डा हृषिकेश उपाध्यायले मेरो हातमा च्याप्प समाउनुभयो । कसैगरी भन्नुभयो–”जीवन यस्तै हो, आफु पनि कहिले सम्मलाइ हो ?” मँ सँग कुनै प्रश्न गर्नसक्ने क्षमता थिएन । हामी माइमा अलिक अगाडी पुगेर पर्खेका थियौ । उहाँकी पत्नीको अघिल्लो सोँझ भद्रपुरमा देहान्त भएको थियो । हामी शब पुर्याउनु अगाडी नै त्यहाँ पुगेकाथियौ । यसपछि उहाँको छेउमा पर्ने हिम्मत मँ सँग रहेन । यस्तो बेलामा मलाइ अलिक गाह्रो पर्छ । मैले उहाँलाइ अलिक परैबाट धेरेपल्ट पढे । एउटा लामो इतिहास अनुभुत गरे । त्यो नै मेरो उहासँगको अन्तिम भेट रह्यो । माइ खोलाको डिलमा उभिएर उहाँ जीवनको परिभाषा भन्दै हुनुहुन्थ्यो , छेउमै जल्दै गरेको पत्नीको चित्ता हेरेर । त्यस्ता क्षणमा मलाइ लाग्छ , धन्य सक्छन् मान्छेहरु सामना गर्न ! सामना गर्न नसकेर पनि के उपाय छ र ! आज पनि मँ त्यसैदिनका हृषिकेशलाइ सम्झीरहेछु ।
आज त हृषिकेश आफै हुनुहुन्न । यस धरतीमा असी बर्षसम्म कृयाकलापहरु गरेर उहाँ आर्यघाटमा खरानी बनेर बाग्मतीमा बगीसक्नु भएकोछ र त्यहीको आकाशमा धुवाँ बनेर बिलाइसक्नु भएकोछ । अब त हामीसँग फगत स्मृतिहरु रहेकाछन् । हृषिकेश अब आफ्ना सेवा र कार्यहरुमा, साहित्यका कृतिहरुमा, उहाँको उपचारले जीवन पाएका रोगीहरुको मनमा, मित्रजनहरुको मस्तिष्कमा र आफन्तजनको मायामा मात्र रहनु हुनेभएकोछ । उहाँसँग सँगतगर्ने हामी बितेर गए पनि, उहाँका कार्यहरुले ती कार्यहरुको प्रभाव रहेसम्म उहालाइ बचाइरहनेछन् ।
अहिले म सम्झदैछु । आज भन्दा ४३ बर्ष अगाडी, एक साँझ म सानो समस्यामा चिकित्सक खोज्दै हिड्दा भद्रपुरको जनता चोकको केही पश्चिममा रहेको सगरमाथा औषधी पसलमा पुगे । त्यहाँ आफ्नो समस्या बताएर केही औषधी लिएर हिडेपनि त्यहाँ भेटिएका चिकित्सकको बोली ब्यबहारले मलाइ एकप्रकारको आकर्षण गर्यो । तैपनि मैले उहाँको नाम र अरु बिबरण हेक्कामा लिइनँ । त्यसताका मँ शिबगँञ्जको चन्द्रडाँगीमा एउटा प्रथमिक स्कूलको शिक्षक थिएँ । भद्रपुर सरेपछि एकदिन द्रोणाचार्य क्षत्रीले मलाइ डा हृषिकेशको घर भद्रपुरमा लिएर जानुभयो र साहित्यमा रुचीभएको, कविता कथा लेख्ने मान्छे भनेर चिनाउनुभयो । त्यो क्षण मेरा लागि निकै रोमाञ्चक रह्यो । मैले सगरमाथा औषधी पसलमा भेटेका चिकित्सक नै डा हृषिकेश हुनुहुदो रहेछ र मैले साहित्यमा नाम जानेकै मान्छे उहाँ हुनुहुदो रहेछ । अर्को कुरा त्यस दिनदेखि उहाँले मलाइ जसरी मित्रवत ब्यबहार गर्नुभयो त्यस्ले पनि मलाइ धेरै उर्जा दियो । अझ म उहाँको घर छेउ भद्रपुरमा डेरा गरेर बस्न थालेपछि हाम्रो भेटघाट धेरै बाक्लियो र हामी समसामयीक राजनिती र साहित्यका बारेमा निकै छलफदल गर्न थाल्यौ । यो भेटघाट र छलफलले मलाइ धेरै सिकायो । अझ मेरा गुरु साहित्कार चूडामणि रेग्मी पनि त्यसबेला उहाँकै घरमा डेरा गरेर बस्नुहुन्थ्यो । मैले ” भद्रपुर मेरो पाठशाला “–भन्ने लेखमा लेखेकोछु –” डा हृषिकेश उपाध्यायको घर पनि मेरो प्रशिक्षण केन्द्र हो “– भनेर । वास्तवमा डा हृषिकेश उपाध्याय, चूडामणि रेग्मी, द्रोणाचार्य क्षत्रीहरुको एकप्रकारको मित्रता रहेछ र त्यो मण्डलीमा म पनि समाबेश हुन पाएँ । मैले मेरो व्यबहारिक शिक्षालाइ त्यहाँबाट उन्नत गर्न पाएँ । त्यसो त त्यसबेला झापाकै बौद्धिकहरुको अगुवाका रुपमा हृषिकेशलाइ सबैले मान्दथे । व्यबहारले नै उहाँ सर्वसाधारणको, पहूच र क्षमता नभएकाहरुको सहयोगी र मित्रका रुपमा प्रस्तुत हुनुहुन्थ्यो । रामेश्वरप्रसाद अधिकारी, मोहनराज शर्मा, घनश्याम खनालजस्ता व्यक्तित्वहरुसँग उहाँ अन्तरङ्ग हुनुहुन्थ्यो ।
अहिले मेरो स्मृतिमा उहाँसँगको अनेक प्रसँग फनफनी घुमिरहेछ । हाम्रो निकट्ताले पारिविरक प्रसँगमा पनि प्रबेश पायो । उहाँकी जेठी छोरीको विवाहको व्यवस्थापनमा म राजस्थानको बनस्थलीसम्म पनि पुगेको छु र उहाँका कान्छा छोरा अखिलेश उपाध्याय ( अहिले काठमाण्डू पोष्टका सम्पादक ) तत्काल भानुभक्त मेमोरियल स्कूल पानीपोखरीमा अध्यन गर्दाका अवस्थामा केहीदिन लोकल गार्जियन पनि बनेकोछु । अझ म मखनमा, भोटेबहालमा डेरा गरेर बस्ता उहाँले कतिपटक मेरै डेरामा बस्ने खाने पनि गर्नुभएकोछ र त्यसबेलाके मेरा आर्थिक रुपले सङ्कटका दिनमा परोक्ष रुपले अर्थपूर्ण सहयोग गर्नुभएकोछ ।
म २०३३ साल देखि कानुन व्यवसायी बनेर झापा आएँ । उहाँ सँगको सम्बन्धलाइ मैले अरु नजिक बनाउने मौका पाएँ । हामी भेटघाटमा खुलेर मनका कुरा गर्दथ्यौ । २०५० सालमा द्रोणाचार्य क्षत्रीको निधन भएपछि खालि भएको त्यतिबेलाको झापा क्षेत्र न १ को उपचुनावमा मँ एमालेका तर्फबाट उमेद्वार भएकोथिएँ । उर्हाँ पनि उहाँको पार्टीका तर्फबाट उम्मेद्वार बन्नुभएको थियो । एकदिन फोनमा मलाइ बताउनुभएकोथियो – उहाँलाइ त्यो चुनाव लड्न पटक्कै मन थिएन, पार्टीको आदेश नमानी पनि भएन, नजित्ने पनि निश्चित छ, । एउटै पदमा हामी दुइ पनि उम्मेद्वार भएको कुरा ज्यादे असहज रुपमा उहाँले लिनुभएकोथियो , त्यसलाइ मैले पार्टिको निणर्य, पार्टीमा लागेपछि मान्नै उचित हुन्छ भन्दै सहज बनाउने प्रयास गरेकोथिएँ । यद्यपि म त मलाइ उठाउने पार्टीको सदस्य पनि थिइनँ ।
पछिल्लो चरणमा उहाँका साहित्यिक कृतिहरु प्रकाशन गर्नेप्रसँगमा मँ सँग उहाँको अलिक धेरै छलफल चल्यो र प्रकाशनका लागी सरसल्लाह पनि गर्नुभयो । मलाइ लाग्छ , उहाँलाइ केही पर्दा उहा नरेश कुमार वर्मा र मँ सँग मनका कुरा गरेर हलुका महसुस गर्नुहुन्थ्यो । उहाँ अत्यन्तै भावुक प्रकृतिको मान्छे हुनुहुन्थ्यो । साना कुराले छुने र व्यक्त नगरेसम्म छटपटाउनु हुन्थ्यो ।
८० बर्ष अगाडी पाल्पाको तानसेनमा जन्मेका डा हृषिकेश उपाध्याय , २०१२ सालमा वनारसबाट चिकित्साशास्त्रमा स्नातक गरेर झापा आउनुभयो । त्यसबेलाको झापामा त्यो योग्यता भएका कोही चिकित्सक थिएनन् । रोगीहरुले उहाँ घेरिनु हुन्थ्यो । तर औसत चिकित्सक जस्तो उहाँको प्रबृत्ति थिएन । उहाँ साइकलमा आफ्ना रोगीहरुका घरमा पुग्नुहुन्थ्यो । असहाय हरुलाइ औषधि दिनुहुन्थ्यो । डाक्टरहरुले पैसामात्र कमाउछन् भन्ने मान्यताका बिरुद्धमा उहाँलाइ उदाहरण लिन सकिन्छ । स्वाभिमानका धनी उहाँले सरल र अभावकै दिन गुजार्नु भयो । सन्तानलाइ उचित शिक्षा दीक्षा दिनुभयो । भद्रपुरमा केही कठ्ठा घडेरी र सानै घरमात्र छ ।
समाज सेवा र साहित्यलाइ उहाँले व्यवसायलाइ भन्दा बढी प्रथमिकता दिनुभयो । भद्रपुरको उन्नतीका लागि उहाँको प्रतक्ष्य र परोक्ष रुपमा ठूलो योगदान रहेकोछ । साहित्य परिषद,देवकोटा स्मृतिभवन, भानुस्मारक, भद्रपुर पुस्ताकलय, मेची कलेज, भद्रपुर क्षेत्रका बिद्यालयहरु यस्ता अनगिन्ती सँघसँस्थाहरुमा उहाँको योगदान धेरै महत्वको छ । झापाको साहित्यिक गतिबिधि र उन्नतीका लागि उहाँ अधार स्तम्भ हुनुहुन्थ्यो । यहाँका जुनसुकै साहित्यिक र अन्यपत्रिकामा उहाको सँलग्नतालाइ बिर्सन सकिदैन । पत्रकारितालाइ उहाँले चाख र बिश्वाशको बिषय बनाउनु भएकोथियो । त्यसैले उहाँ पत्रकार महासँघको साधारण सदस्य रहिरहनुभयो । मोति, कस्तुरी, कन्तुर, मेची सन्देश, जस्ता पत्रिका त उहाँकै प्रयास र प्रयत्नमा प्रकाशन भएकाहुन् ।
बनारसमा बिद्यर्थी छँदै फुटकर साहित्य रचनामा सकृय उहाँको भद्रपुर आगमन सँगै साहित्यिक सकृयता उल्लेखनीय रह्यो । भावुक रहेकै कारण शुरुमा उहाँ कविका रुपमा प्रस्तुत हुनुहुन्थ्यो । २०२० सालमै उहाँको बगैचा नाको कविता सँग्रह प्रकाशित भएकोछ । यो नै झापाको पहिलो कविता सँङ्ग्रह पनि भनिएकोछ । धरतिको वारिस भएर भन्ने कविता सँङ्ग्रह २०३५ सालमा प्रकाशित भएपनि अगाडी नै लेखिएको हो । यसतै २०६० प्रकाशित सरलाको रचना काल पनि अगाडि नै हो । समालोचनात्मक कृति केही श्रस्टा द्रष्टाको दृष्टीमा २०५६सालमा प्रकाशित महत्वपूर्ण कृति हो । यस्मा जनकवि गोकुल जोशीसँग सहकार्य गरेका उपाध्यायले जोशीका बारेमा बृहत चर्चा गर्नुभएकोछ । यस्तै अन्य लेखक कवि र उनका कृतिमा चर्चा गरिएकोछ । निबन्धहरुको सँकलन प्रस्थान बिन्दु २०५९ मा र अधुरो यात्रा कथा सँङ्ग्रह २०६० सालमा प्रकाशित भएकोछ । यी पुस्तकका रुपमा प्रकाशित कृति बाहेक अरु पनि अनगिन्ती फुटकर रचनाहरु पत्र पत्रिकामा प्रकाशित भएकाछन् । सबै बिधामा समान रुपले कलम चलाउने प्रतिभाका रुपमा उहाँ हुनुहुन्थ्यो । नेपाली साहित्य बिकास समितिको पूर्व अध्यक्षसमेत रहेका उहाँ प्रगतिशिल लेखक सँघ झापाका सल्लाहकार रहनु भएको थियो ।
व्यक्ति एक, व्यक्तित्व अनेकका रुपमा रहेका डा हृषिकेश उपाध्यायको निधन समाजलाइ र सिङ्गो मुलुकका लागि अपूरणीय क्षति भएकोछ । अब झापाका साहित्यिक भेला, गोष्ठीमा र अरु कार्यक्रममा दार्शनिक जस्तो देखिने पाको र गम्भिर व्यक्तित्वको उपस्थिती रहनेछैन । झापाका सँघ सँस्थाहरुमा आधा शतकभन्दा बढी समयदेखि कृयाशील सिर्जनाका हातहरुको शून्यता फक्रनेछ । मेरा घरमा पनि हरेक बर्ष बैशाख १ गते र बिजया दशमीका दिन शुभकामनाका लागि उहाँले गरेके टेलिफोनको घण्टी बज्ने छैन । पाल्पामा जन्मेको, वनारसमा पढेर झापामा कर्मथलो भएका कर्मयोगीको अवसान भएकोछ । २०६७ साल फल्गुण १५ गतेका दिन आर्यघाटको चिता हुदै उहाँ त्यहाँको आकाशमा उडेको धूवाँ भएर उडनुभएकोछ र अलिकती खरानी भएर बाग्मतीमा बग्नुभएको छ । अब त हामीसँग उहाँका कर्महरुछन् र फगत उहाँको स्मृति बचेकोछ । श्रद्धाञ्जली कर्मयोगी डा हृषिकेश उपाध्यायलाइ !