राती नै ढालिए छ
मुक्ति चोकको स्तम्भ
झिसमिसेमै उठेर
मुक्ति चोक गएँ
वरिपरि घुमेँ
अब कता स्तम्भ ?
कता मुक्ति ? कता चोक ?
भावुक भएँ
अतीत तर्फ गएँ ।
त्यस दिन
राम थापाको शाहदातको बाह्रौँ दिन
विर्तामोडमा धेरै मानिस आएका थिए
पञ्चायत ढल्दै थियो
थुनिएका मानिस छुट्दै थिए
खाद्य संस्थानमा थुनिएका बन्दीहरू छुटे ।
उनको सन्मानमा स्वागत गर्दै
मैले त्यहाँ उभिएर भनेको थिएँ
पञ्चायत ढल्दैछ
हामी पञ्चायतबाट मुक्त भयौ
यो मुक्ति चोक हो
त्यसै दिन देखी त्यो ठाउँलाई
मुक्ति चोक भनियो
र अगुवाहरूको पहलमा
क्रान्तिको प्रतीक स्तम्भ ठडिएको थियो ।
मलाइ त लाग्थ्यो
त्यो इतिहास थियो
आस्था थियो
प्रतीक थियो
थाहा छैन
त्यसलाई कसले कसरी बुझेको थियो ?
त्यो झापाको इतिहास‚ सभ्यता र अरू पनि धेरै थियो ।
