उहाँ एउटा पुस्तकालय हुनुहुंदो रहेछ !

समाजमा अन्धकार व्याप्त थियो । मान्छेमा चेतना थिएन । अशिक्षा, रोग, भोक र शोक पत्रै–पत्र थियो । यसबाट मुक्त हुने प्रयत्न पनि निमिट्यान्न थियो । फाट्ट–फुट्ट स्कूलहरू खुल्थे तर हिउँदमा केही महिना मात्र चल्थे । ती स्कूलहरू कटेरामा चल्थे । विधार्थीहरू पिरा र गुन्द्री बोकेर जान्थे । धुलामा ओछ्याएर बस्थे र बेलुका लिएर फर्कन्थे । इलाम जिल्लाको फुएतप्पामा हाम्री जे�� ी हजुरआमाका नाउँमा हाम्रै परिवारबाट बनेको एउटा पाटी थियो । हामी त्यही पाटीमा पढ्थ्यौं । २०१९ सालमा नेपाली काँग्रेसको सशस्त्र आन्दोलनमा बाटो हिँड्दा – हिँड्दै मारिनुभएको मेरा दाजु सोमनाथ खनालले हामीलाई हिउँद हिउँदमा पढाउनुहुन्थ्यो । उहाँले नै आ�� राई र देवीप्रसादको कहिले – कहिले चर्चा गर्नुहुन्थ्यो । उहाँकै मुखबाट पहिलोपल्ट मैले देवीप्रसाद उप्रेतीको नाम सुनेको हुँ ।

देवीप्रसाद उप्रेती स्कूल बनाउँदै हुनुहुन्छ । आफै खर्च गरेर बनाउनुहुन्छ । दार्जिलिङ्गबाट मास्टर ल्याउनुहुन्छ । आफै तलव दिनुहुन्छ । देवीप्रसादका बारेमा म केटाकेटी छँदा यस्तै कुरा सुन्थें । यतिमात्र होइन, उहाँ जात-भात मान्नुहुन्न तल्लो जातका मान्छेले छोएको पनि खानुहुन्छ । छुवाछूतको विरोध गर्नुहुन्छ । यस्तो पनि उहाँका बारेमा सुनिन्थ्यो ।किन – किन शिक्षा प्रचारको कार्य र छुवाछूतको विरोध यी दुइटा कुराले मेरो कलिलो मस्तिष्कमा छोयो । एउटा देवीप्रसाद हाम्रा गाउँमा पनि भए हुने जस्तो मलाई लाग्यो । उहाँको नामले मेरो मन तान्यो । उहाँ राजनीतिक रूपमा सक्रिय नरहेर पनि आज कसैले म वामपन्थी विचार धाराबाट कसरी प्रभावित भएँ ? भनी प्रश्न गर्दा त्यसको उत्तर दिने आधार म देवीप्रसाद उप्रेतीलाई पनि पाउँछु । जे होस्, मैले सानै छँदादेखि नै देवीप्रसाद उप्रेतीका बारेमा सकारात्मक धारणा बोकेको थिएँ । यस्तै ०२३ /०२४ साल तिरको कुरो हो । एक दिन म घैलाडुब्बा बजार पुगेको थिए । संयोग, त्यस दिन त्यहाँ हाट पनि रहेछ । एउटा सहकारी दोकान शायद त्यो देवीप्रसाद उप्रेतीले खुलाउनुभएको रहेछ । त्यस दोकानमा उहाँ हुनुहुन्छ भन्ने सुनेर म त्यहाँ गएर उहाँलाई परबाट हेरें तर चिनजान र कुरा गर्ने हिम्मत गरिनँ । पसलमा भीड पनि भएकाले म त्यसै फर्के । उहाँलाई हेर्दा मात्र पनि मलाई एक प्रकारको आनन्द लाग्यो । यसै ताका मैले उहाँ बारे खोजी गरेँ । भद्रपुरको कलेज, करफोकको हाइस्कूल, आ�� राईका थुप्रै स्कूल, मन्दिर जस्ता संस्थामा उहाँले गर्नुभएको योगदान बुझेँ । विधार्थीहरूलाई सहयोग, साहित्यकारहरूको सम्मान र मदत आदि जस्ता कुरा सुने । देवीप्रसाद उप्रेतीलाई त्यसपछि भद्रपुरमा २/ ३ पल्ट देखेँ तर व्यक्तिगत परिचय अझै भएको थिएन ।

समय चिप्लिदैं गयो । २०३३ सालदेखि म रोजी – रोटी र रोजगारको खोजीकै क्रममा चन्द्रगढीमा नरेशकुमार बर्माज्यूसँग बसेर वकालत गर्न थाले । संयोग राम्रै रहेछ देवीप्रसाद उप्रेतीज्यूका मुद्दा – मामिला र कानुनी समस्या रहेछन् । सबै नरेशजीले हेर्नेगर्नु भएको रहेछ । यसरी नरेशजीसँग लागेर देवीप्रसाद उप्रेतीज्यूका मुद्दा मैले पनि हेर्ने कुरा स्वाभाबिक थियो । एकपटक नरेशजी लामो बिरामी पर्नुभयो । त्यसै बेला मुद्दाका बारेमा देवी प्रसाद उप्रेतीले मलाई लेख्नुभएको पत्र प्राप्त गरेँ तर त्यो पत्र मलाई एक जना क्लाइन्टले लेखेको जस्तो महसुस भएन र पत्रले निकै उत्साहित पार्‌यो । त्यसपछि हाम्रो ल च्याम्बरमा उहाँ आउनुहुँदा उहाँसँग मेरो परिचय भयो । पहिलो परिचयमा उहाँबाट म थप प्रभावित भएँ । त्यसपछि अलिक बाक्लै भेट भयो । भेटमा म उहाँका कुरा सुन्न उत्साहित हुन्थें । उहाँ कुराकानीका क्रममा नेपालको अलिकति इतिहास र विशेष घटनाहरू बताउनुहुन्थ्यो । मलाई लाग्थ्यो देवीप्रसाद उप्रेती हाम्रो समाजको �� ूलो गहना हुनुहुन्छ । देवीप्रसाद उप्रेतीका बारेमा धेरै जनामा नकारात्मक धारणासमेत पाइन्छ । कोही भन्छन्– जिमीदार हुनुहुन्थ्यो, केही बगर– स्कूल, कलेज र मन्दिरहरूलाई दर्ता भयो के �� ूलो कुरो भयो

र ? तर यसो भन्ने महानुभावहरूले के बुझ्नु जरुरी छ भने अरू पनि धेरै जिमीदारहरू थिए ती सबैले देवीप्रसाद उप्रेतीकै जस्तो गरेका भए आज हाम्रो मुलुकमा शिक्षाको स्तर कहाँ पुग्थ्यो ? साथै देवीप्रसाद उप्रेतीले चाहनागर्नु भएको भए ती शिक्षण र मन्दिरहरूलाई दिएका जमिनहरू आफै र आफ्नो परिवारमै कब्जा जमाई राख्ने कुरा स्वाभाविक थियो । जे होस्, देवीप्रसाद उप्रेतीका योगदानलाई नबुझ्नु भनेको परिवर्तन र उन्नति नबुझ्नु हो, त्यसको चाहना नहुनु हो ।

देवीप्रसाद उप्रेती त्यसै त्यत्रो उचाइमा पुग्नुभएको होइन । उहाँ अत्यन्त मेहनती हुनुहुन्थ्यो । उहाँको रेकर्ड राख्ने तरिका र उहाँको हस्ताक्षरले जोसुकै व्यक्तिको मन छुन्थ्यो । उहाँका सुन्दर हस्ताक्षर हेरेर नराम्रो हस्ताक्षर भएको मलाई धेरै पटक आरिस लागेको छ । उहाँको जस्ता राम्रा हस्ताक्षर मैले कमै मान्छेका देखेको छु ।

आय आर्जनका विषयमा हाम्रो समाजमा जुन प्रकारको धारणा छ त्यसले समाजलाई प्रतिकूल अवस्थातिर धकेलि रहेछ । आर्जनको अवसर सामु देखेपछि धेरै आदर्शवानहरूले आफूलाई भूतपूर्व आदर्शवान् बनाएको मैले पाएको छु । आदर्शको आवरणभित्र अनादर्शको खेती हुर्काइरहेको देखेको छु तर देवीप्रसाद उप्रेतीले आर्जनका लागि जेसुकै गरेको मैले पाइनँ । आर्जनकैलागि आफ्नो क्षमता र साधनलाई जसरी पनि प्रयोग गर्ने भएको भए देवीप्रसाद उप्रेती साह्रै सम्पन्न व्यक्तिहरूको उचाइमा पुग्नु हुने कुरामा विवाद रहँदैन ।

कवि गोकुल जोशीसँग उहाँले लामो सङ्गत गर्नुभयो । उहाँकै माध्यमद्वारा कवि जोशी झापा आउनुभयो । उहाँकै भान्सामा खानुभयो । जोशीले जीवनलीला झापामै समाप्त गर्नुभयो । जोशी झापा आउने कारण देवीप्रसाद उप्रेतीसँगको सम्बन्ध नै थियो ।

जोशीको जीवनका बारेमा देवीप्रसादले धेरै चर्चा गर्नुभयो । जोशीको बारेमा उहाँले केही लेखहरू पनि लेख्नुभएको छ । २०४४ वा २०४५ सालतिरको कुरा हो, अहिले रा.प्र.पा.का नाममा संग�� ित भएको जमातले त्यसताका निर्दलीयताको नाउँमा गरेको जन–विरोधी शासन चरम अवस्थामा पुगेको थियो । देवीप्रसाद उप्रेतीकै अगुवाइमा धैलाडुब्बामा हामीले कवि गोकुल जोशीको स्मृतिमा एउटा कार्यक्रमको आयोजना गरेका थियौँ । प्रहरीले कार्यक्रम हुन त दिएन¬¬–दिएन तर वृद्ध देवीप्रसाद उप्रेतीज्यूलाई कार्यक्रम गर्न लागेबापत पक्राउ गरेर एक रात प्रहरी कस्टडीमा राख्यो । कवि जोशीका बारेमा चर्चा गर्नुपर्ने उहाँको क्षमतालाई अझै प्रचार दिनु पर्ने र समाजले उहाँबाट धेरै कुराहरू सिक्नुपर्ने आवश्यकता रहेको उप्रेती बताउनुहुन्थ्यो ।

कानुन र न्यायिक अवधारणाबारे राम्रो जानकारी उहाँमा थियो । पूर्वाञ्चल स्वायत्त सरकारको कानुनमन्त्री उहाँ रहनुभएको थियो । देवीप्रसाद उप्रेतीसँग धेरै क्षण बिताउन पाउँ, उहाँबाट नेपालको नलेखिएको धेरै ऐतिहासिक घटनाबारे सुन्न पाऊँ, यो लेखकको यस्तो तीव्र चाहना हो । यस्तो अवसर त एक दिन मात्र मिल्यो । २०४७ सालको सुरुवाततिर उहाँको निवास धैलाडुब्बामा मैले उहाँसँग ३ घण्टाजति समय बिताउन पाएको थिए । त्यस क्षणमा मलाई लागेको थियो । उहाँ एउटा गतिलो पुस्तकालय हुनु हुँदो रहेछ जहाँ अनेकन् अतीतका राष्ट्रिय महत्वका कुराहरूको जानकारी पाइदो रहेछ । पुनः यस्तै भेटको आशामा म त्यस दिन उहाँसँग बिदा भएको थिएँ तर के थाहा अर्कोपल्ट उहाँसँग भेट हुन सकेन । म उहाँको प्रतिकूल स्वास्थ्यको जानकारी लिदै थिए, अपसोच, बिर्तामोडको एउटा टेलिफोन अफिसमा उहाँको निधनको खबर सुनेर म विह्वल बनेँ ।

लाग्छ, आगामी पुस्ताले, समाजले, राष्ट्रले देवीप्रसाद उप्रेती पाउन संभब छैन ।

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *