन धनकुटा र बाँकी आफ्नो जिल्लामा बस्न लाग्नु भयो । यसबाट पूर्वाञ्चलका १६ जिल्लामा बिस्तार हुन तथा सेवा पुर्‍याउन अनुकूल अवसर मिल्यो । यो लेखकले २०३३ साल देखि नरेश कुमार बर्माको सहयोगी कानुन व्यवसायीका रूपमा यो कार्यतालिकामा सहभागी हुने मौका पायो । क्षेत्रीय अदालतमा उपस्थित हुने क्रम २०४७ साल सम्म रहयो ।  नेपाल अधिराज्यको संविधान २०४७ जारी भए पछि क्षेत्रीय अदालत हटेर पुनरावेदन अदालत हुन गयो र यसको मुकाम पनि विराटनगर तोकियो । त्यस पश्चात् अन्य व्यवसायको व्यस्तताका कारण वहाँ वकालतमा कम उपस्थित रहन थाल्नु भयो ।

नरेश कुमार वर्माको कानुन व्यवसायी व्यक्तित्वलाई धनकुटाले निक्खर बनायो । त्यो अवधिका क्षेत्रीय अदालतका  माननीय न्यायाधीशहरू सबैले नरेश कुमार बर्माको बहस कला‚ तर्क क्षमता‚ कानुनको ज्ञान र व्याख्या तथा मसौदा कलाको खुलेर प्रशंसा गर्थे ।  धनकुटाको वकालतले नै वहाँको वकालतका क्षेत्रको राष्ट्रिय व्यक्तित्व निर्माण भयो । तत्कालका कानुन व्यवसायीहरूका भेला‚ सभा‚ सम्मेलन वहाँले सकृय सहभागी भएर व्यवसायको उन्नतिका लागि धेरै महत्वपूर्ण योगदान पुर्‍याउनु भएको छ । २०४८ सालमा नेपालमा पहिलो पटक कानुन व्यवसायी परिषद् गठन भएको थियो । मोतीकाजी स्थापितको नेतृत्वमा  वहाँले त्यसको सदस्य बनेर पनि कानुन व्यवसायको विकासमा योगदान पुर्‍याउनु भएको छ ।

नेपालको कानुनी क्षेत्रका केही दिग्गज व्यक्तिहरू वहाँको क्षमतालाई राम्ररी बुझ्थे । ती मध्ये धेरै सँग वहाँको सुमधुर सम्बन्ध थियो । कृष्ण प्रसाद घिमिरेलाई वहाँ संरक्षककै रूपमा मान्नुहुन्थ्यो । विश्वनाथ उपाध्याय नरेश कुमार बर्माको मुक्त कण्ठले प्रशंसा गर्नु हुन्थ्यो । झापाका पुराना पत्रकार श्यामकृष्ण उपाध्याय विश्वनाथ उपाध्यायका मामा हुनुहुन्थ्यो । शयामकृष्ण रहुञ्जेल विश्वनाथ बाक्लै झापा जानु हुन्थ्यो । झापा पुगेपछि वहाँ नरेश कुमार बर्माको खोजी गर्नु हुन्थ्यो । फुर्सतमा वहाँहरूका घण्टौ कुरा चल्थे । धेरै पटक यस लेखकले पनि वहाँहरूसँगै बसेर कुरा सुन्ने अवसर पाएको छ । मुलुकको न्याय व्यवस्थाकै बारेमा वहाँहरूका कुरा केन्द्रित हुन्थे । शंभुप्रसाद ज्ञवाली‚ कृष्णप्रसाद पन्त‚ कृष्णप्रसाद भण्डारी¸गणेशराज शर्मा‚ कुसुम श्रेष्ठ‚ सर्वज्ञ रत्न तुलाधर जस्ता पुराना व्यक्तिहरू नरेश कुमार बर्माको मुक्त कण्ठले प्रशंसा गर्थे । मुलुकभरिका अग्रज‚ समकालीन‚ कनिष्ठ सबै कानुन व्यवसायी सँग वहाँको घनिष्ठ सम्बन्ध थियो । वहाँ कानुन व्यवसायीहरूका आकर्षणका केन्द्र हुनुहुन्थ्यो । पछिल्लो समयमा कानुन व्यवसायी पेसा छाडेर अन्य पेसामा लाग्दा समेत वहाँ झापामा कानुन व्यवसायीका कानुन व्यवसायीका रूपमा रहनु भएको थियो । झापामा कानुनी प्रश्न अलिक जटिल रहेको मुद्दामा नरेश कुमार वर्माको परामर्श अन्तिम मानिन्थ्यो । झापामा नरेश कुमार वर्मा‚ कृष्ण सिटौला‚ लीला प्रसाद सापकोटा‚ यो लेखक लगायत कानुन व्यवसायमा सकृय रहेका बेलामा वहाँलाई कमान्डर भनिन्थ्यो । कानुन व्यवसायीहरूका बीचमा वहाँ कमान्डर नै हुनुहुन्थ्यो ।

नरेश कुमार बर्मालाई केही प्रस्तावहरू आए ती प्रस्ताव वहाँले स्विकार्नु भएन । वारबाट बेन्चमा सर्ने मान्यता राख्नु भएन तथा सहमत हुनु भएन भने  झापामा प्रतिनिधि सभाका सदस्य द्रोणाचार्य क्षत्रीको निधन पश्चात् २०५० सालमा भएको उपचुनावमा सांसदको टिकट स्वीकार गर्नु भएन । वहाँले त्यो टिकट स्वीकार नगर्नू भएपछि यस लेखकले त्यो चुनावमा उमेदवार हुनु परेको थियो । वहाँ पार्टीको सदस्य कहिल्यै रहनु भएन । तर प्रजातान्त्रिक हक अधिकारका लागि वहाँ सधैँ सजग हुनुहुन्थ्यो । २०३६ सालको जनमत सङ्ग्रह र २०४६ सालको जन आन्दोलनमा वहाँको सकृय सहभागिता र नेतृत्व थियो ।  २०३६ सालमा झापामा वहाँको अध्यक्षतामा देशभक्त तथा प्रगतिशील समूह गठन भएको थियो र त्यसले झापा जिल्ला भरी बहुदलको प्रचार प्रसारको अभियान चलाएको थियो ।

कानुन व्यवसायमात्र हैन ,  झापामा अनेकन् सामाजिक क्षेत्रमा नरेश कुमार बर्माले अगुवाइ गर्नु भएको छ । अनेक संस्थाहरूमा वहाँका सिर्जनात्मक सोचका बेर्नाहरू हुर्कदैछन् । झापा जिल्लामा नरेश कुमार बर्माले छापेका इट्टाहरू प्रशस्त छन् । जो नाङ्गो आँखाले मात्र देखिँदैन । परोक्ष रूपमा नरेश कुमार बर्माको योगदान धेरै छ । वर्तमान झापाका निर्माता मध्येका भनेर नरेश कुमार बर्मालाई मान्नु पर्छ ।

Similar Posts